‘सिरियामा आन्दोलन होइन, क्रान्ति’

मस्को, २८ असार । सिरियामा आन्दोलन गरिरहेका विपक्षी दलहरूको राष्ट्रिय परिषद्का एक नेताले सिरियामा आन्दोलन नभई क्रान्ति जारी रहेको बताएका छन् । रुसी विदेशमन्त्रीको आमन्त्रणमा बुधबार मस्को पुगेका ती नेताले सिरियामा जारी क्रान्तिलाई राष्ट्रपति बासर अल असदबाट विपक्षीको हातमा शक्ति हस्तान्तरणका लागि गरिएको आन्दोलनका रूपमा मात्र नबुझ्न रुसलाई आग्रह गरेका छन् ।
परिषद्का वरिष्ठ नेता अब्देल बासेद सयदले रुस भ्रमणका क्रममा मस्कोमा यस्तो धारणा राखेका हुन् । यसअघि परिषद्ले राष्ट्रपति असदको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावानी विज्ञप्ति प्रकाशन गरी दिएको थियो ।
मस्कोमा उनले भने, ‘सिरियामा जारी अभियान आन्दोलन मात्र होइन, क्रान्ति हो । त्यसैले सिरियाली नागरिकको मागबमोजिम हामी क्रान्तिलाई निरन्तर अघि बढाउँछौँ ।’ राष्ट्रपति असदको राजीनामा नआएसम्म कुनै पनि सम्झौता नहुने उनले रुसी अधिकारीसमक्ष प्रस्ट पारेको जानकारीसमेत दिएका छन् । ‘हाम्रो अन्तिम विकल्प राष्ट्रपति असदको राजीनामा हो, यसबाहेक अर्काे कुनै विकल्पमा सहमति हुनसक्दैन,’ उनले भने ।
सिरियामा जारी हिंसा रोक्न राष्ट्रसंघले सिरियाविरुद्ध सशक्त कारबाहीको प्रस्ताव ल्याएपछि यसविरुद्ध रुस र चीनले भिटो प्रयोग गरेका थिए । त्यसैले राष्ट्रपति असदविरुद्धको प्रस्ताव राष्ट्रसंघ सुरक्षापरिषद्बाट पारित हुन सकेको थिएन । असद्लाई कूटनीतिक तथा राजनीतिक संरक्षण प्रदान गर्नुका साथै रुसले सिरियालाई हातहतियारसमेत उपलब्ध गराइरहेको छ । सिरियामाथि बाह्य आक्रमण हुने चर्चा चलिरहेका बेला रुसले केही साताअघि सिरियालाई क्षेप्यास्त्रनिरोधक उपकरण उपलब्ध गराउने घोषणा गरेको थियो । (एएफपी)

प्रतिक्रिया