अब सबै कुरा बाँकी नै रहे

तीसको दशकमा उदाएका कृष्णभूषण बलले साढे चार दशक लामो कवितायात्रा पूरा गर्नुभयो । उहाँका ‘दाज्यु तिम्रो हात चाहिन्छ’
(खण्डकाव्य) र ‘भोलि बास्ने बिहान’ शीर्षक कवितासंग्रह प्रकाशित छन् । ‘भोलि बास्ने बिहान’ प्रकाशित भएको पच्चीस वर्ष नाघ्यो तर यसभित्रका ‘भारी बिसाउनुपर्दा’, काठमाण्डू एक्लैले, चैतको हावाजस्ता कवितामा भएको क्रान्तिचेत, परिवर्तनकारी शक्ति बेजोड छ । तिनै शक्तिले समयलाई हल्लाएको थियो । सधैँ हल्लाइरहनेछ । उहाँका कवितामा समकालिकता र सर्वकालिकता दुवै शक्ति जोडिएका छन् । आँधीजस्ता कविता पनि कहीँ प्रोपोगन्डा छैन, उच्च शैली र संरचनाले ती शान्त समुद्रजस्ता देखिन्छन्, सुनिन्छन् ।
नेपाली कवितामा एउटा मौलिक शैली र विचारका संयोजक भविष्यवादी दर्शन र राष्ट्रिय चिन्तनको प्रतिनिधि नै कृष्णभूषण हुनुहुन्छ । थोरै तर शक्तिशाली कविताले बोकेको चेतना र शिल्प नै उहाँको परिचय हो । तीन दशकका शक्तिशाली कविहरूमा कृष्णभूषणलाई नराख्ता ठूलो रिक्त स्थान देखिनेछ । उहाँलाई कुनै परिचयको आवश्यकता छैन किनभने यो राष्ट्रलाई परेको हरेक संकटमा उहाँका कविताले ठूलो बल पुर्‍याएको छ । अहिले आएको युगान्तकारी परिवर्तन ल्याउन झन्डै एक सय वर्षको दु:ख, कष्ट र बलिदानी कथाले यो सम्भव भएको हो । तिनमा २०३६ र २०४६ का निरंकुशताविरुद्ध प्रहार गर्नेहरूमा विष्णुविभु घिमिरे, विक्रम सुब्बा, विमल निभा, महेश प्रसाईं, अशेष मल्ल, श्यामलजस्ता कवि समूहका कृष्णभूषण कहिल्यै नहार्ने, नझुकेका, अविजेय योद्धा एउटा अग्रचेतना हुनुहुन्थ्यो ।
भोलि बास्ने बिहानमा ३८ वटा कविता छन् भने त्यसयता रचित १७ वटा कविता अप्रकाशित अवस्थामा छन् । २०६५ साल भदौ १५ गते गुरुकुलमा आयोजित विशेष कविता वाचन कार्यक्रममा उहाँले एक दर्जन जति नयाँ कविता पनि सुनाउनुभयो । त्यसपछिको भेटमा विष्णुविभू घिमिरे र मैले अब नयाँ कविता छापौँ भनी प्रस्ताव राख्यौँ, तर उहाँले भन्नुभयो, ‘राम्रा कविता लेख्न सकेकै छैन ।’ त्यो फाइल लिएरै उहाँ फर्किनुभयो । कविता संख्याले नापिँदैन. त्यसले उत्पन्न गर्ने प्रभावले गर्छ । कृष्णभूषण त्यहीँ प्रभाव हुनुहुन्थ्यो । बैरागी काइँलाको कविताले उत्पन्न गरेको शक्तिसित उहाँको तुलना हुन्छ । उहाँका कवितामा राष्ट्रको गति र ढुकढुकी छ तिनीहरूमा पहाडी जीवनका विम्बहरू अत्यधिक घनीभूत छन्, उहाँको बाल्यकालले टिपेको सौन्दर्य चेतना त्यहाँ तीव्र छ । उहाँले मधेसलाई पनि त्यसैगरी समेट्नुभएको थियो । उहाँको मनमा सधैँ सिंगो, विविधतापूर्ण र स्वतन्त्र राष्ट्रको चित्र लेखिएको थियो ।
कृष्णभूषण सधैँ अन्धकारको विरुद्ध, सधैँ उज्यालोको प्रतीक्षामा लड्नुभयो । सधैँका स्वतन्त्रता सेनानी उहाँका लागि देशलाई ढाक्ने लामो अन्धकार प्रतिरोधी हो । धेरै कविता त्यसको विरुद्ध छन् तर सधैँ आशावादी— म फट्फटाएर भोलि बास्ने बिहानीसँग निश्चिन्त छु ।
वास्तवमा त्यो बिहान देशको अनागत र अपेक्षित दिन थियो । कृष्णभूषणका कवितामा देशप्रेम उच्च छ, आजको समयले विविधता र एकताको कुरा गर्दैछ, उसैबेला उहाँले भन्नुभएको थियो—
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लाउन सक्दैन ।
नभन्दै काठमाण्डूले देश थाम्न सकेन, यसले देशको अर्थ पनि बोकेन । यतिखेर देशको संरचनाले सँगालेका नयाँस्वरूपहरू समयले खोजेका निकास– कृष्णभूषणले गरेको भविष्यवाणी आज पूरा हुँदैछ । उहाँ एक समयद्रष्टा हुनुहुन्थ्यो । यस्तो प्रखर चेतना चैत्रको हावामा छ, जसलाई माइकल हट, डा. पद्म देवकोटा, शैलेन्द्र सिंहलगायत चारजनाले अंग्रेजीमा अनुवाद गरिसकेका थियौँ । माइकल हटले आºनो अनुवादलाई हिमालयन भोइसेजमा समावेश गरेका छन्, डा. देवकोटाले र सिंहले आºनै संग्रहमा राखेका छन्, यो एउटा माष्टरपिस, विश्वसाहित्यमा पुगेको नेपाली कविताको शक्तिशाली प्रतिनिधि शिल्प र आवाज हो । मेरो अनुवाद गतवर्षदेखि त्रिविअन्तर्गत स्नातक तहको अंग्रेजी पाठयक्रममा समावेश छ । उहाँका चुनिएका २१ कविताको संकलन ‘द फुल मुन एट द रिभर ब्याङ्क’ शीर्षकमा दुई वर्षअघि मनु मञ्जिलको सम्पादन प्रकाशित भयो । यसमा स्वयं मञ्जिल, माइकल हट, तारानाथ शर्मा र विशेषगरी मुकुल दाहाल अनुवादक रहेका छन् । पूर्वाञ्चलबाट आएको यो महत्त्वपूर्ण संग्रहबारे काठमाडौंमा चर्चा गरौँला भन्ने उहाँसितको सल्लाह थियो तर समयले दिएन ।
कृष्णभूषण अत्यन्तै तीव्र संवेदनाका धनी । उहाँको संवेदनशीलता ‘मनको घाउ’, ‘बाल्यकाल’, ‘हजुरआमाको पनि त्यसदिन चोला छुट्यो’, ‘घर सम्झेपछि’, ‘आँसु सकिएपछि’, ‘झझल्को मेरी आमाको’, इलाम तिम्रो काख छाडी म चिसो बनेँ’ जस्ता कवितामा पाइन्छ ।
यिनै विशेषताका कारण कृष्णचन्द्रसिंह प्रधानले उहाँलाई स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारका गायक भन्नुभएको छ । तानाशर्माले अत्याधुनिक युगका सशक्त कवि । मैले वाल्ट ह्विटमानका जस्ता कविताको शैली भएका विशिष्ट स्रष्टा भनेको छु । अरू पनि यस्तै विशेषताले युक्त बलज्यू आफू स्थापित भएदखि हिजोसम्म पनि नयाँ पुस्तालाई उठाउनमै उहाँ लागिरहनुभयो । उहाँ पूर्वाञ्चलका अधिकांश कविस्रष्टाको अभिभावक, अभिप्रेरक हुनुहुन्थ्यो । यतिखेर पूर्वाञ्चल अँध्यारो, एक अभिभावकविहीन छ । काठमाडौंलाई पनि शोकको बादलले ढाकेको छ, सम्पूर्ण नेपाली विश्व दु:खित छ । गतवर्ष २५औँ प्राज्ञसभा सम्पन्न भएको भोलिपल्ट अन्तरंग वात गारौँला भनी उहाँले हामीलाई बागबजारको एउटा लजमा डाक्नुभयो । डा. तुलसी भट्टराई, विष्णुविभु घिमिरे र म पुग्दा तीन तलामाथि बरन्डातिर फर्केको कोठामा पर्खिरहनुभएको थियो । कविताकाव्य, लेखक संघ, प्रज्ञाप्रतिष्ठान र वर्तमान लेखन यस्तै कुरा भए पूर्वाञ्चलमा एक भव्य कार्यक्रम गर्ने कुरा भए । हामीले त्यसबेला फेरि भन्यौँ– अब दाइले नयाँ कविता प्रकाशित गर्ने बेला भयो, हामी पनि मद्दत गर्छौं ।
म त्यसरी मद्दतको कमीले रोकिएको हुइनँ, छाप्नका लागि मैले भन्नासाथ अमेरिकाबाट छोराले पैसा पठाइदिन्छन् । तर, के भने मैले राम्रा कविता नै लेख्न सकेको छुइनँ कि जस्तो लाग्छ । बरु तपाईंहरूलाई आज बोलाएको कारण अर्कै छ, म केही सुनाउन चाहन्छु ।
त्यसपछि उहाँले स–सानो कापीमा लेखेका पृष्ठ खोलेर पढ्न थाल्नुभयो । एक, दुई, तीनवटा संस्मरण निबन्ध थिए । अरू पनि कापी भरी थिए– तीनवटा सुनाउन आधा घन्टा लाग्यो होला । ती बाल्यकालदेखि सुरु भएका रवि, पाँचथर र इलामछेउका बाल्यकालका मातृवियोगपछिका पढ्न बस्ताका विद्यालयमा भोगिएका भाषिक कठिनाइका अत्यन्तै हृदयस्पर्शी कविताकै शैलीका थिए । त्यो सुनेर हामी स्तब्ध भयाँै ।
अन्त्यमा उहाँले भन्नुभयो– कवितासंग्रह होइन, अब यो संस्मरण पूरा गर्छु र एकपल्ट डाक्टसाबलाई दिन्छु, हेरिदिनु होला, पहिलो यही छपाऔँला ।
म अत्यन्तै खुसी भएँ । ६ महिनाको म्याद थियो । वर्षदिन बित्यो । त्यो उहाँले पूरा गर्नुभएन कि ? भोलि २६औँ प्राज्ञासभा छ, यस रिक्ततामा बारम्बार बलदाई मात्र आइरहनुभएको छ । आज उहाँको पुण्य तिथि मनाउनुपर्ने घडीमा उहाँका दुईहार कविता उद्धृत गरेर रोकिन चाहन्छु:
मलाई त कविताले मान्छे मान्छेको मुटुमा देश लेख्नु थियो
मलाई त कवितामा मान्छेले गाउने गीत लेख्नु थियो ।

प्रतिक्रिया