म्यानमारमा अमेरिकी दूतावास

नाइपिद्वा, २८ असार । म्यानमारमा सैनिक शासन लागु भएपछि राजदूतावास उठाएको अमेरिकाले करिब २२ वर्षपछि म्यानमारका लागि अमेरिकी राजदूतलाई नियुक्त गरेको छ । अमेरिकी राजदूतका रूपमा दरेक जे मिसेलले बुधबारदेखि म्यानमारमा कार्य आरम्भ गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
मिसेललाई अमेरिकी सरकारले यसै साता राजदूतका रूपमा नियुक्त गरेको थियो । २२ वर्षपछि राजदूत नियुक्त गर्ने तयारी भएको अमेरिकाले गत साता नै जानकारी गराएको थियो । राजदूत नियुक्त गर्ने अमेरिकी कदमको म्यानमारले स्वागत गरेको छ । मिसेलले म्यानमारमा अमेरिकाका विशेष प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए ।
अमेरिकाको विदेश नीतिका विज्ञका रूपमा विगत लामो समयदेखि काम गरिरहेका मिसेलले म्यानमारबारे गहिरो अध्ययन गरेको विश्वास गरिन्छ । उनी अमेरिकाको एसिया मामिलाका विज्ञसमेत रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
राजदूत नियुक्तिसँगै म्यानमार र अमेरिकाबीचको कूटनीतिक सम्बध थप विस्तारित हुने भएको छ । सैनिक शासनका बेला म्यानमारविरुद्ध अमेरिकाले लगाएका विभिन्न आर्थिकलगायत नाकाबन्दी पनि यसअघि नै हटाइसकिएको छ । गत अप्रिलमा भएको उपनिर्वाचन म्यानमारले निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराएको भन्दै अमेरिकाले म्यानमारसँग कूटनीतिक सम्बन्ध पुन:स्थापनाका लागि हात बढाएको थियो । अमेरिका र म्यानमारबीच दूरी घटेसँगै विगत लामो समयदेखि विश्व समुदायबाट अलग रहेको म्यानमारको अन्य पश्चिमा राष्ट्रहरूसँगको दूरी पनि घट्ने अनुमान गरिएको छ । अप्रिलमा भएको संसदीय उपनिर्वाचनपछि हालको सैनिक सहयोगको सरकारले थालेको भनिएको राजनीतिक सुधारका कार्यक्रमप्रति अमेरिका र विश्वका अन्य राष्ट्रले पनि विशेष चासो राख्दै आएका छन् । अमेरिकाको आह्वानपछि म्यानमारले राजबन्दीको रिहाइका साथै राजनीतिक सुधारका कार्यक्रम पनि अमेरिकी सरकारको प्रस्तावबमोजिम नै अघिसारेको बताइएको छ ।
सैनिक समर्थन प्राप्तको सरकारले राजनीतिक सुधारको एजेन्डा अघि सार्दै एकपछि अर्काे गर्दै नाटकीय सुधारका काम गरेको छ ।
यसैक्रममा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि सन् २०११ को सुरुमै नजरबन्दबाट मुक्त गरेको थियो ।
उपनिर्वाचनमा नेत्री सुकी विजयी भएपछि उनले संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत प्राप्त गरिसकेकी छिन् । विश्लेषकका अनुसार अमेरिकाले म्यानमारमा दूतावास खोलेपछि अरू पश्चिमा राष्ट्रहरूले पनि म्यानमारमा दूतावास खोल्ने क्रम सुरु हुनेछ ।
सन् १९९१ मा म्यानमारमा भएको आमनिर्वाचनमा नेत्री सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत ल्याएको भए पनि त्यहाँको सैनिकले उनलाई सरकार गठन गर्न दिएको थिएन । बहुमत प्राप्त दललाई सरकार गठन गर्न दिनुको सट्टा सो दलका नेतालाई जेल हाली देशमा सैनिक शासन सुरु गरेपछि विश्वका विभिन्न राष्ट्रले म्यानमारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए । (एएफपी)

प्रतिक्रिया