जो जिन्दगीमा कहिल्यै हारेन


दारा सिंह जो अब यो संसारमा रहेनन् । आफ्नो नश्वर कायालाई ८४ वर्ष बुढयाएर उनले गएको बिहीबार २८ असारमा आँखा चिम्ले । दारा सिंह फगत एक व्यक्ति मात्र थिएनन्, उनी एकमा अनेक थिए– पहलमान, अभिनेता, राजनीतिकर्मी, समाजसेवी र सरल स्वभावका एक सच्चा मानव ।
सिंहको विशेषता उनले जीवनमा झन्डै ६ सयभन्दा धेरै कुस्ती म्याच लडे र पनि उनी आजीवन अपराजित रहे । कुस्तीको अखडामा उनलाई कहिल्यै कसैले हराउन सकेन । तर, उनलाई स्वदेशका अतिरिक्त नेपाललगायत अनेक देशमा रामानन्द सागरकृत धार्मिक टेलिसिरियल ‘रामायण’ (सन् १९८६) मा श्री हनुमानको भूमिका निर्वाह गर्ने कलाकारका रूपमा धेरैले चिन्दछन् । उनी अर्को चर्चित टेलिसिरियल ‘महाभारत’ (१९८८) मा पनि हनुमानकै भूमिकामा थिए । त्यसभन्दा धेरै वर्ष पहिले निर्माण भएका चलचित्र ‘लव–कुश’ (१९९७) र ‘उत्तर–रामायण’ (१९८९) मा पनि हनुमानकै भूमिकामा थिए । तर, उनको खास पहिचान उही ‘रामायण’ सिरियलबाटै भएको थियो । कहाँसम्म भने धार्मिक पोस्टरमा समेत हनुमानका रूपमा मानिसहरू उनलाई नै खोज्ने र उनकै पूजा गर्ने भइसकेका थिए । सिंहको मृत्युपछि विभिन्न टेलिभिजन च्यानलले उनीसित सम्बन्धित अनेक प्रसंग र किंवदन्ती बनिसकेका किस्साहरू प्रसारण गरे । खासगरी जीवनका ६ देखि आठ दशक बिताएका बग्रेल्ती मानिसहरूमा दारा सिंहको अमिट छाप परेको ती प्रसारणले पुष्टि गर्थे । बितेका दशकहरूमा एउटा कालखण्ड थियो जतिबेला कुनै अग्लो बलियो मानिस देखेमा ‘ओहो † कस्तो दारा सिंहजस्तो’ भनेर ईष्यापूर्ण टिप्पणी हुने गथ्र्यो अथवा कसैले अनावश्यक बल देखाउन थाल्यो भने ‘अरे, के यो मान्छे दारा सिंह हो र ?’ भन्ने उक्ति वातावरणमा गुन्जिन्थ्यो तर प्रविधि र सञ्चारको छताछुल्ल विकास भएको युगमा हुर्केबढेको पछिल्लो पुस्ताले उनको बारेमा धेरै चासो लिएन, उनीहरूको ‘इन्टेरेस्ट’ अन्डरटेकर, माचोम्यान, जोन सिना, स्पाइडरम्यान, सुपरम्यान आदिआदिमा अग्घोरै देखियो । यसले गर्दा लगभग चार दशक लामो उनको एकछत्र खेल–व्यक्तित्व शनै:शनै: समयका छालमा हेलिँदै सन्दर्भ र किंवदन्तीहरूमा मात्र सीमित हुँदै गयो ।
खासमा दारा सिंहको न्वारनको नाम यो थिएन । उनी जतिखेर १९ नोभेम्बर १९२८ मा बेलायतकालीन पन्जाबको एउटा सामान्य गाउँ धर्मुचाकमा पन्जाबी जाट पिता सुरत सिंह र आमा बलवन्त कौरको सन्तान भएर जन्मेका थिए, त्यतिखेर उनको नाम राखिएको थियो दिदार सिंह रान्धवा । पछि, उनीभित्रका प्रतिभा र गतिविधिहरू सार्वजनिक हुँदै गए । त्यही क्रमसँगै उनी केवल ‘दारा सिंह’ को नामले मात्र चर्चित र सम्मानित भएका हुन् । उनको ‘दार’ सानैदेखि ठूलो थियो । उनलाई अझ बलियो बनाउन उनकी आमा उनलाई निकै धेरै काजू र बदाम पिसेर दूधमा मिसाएर खुवाउने गर्थिन् । त्योबाहेक भैँसीको दूध पनि उनी निकै पिउने गर्थे । सुगठित ‘ज्याङ्गो’ शरीर भएपछि उनले सानै उमेरमा आफूलाई पहलमानी क्षेत्रमा समर्पित गरे, जहाँ उनले आश्चर्यजनक ढंगले प्रगति पनि गरे । तत्कालीन राजारजौटाबाट कुस्ती खेल्नका लागि निम्तो आउन थालेपछि उनले त्यस्ता धेरै कुस्ती लडे । उनी गाउँका मेलापात र हाटहरूमा लाग्ने दंगलमा पनि धेरैपटक लडे । उनले कुस्तीकै इतिहासका सर्वकालीन नामुद पहलमानहरूसित प्रतिस्पर्धा गरे र सबैलाई धुलो चटाए । उनले अस्ट्रेलियाका किङकङ, क्यानाडाका जर्ज गोर्डियेन्को, न्युजिल्यान्डका जोन डिसिल्भा र अन्यहरूलाई सहजै हराएका थिए ।
उनले सन् १९४७ मा सिंगापुर पुगे । त्यहाँ तार्लोक सिंहलाई पराजित गर्दै उनी ‘मलेसिया च्याम्पियन’ बने । १९५२ मा उनी भारत फर्किए र भारत च्याम्पियन बने । दुई वर्षपछि उनले ‘रुस्तम–ए–हिन्द’ उपाधि जिते । त्यसअघि नै उनले ‘रुस्तम–ए–पन्जाब’ उपाधि जितिसकेका थिए । उनले कमनवेल्थ गेम्समा गार्डियोन्कालाई जितेर कमनवेल्थका साथै कुस्तीको विश्व च्याम्पियनसिप पनि जितेका थिए । एउटा म्याचमा उनले दुई सय किलोभन्दा धेरै शारीरिक वजन भएका किङकङलाई आफ्नो टाउकोभन्दा माथि उचालेर थुप्रै फन्का घुमाएर फालेका थिए । उनले आफ्नो कुस्ती म्याच सन् १९८३ मा खेलेका थिए, त्यो त्यही वर्ष थियो, जतिबेला भारतको क्रिकेट टिमले अर्का पन्जाबी जाट कपिलदेव निखन्जको नेतृत्वमा पहिलोपटक विश्वकप क्रिकेट उपाधि जितेको थियो ।
दारा सिंहलाई उनको अप्रतिम कुस्ती कौशलका लागि ‘रेस्लिङ अब्जर्भर न्युजलेटर हल अफ फेम’ मा ससम्मान समावेश गरिएको छ । कुस्तीमा मात्र सीमित नरही सिंहले सन् १९५२ देखि नै फिल्म संसारमा पनि आफूलाई समाहित गरेका थिए । सोही वर्ष उनले ‘संगदिल’ फिल्मबाट अभिनय यात्रा थालेका थिए र त्यसको पटाक्षेप २००७ मा बनेको ‘जब वी मेट’ फिल्ममा भएको थियो जसमा उनले फिल्मकी नायिका करिना कपुरका हजुरबुबाको सशक्त भूमिका निर्वाह गरेका थिए । यसबीच उनले मर्द, फौलाद, हक्र्युलस, टार्जन कम्स टु डेलही, सिकन्दर ए आजम, रुस्तमे हिन्द, डाकु मंगलसिंह आदिसमेत एक सय २१ हिन्दी र २१ वटा पन्जाबी फिल्ममा अभिनय गरे । अभिनयका अतिरिक्त उनले निर्माता, निर्देशक र लेखक भएर पनि काम गरे भने पन्जाबको मोहालीमा आफ्नै ‘दारा स्टुडियो’ पनि खोले ।
उनी सन् २००३ देखि २००९ सम्म भारतीय जनता पार्टीका तर्फबाट राज्यसभाका सदस्य थिए । दुई विवाह गरेर तीन छोरा र तीन छोरीका पिता बनेका दारा सिंहलाई हिन्दी सिनेमाको ‘आइरनम्यान’ भनिन्छ । अचेल सलमान खान, शाहरुख खान वा ऋत्विक रोशन आदिआदि अभिनेताले सर्ट खोलेर गठिलो शरीर प्रदर्शन गर्छन्, खासमा त्यसरी लोभलाग्दो कसिलो शरीर देखाउन सुरु गर्ने उनै दारा सिंह हुन् । शाहरुख खानले आफ्नो ट्विटरमा लेखेका छन्, ‘दारा सिंह साँच्चैका सुपरम्यान हुन् ।’ किनभने, दारा सिंह जहिले पनि असहायलाई सहयोग गर्न तत्पर रहन्थे, कहिल्यै रिसाउँदैनथे र सधैँ मुस्कुराइरहेका हुन्थे ।
दारा सिंहजस्ता मानिस एक युगमा एकचोटि मात्र जन्मने गर्छन् ।

प्रतिक्रिया