चितवन, २९ असार । चितवनस्थित क्यान्सर अस्पतालमा सशस्त्र प्रहरीका पूर्व नायव उपरीक्षक वीरबहादुर चन्दले उपचारका क्रममा छोरी बर्षा चन्दको मृत्यु भएपछि स्टाप नर्सलाई कुटपिट गरेर घाईते बनाएका छन् ।
स्टाप नर्स अनिता भुसाल घाईते भएपछि चिकित्सक, कर्मचारीले आज अस्पतालको सेवा बन्द गराएका छन् । विरोधमा चिकित्सक र कर्मचारीले सेवा बन्द गरे लगत्तै बिरामी मर्कामा परेका छन् ।
चिकित्सक र कर्मचारीले स्टाप नर्स भुसाललाई कुटपिट गर्ने पूर्व नायव उपरीक्षक चन्दलाई कारबाही गर्न र शान्ति सुरक्षाको माग गरेर सेवा ठप्प बनाएका हुन् ।
गएराति सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक चन्दकी छोरी वर्षाको मृत्यु भएपछि अस्पतालका कर्मचारीसँग विवाद भएको हो ।
चितवनका प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीका अनुसार चन्दको आक्रमणबाट स्टाप नर्स भुसालको टाउकोमा चोट लागेको छ । क्यान्सर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको कर्मचारी रमेश पौडेलले बताए ।
पूर्व प्रहरी नायव उपरीक्षक चन्द चार महिनाअघि चितवनबाटै अवकाश भएका हुन् ।
प्रतिक्रिया