ज्ञानेन्द्र सपरिवार युरोपतर्फ


काठमाडौं, ३१ असार । गणतन्त्र कार्यान्वयनपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलोपटक परिवारको जम्बो टोली लिएर भारतबाहेक तेस्रो मुलुक फ्रान्स जाँदै छन् । यसअघि पटक–पटक छिमेकी मुलुक भारतको भ्रमण गरिसकेका पूर्वराजा शाह सोमबार सपरिवार फ्रान्स भ्रमणमा जान लागेका हुन् ।
पूर्वराजा शाहको फ्रान्स भ्रमणमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वअधिराजकुमारी प्रेरणा, एक नाति, एक नातिनी सँगै जाने भएका छन् । यसैगरी, पूर्वअधिराजकुमार धीरेन्द्रका छोरीहरू दिलाशा, पूजा र शीताष्मा पनि उनी सँगसँगै फ्रान्स जाँदै छन् । यसअघि गत वर्ष मंसिरमा पूर्वरानी कोमल र पूर्वराजकुमारी प्रेरणा सिंगापुर भ्रमणमा गएका थिए । त्यसबेला सिंगापुरमा प्रेरणाले शल्यक्रिया गरी आºनो शरीरबाट १० किलो बोसो झिकेकी थिइन् । त्यसबेला पूर्वराजा सिंगापुर जाने कार्यक्रम अकस्मात् रद्द भएको थियो । पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना र पूर्वराजा र पूर्वरानीका अंगरक्षक पनि भ्रमणमा सँगसँगै हुनेछन् ।
पूर्वराजा शाह सपरिवार फ्रान्स गएपछि निर्मलनिवास रित्तो हुने भएको छ । पूर्वयुवराज पारस गत भदौदेखि थाइल्यान्डको बैंककमा छन् ।
उच्च स्रोतका अनुसार फ्रान्समा पूर्वराजाको टोली दुई साता बस्ने कार्यक्रम छ । फ्रान्सपछि उनीहरू संयुक्त अरब इमिरेट्सको दुबईमा एक साता बस्नेछन् भने फ्रान्स भ्रमणकै क्रममा पूर्वराजाले युरोपका अरू केही मुलुकको पनि भ्रमण गर्दै छन् । उनको यसपटकको विदेश भ्रमण करिब तीन साताको हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार फ्रान्स भ्रमणका क्रममा पूर्वराजा शाहले केही भारतीय र फ्रान्सेली नेतालाई भेट्ने कार्यक्रम छ ।
केही दिनअघि मात्र पूर्वराजाले देशकै भैरहवा, बुटवललगायत विभिन्न जिल्लाको भ्रमण गरेर आफू राजाकै स्थानमा फर्कन चाहेको इच्छा पहिलोपटक सार्वजनिक गरेका थिए ।
हिमानी ट्रस्टको कार्यक्रम पारेर पूर्वराजपरिवार फ्रान्स जान लागेको हो । पूर्वराजा शाह ट्रस्टका सल्लाहकार हुन् । फ्रान्समा रहँदा हिमानीले त्यहाँ रहेका नेपालीलाई भेट्ने कार्यक्रम छ । फ्रान्स भ्रमणका क्रममा पूर्वरानी कोमलको स्वास्थ्य परीक्षण पनि हुनेछ । दरबार हत्यकाण्डका क्रममा पूर्वरानी कोमलको शरीरमा लागेको छर्राका केही अंश अझै निकालिएको छैन । यसैगरी, उनको बायाँ कानमा केही समस्या भएकाले त्यसको पनि उपचार गराउने स्रोतको भनाइ छ । उनको बायाँ कानमा श्रवणशक्तिका लागि मेसिन राखिएको छ ।

प्रतिक्रिया