भौतिक र आध्यात्मिक सर्वोच्चता

दु्रनियाँजस्तो चीज, दुनियाँजस्तो शब्द संसारमा छँदैछैन । देशजस्तो कुनै शब्द पनि छैन । किनभने मानिसको समूह नभै देश, संसार या विश्व केही बन्दैन । एउटा नक्सा हुँदैमा त्यो देश बन्न सक्दैन । देशका लागि त मानिस चाहिन्छ । एक निश्चित भू–भागमा बसोबास गर्ने व्यक्तिहरू त्यहाँका निवासी मानिन्छन् । यसैकारण मनुष्य छ त अनि देश पनि छ– ती अज्ञानी हुन्, ज्ञानी हुन्, लुला–लंगडा हुन्, जे हुन् । व्यक्तिले कुरा बुझेन भने देशले पनि बुझ्दैन, ऊ अन्धकारमा छ भने देश पनि अन्धकारमा हुन्छ । तसर्थ, प्रत्येक व्यक्ति स्वयं देश हो, प्रत्येक व्यक्ति स्वयं राष्ट्र हो । किनभने व्यक्ति–व्यक्ति मिलेर नै आफसेआफ राष्ट्र बन्छ । यसैकारण राष्ट्र पुरुषको कल्पना गरिएको छ श्वेतश्वेतारोपनिषद्मा । यहाँ राष्ट्र, भू–भागको कल्पना गरिएको छैन ।
तपाईंहरू मिलेर बसेकाले नै समाज भयो । कुनै पनि समाज, समुदाय विशेष त्यहाँ मानिस छन् । यस्तै समाज समुदाय मिल्न जान्छ भने देश बन्छ । तर, मूलाधार त मनुष्य नै हो । त्यसैले यदि मनुष्यले आफैँ अन्धकारको बर्को ओढ्छ भने ज्ञान त आउनै सक्दैन । मनुष्य जानिबुझीकन नै अन्जान बनिरहन्छ, यसकारण कि यसमा कुनै प्रयत्न नै गर्नुपर्दैन ।
यसले गर्दा देश समग्रमा अगाडि बढ्न सक्दैन । या त भौतिक क्षेत्रमा अगाडि बढ्छ, या त अमेरिकाजस्तै आध्यात्मिक क्षेत्रमा पछि पर्न जान्छ । ऊसँग अणुबम त छ परन्तु मनुष्यलाई प्रसन्नता दिने योग्य कुनै चिज छैन । तपाईंहरू कतिले अमेरिकीहरूलाई देख्नुभएको छ– हरदम उदास, चिन्ताग्रस्त, तनाबग्रस्त, दु:खी रहन्छन् । एकजना पनि अमेरिकीको अनुहारमा मुस्कुराहट छैन, मुस्कुराहट केवल शब्दकोशमा रहनपुग्यो त्यहाँ । व्यक्ति एउटा यन्त्र बन्न गएको छ– पति/पत्नी, छोरा/छोरी सबै । मैले उनीहरूको समाज देखेको छु । दसौंपटक त्यहाँ गएको छु, उनीहरूसँग बसेको छु । उनीहरू ५ बजे उठ्छन् काममा दौडन्छन् । स्नान गर्छे पत्नी नोकरीमा कुद्छे । उसलाई चिन्ता छैन पति उठ्यो कि उठेन । पति उठ्छ आफैँ चिया पकाउँछ र काममा दौडन्छ । हप्ताको एक दिन भेट हुन्छ आइतबारका दिन । तब थाहा हुन्छ कि यी मेरा पिता हुन्, अनुहार यस्तो छ, यो मेरो छोरा हो उसको अनुहार यस्तो छ ।
कोही १० बजे आउँछन्, कोही ११ बजे, कोही ९ बजे, सबै बाहिरै डिनर गरेर आउँछन् । जीवनका ती सब आल्हाद, त्यो खुसी सब समाप्त हुन जान्छ । किनभने भौतिक क्षेत्रमा त उनीहरू बहुत अगाडि बढे तर उनीहरूको यो जुन मूल ज्ञान हो त्यो समाप्त भयो । यो समाप्त भयो भने त जीवनको कुनै अर्थ रहँदैन । र, यदि आध्यात्मिक क्षेत्रमा अगाडि बढ्यो र भौतिक क्षेत्रमा पछाडि पर्न गयो भने त्यो पनि बेकार छ ।
यसकारण त्यो भौतिकतालाई आध्यात्मिकताद्वारा प्राप्त गर्नुपर्‍यो । म आध्यात्मिकतालाई धर्मको अर्थमा लिइरहेको छैन । आध्यात्मिकता धर्म होइन । तपाईं हिन्दूको घरमा जन्मेकाले हिन्दू हुनुभयो । यदि मुसलमानको घरमा जन्मेको भए मुसलमान हुनुहुन्थ्यो । इसाई बन्नु या हिन्दू बन्नु, यो त एक संयोग मात्र हो ।
मानिस अन्धकारको च्यादर ओढेर बहुत प्रसन्न अनुभव गर्छ । त्यसैले उपनिषद्कार भन्छन्– यसर्थ मैले भन्नु व्यर्थ छ । मानिसहरू बुझ्दै बुझ्दैनन् र बुझ्ने कोसिससमेत गर्दैनन् । जीवनको उद्देश्य बताउँदै ऋषि भन्छन्– भौतिक र आध्यात्मिक दृष्टिबाट सर्वोच्चता प्राप्त गर्नु जीवनको लक्ष्य हो । उचाइ होइन, सर्वोच्चता प्राप्त गर्नुपर्दछ । उनले भौतिक र आध्यात्मिक दुवै शब्द प्रयोग गरेका छन् ।
भौतिकताको तपाईंको अर्थ–खुब ऐस आराम विलास धन–दौलत फाइभस्टार होटेल आदि हो भने त्यो गलत हो । भौतिकताको अर्थ हो– कहीँ कसैसित कहिल्यै हात पसार्नु नपरोस् । जहाँ जति आफूलाई जरुरत हुन्छ मिलोस् । त्यसैलाई भौतिकता भनिन्छ । जति जरुरत छ त्यति प्राप्त होस्् । छोरीको विवाहका लागि कसैसँग हात पसार्न नपरोस् । धेरै खोज्यो भने आफैँ तनाब उत्पन्न हुन्छ । आवश्यकताभन्दा बढी भयो भने तृष्णा सुरु हुन्छ । तृष्णा बढेपछि फेरि अन्धकारको च्यादरले छोपिहाल्छ ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया