अन्तरजातीय विवाह गर्ने जोडी बढ्यो

सप्तरी, २८ असार । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेपछि अन्तरजातीय विवाह गर्ने जोडीको संख्या बढेको छ ।
तीन वर्षको अवधिमा २२ जोडीले अन्तरजातीय विवाह गरेका छन् । चालु आर्थिक वर्ष २०६८/०६९ मा मात्र ११ जोडीले अन्तरजातीय विवाह गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।
अन्तरजातीय विवाह गर्ने जोडीमध्ये यस वर्ष चार जोडीले प्रोत्साहन रकम प्राप्त गरिसकेको र अन्य दुई जोडीले रकम प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरिसकेको जिल्ला प्रशासन कार्यालयका तोम दाहालले जानकारी दिए ।
अन्तरजातीय विवाह गर्ने चार जोडीले एक लाख रुपियाँका दरले प्रोत्साहन रकम प्राप्त गरेको उनले बताए ।
दाहालका अनुसार गएको आर्थिक वर्ष २०६७/०६८ मा नौ जोडी र आर्थिक वर्ष २०६६/०६७ मा दुई जोडीले अन्तरजातीय विवाह गरेका छन् ।
समाजमा कायम रहेको जातीय भेदभाव र छुवाछूतलाई निरुत्साहन गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई विवाह गरेबापत सरकारले प्रोत्साहन रकम दिँदैआएको छ ।

प्रतिक्रिया