म्याद थपाउन मन्त्री रिझाउँदै व्यवसायी


काठमाडौं, ३१ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रका सातवटा होटल सञ्चालनको म्याद आइतबार सकिँदै छ । होटल सञ्चालनको म्याद ०६६ असार मसान्तमै सकिए पनि नेपाल भ्रमण वर्ष–२०११ को नाममा सरकारले थपेको म्याद सकिन लागेको हो ।
०६६ मा तत्कालीन वन तथा भू–संरक्षणमन्त्री दीपक बोहरालाई रिझाएर म्याद थप गराएका होटल व्यवसायी यसपटक पनि म्याद सकिने समयसम्म प्रधानमन्त्री र वनमन्त्री रिझाउन लागिपरेका छन् । उनीहरूले एक महिनाअघि मन्त्री यदुवंश झालाई निकुञ्जभित्रको टाइगर टप्स होटलमा स्वागत गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर उनीहरूले लगानी वर्ष चलिरहेकाले होटल हटाउन नहुने भन्दै कसैगरी म्याद थपिदिन अनुरोध गरेका थिए ।
त्यसबेला प्रधानमन्त्री र मन्त्री दुवैजना म्याद थपका लागि सकारात्मक रहे पनि हाल आएर कुनै प्रगति नभएपछि उनीहरूले हारगुहार गरिरहेका छन् । ‘मन्त्रीज्यूले बिहीबारको क्याबिनेटमा कुरा राखेर छिट्टै म्याद थप गराउँछु भन्नुभएको थियो, शुक्रबारसम्म भेट गर्नै सकिएन,’ टाइगर टप्सका महाप्रबन्धक यादव बान्तवाले शुक्रबार सौर्यसँग भने, ‘दुई साताअघि प्रधानमन्त्री कार्यालयबाट पनि केही गर्छौं भन्ने आश्वासन आएको थियो, त्यताबाट पनि अहिलेसम्म केही भएन ।’
सरकार र होटल सञ्चालकबीचको सम्झौता र एकपटक थपिएको म्यादसमेत सकिन लागे पनि लगानी वर्ष २०१२ चलिरहेका बेला भिआइपी पर्यटक तान्ने होटल हटाउन नहुने उनको भनाइ छ । निकुञ्जको अवधारणा आउनुअघि टाइगर टप्स होटलले ‘वाइल्ड लाइफ टुरिज्म’को अवधारणा ल्याएको र चितवन राष्ट्रिय निकुञ्ज घोषणा गर्न सहयोग गरेकाले निकुञ्जभित्र होटल राख्न हुन्न भन्ने मान्यता गलत भएको तर्क उनले गरे ।
‘निकुञ्ज घोषणा हुनुअघिदेखि वाइल्ड लाइफ टुरिजम टाइगर टप्सले भित्र्याएको हो, निकुञ्जले दया गरेर होटल चलाउन दिएको होइन, होटलले निकुञ्ज बनाउन सघाएको हो,’ उनले भने, ‘निकुञ्जभित्रका होटलमा आउने लेबलका पर्यटक होटल नरहे नेपाल नै नआउने भएकाले पनि होटल हटाएर पर्यटक फर्काउन हुन्न ।’
अघिल्लोपटक मन्त्री र सरोकारवालालाई रिझाएर म्याद थपाउन सात महिना लागेको उल्लेख गर्दै उनले भने, ‘यसपालि कति पो लाग्ने हो खै ?’
निकुञ्ज हुनुअघि जंगलको केही भाग सन् १९५९ मा महेन्द्र मृग पार्क र १९६३ मा गैँडाको वासस्थान नामकरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज सन् १९७३ मा देशकै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरिएको थियो । निकुञ्जभित्रको सबैभन्दा पुरानो होटल टाइगर टप्स सन् १९६४ मा खुलेको थियो ।
डेढ/दुई महिनादेखि व्यवसायीसँग कुराकानी भए पनि होटलका म्याद थप्ने तयारी नभएको मन्त्री झाले बताए । भने, ‘होटलवालासँग भेट भएको साँचो हो तर होटलको म्याद थप्ने तयारी छैन ।’ मन्त्रालय स्रोतका अनुसार होटलको म्याद थप्नुपर्छ भन्ने मन्त्री अहिले त्यसको विपक्षमा छन् ।
‘वनमन्त्रीले चासो नदिएपछि होटल व्यवसायी उनका नजिकका मान्छे र पिएलाई भनसुन गरेर मन्त्रीलाई रिझाउन अनुरोध गर्दै दिनहँु मन्त्रालय धाइरहेका छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘म्याद सकिने दिन नजिकिँदै जाँदा भनेजति रकम दिएर भए पनि मन्त्रीलाई म्याद थपको निर्णय गराउने कसरत जारी छ ।’
व्यवसायीले प्रधानमन्त्री र मन्त्रीसँग हारगुहार गरे पनि म्याद थपको कुनै प्रस्ताव अघि नबढेको मन्त्रालयले जनाएको छ । ‘अहिलेसम्म मन्त्रालयबाट निकुञ्जका होटलको म्याद थपबारे कुनै प्रस्ताव अघि बढेको छैन,’ वनसचिव नवीनकुमार घिमिरेले भने, ‘म्याद नथपिने अवस्था छ, माथिबाटै निर्णय भयो भने बेग्लै कुरा ।’
निकुञ्जभित्र मचान वाइल्ड लाइफ, चितवन जंगल लज, टाइगर टप्स, आइल्यान्ड जंगल, टेम्पल टाइगर, सफारी नारायणी सञ्चालनमा छन् भने गैँडा वाइल्ड लाइफ बन्द छ । होटल बन्द गर्ने तयारीस्वरूप सरकारले सातै होटलको लगत संकलन कार्य सम्पन्नसमेत गरिसकेको छ ।

प्रतिक्रिया