आर्खेत खोलामा बाढी, पैंतालीस परिवार विस्थापित

गोरखा, ३० असार । गोरखा जिल्लाको उत्तरी क्षेत्रको थुमी गाउँ विकास समितिस्थित आर्खेत खोलामा बाढी आउँदा ४५ घर परिवार विस्थापित भएका छन् ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले खोलाको दायाँबायाँका बस्ती उठेको थुमी गाविसका सचिव तीर्थ भट्टले जानकारी दिए । विस्थापित परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन् ।
बाढी आउने क्रम नरोकिएकाले विस्थापित हुनेहरूको सङ्ख्या अझै बढ्ने स्थानीय तारा भट्टले जानकारी दिए ।
विस्थापित धनबहादुर गुरुङ, गोपाल परियार, राजन दाहाल र रामबहादुर दाहालले आफूहरूलाई राज्यले सहयोग नगरेको गुनासो गरे । यसअघि असार–११ गते आएको बाढीका कारण १४ घरपरिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया