पूर्वसभासद् शीर्ष नेताको दैलो चहार्दै

काठमाडौं, ३० असार । नयाँ संविधान नबनाई संविधानसभा विघटन भएपछि मुलुकमा राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएका बेला पूर्वसभासद्हरूले संविधानसभा पुन:स्थापनाका लागि राजनीतिक दलका शीर्ष नेतृत्वहरूको घरदैलो चहार्न थालेका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीलगायत दलमा आबद्ध पूर्वसभासद्हरूले संविधानसभा पुन:स्थापना गरी राजनीतिक निकासका लागि नेताहरूलाई दबाब दिन थालेका हुन् ।
पुन:स्थापनाको पक्षमा लबिङ नै सुरु गरेका उनीहरूले शुक्रबार कांग्रेस सभापति सुशील कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई छुट्टाछुट्टै भेटी केही दिनका लागि भए पनि संविधानसभा पुन: स्थापना गरी मुलुकलाई निकास दिन आग्रह गरेका छन् । उनीहरूले संविधानसभा पुन:स्थापना गरेर राजनीतिक निकासका लागि पहल गर्न सभापति कोइरालाको ध्यानाकर्षण गराएका छन् ।
बिहान महाराजगन्जस्थित कोइराला–निवास पुगेका पूर्वसभासद्हरूले संविधान निर्माणमा देखिएका विवादमा समाधान खोजेर संविधानसभा पुन:स्थापना गर्नुपर्ने प्रस्ताव गरे । उनीहरूले तत्काल मुलुकमा नयाँ चुनाव सम्भव नरहेको सुझाव दिँदै नयाँ संविधानका विषयमा सहमति गरेर केही समयका लागि संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताएका थिए ।
प्रत्युत्तरमा सभापति कोइरालाले पुन:स्थापनाको मागमा पार्टी सकारात्मक रहेको उल्लेख गर्दै अन्य दलसँग छलफल अघि बढाउने आश्वासन दिएका छन् । ‘संविधानसभा पुन:स्थापना गर्न सभापतिजी सकारात्मक हुनुहुन्छ,’ कोइरालासँगको भेटपछि कांग्रेसका पूर्वसभासद् शोभाकर पराजुलीले भने, ‘यस विषयमा उहाँले पार्टीमा र अन्य दलका साथीसँग छलफल गर्छु भन्नुभएको छ ।’
मुलुकमा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधानको उत्तम उपाय संविधानसभा पुन:स्थापना भएको उल्लेख गर्दै पूर्वसभासद् पराजुलीले सबै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन अभियान नै सुरु गरिएको जानकारी दिए । पुन:स्थापनाका लागि नेताहरूलाई भेट्ने टोलीमा कांग्रेस, एमाले, एमाओवादी, नेकपा–माओवादी, मधेसी मोर्चालगायत अन्य साना दलका विघटित संविधानसभाका निवर्तमान सभासद्हरू सहभागी छन् । एमाओवादी, एमालेलगायत दलका नेतृत्वलाई समेत भेट गर्ने कार्यक्रम रहेको पराजुलीले बताए ।

६०१ विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : राज्यकोषबाट एक खर्बभन्दा बढी रकम खर्च गर्दा पनि संविधानसभाबाट नयाँ संविधान दिन नसकेको भन्दै ६०१ पूर्वसभासद्विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नयाँ संविधान निर्माणको बहानामा एक खर्ब राज्यकोष दुरुपयोग गर्ने ६०१ सभासद्बाट असुलउपर गर्न माग गर्दै शुक्रबार अधिवक्ता सिद्धार्थ अधिकारीले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । जनताले दिएको दुईवर्षे कार्यकाललाई ‘राजनीतिक जीवनजलमार्फत’ चार वर्ष पुर्‍याउँदा पनि ६०१ सभासद्ले नयाँ संविधान दिन नसकेको कुरा अधिकारीले उजुरीमा उल्लेख गरेका छन् । कामै नगरी २५ दलका ६०१ सभासद्ले राज्यकोषबाट रकम दुरुपयोग गरेको र त्यसलाई असुलउपर गराउन उनको माग छ ।
‘गरिब राष्ट्रका जनतालाई झुक्याई दुई वर्षमा लोकतान्त्रिक नेपालको नयाँ संविधान दिने वाचा दलहरूले गरे पनि चार वर्षसम्म दिन सकेनन्,’ उजुरीमा भनिएको छ । उनीहरूले कामविहीन रूपमा गरेको खर्च भ्रष्टाचारअन्तर्गत पर्ने भन्दै उनीहरूबाट उक्त रकम असुलउपर गराउन माग गरिएको छ । (सौस)

प्रतिक्रिया