बाबुरामलाई कालो झन्डा देखाउँदा

नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहकै पालादेखि गाउँ टोलमा सबैले चुनेर मुखिया बनाउने चलन थियो । त्यो लोकतन्त्रको सुन्दर सुरुआत थियो । त्यो सुन्दर सुरुआतलाई वैज्ञानिकीकरण गर्नुको सट्टा शासकहरूले अझ भनौँ राजाहरूले त्यो मुखियालाई नै आफूअनुकूल बनाउन थाले । त्यसका विरुद्ध नेपाली कांग्रेसले संघर्ष गर्दागर्दै राजाहरूले कहिले पञ्चायतको नाममा त कहिले ज्ञानेन्द्रले हुकुमी शासन लाद्ने प्रयासमा इतिहासमै यो संस्था रह्यो । बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान कृष्णप्रसाद भट्टराई, अमर सहिदलगायतले प्रजातन्त्र र नेपाली जनताको हकहितका लागि आहुति दिए । ०६२/६३ को ऐतिहासिक आन्दोलनमा तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय/अन्तर्राष्ट्रिय सबैखाले जोखिम मोलेर हिंसाको चरमउत्कर्षमा रहेको सहमति र सहकार्यमार्फत माओवादीलाई लोकतान्त्रिक पद्धतिमा रूपान्तरण गराउँदै यहीँबाट एकताको प्रारम्भ गरियो ।
ऐतिहासिक संविधानसभाको निर्वाचन सफल भएपश्चात् प्रचण्डमा श्रीपेच लाउने महत्त्वाकांक्षा बढ्दै जान थाल्यो । सपनामा रमाउनेहरू विपनामा हराउनेछन् र यथार्थमा बिलिन हुनेछन् । प्राय:जसो सधैँ प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि जनताको अलि बढी आशा थियो । तर, त्यो धेरै दिन टिक्न पाएन किनकि उनी राजनीतिमा अनि विशेषत: आºनै पार्टीमा कहिल्यै पहिलो भएनन् चाहे पदका हिसाबले वा भनौँ काम र संगठनको हिसाबले । उनी एमाओवादीको मात्र उपाध्यक्ष थिए । पदीय हिसाबले त्यो दोस्रो पद भए पनि वरिष्ठता क्रममा भने उनी त्योभन्दा पनि पछाडि नै थिए । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो प्लस ट्वान्टी राष्ट्रसंघीय सम्मेलनमा राष्ट्रप्रमुखको नाममा आएको निमन्त्रणामा प्रधानमन्त्री भट्टराई जालान्जस्तो पटक्कै लागेको थिएन । तर, २६ सदस्यीय टोली लिएर ब्राजिल जाने निर्णय राष्ट्रको परिस्थितिअनुकूल नहुँदा नहुँदै पनि उनी गइछाडे । हुनत उनको कार्यकालमा भ्रष्टाचार, कालाबजारी, दण्डहीनता मौलाउँदै गयो भने मुलुकको आर्थिक अवस्थासँगै सामाजिक र जातीय विभेद बढेकै हो । एमाओवादीले आफू इमानदार भएको र लोकतान्त्रिक मूलधारमा आफूहरू आउन तयार भएको भन्दै विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गरेको पनि हो । तर, हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै उल्लंघन गरेका घटना सर्वविदितै छ । माओवादी अध्यक्ष प्रचण्ड वैद्य समूहलाई चिढ्याएर पार्टी फुटाउन सफल भए । नेपालमा रहेको प्रमुख पार्टी फुट्नु भनेको नेपाली जनताका लागि दुर्भाग्य हो । अनि नेपाल अझ कैयौँ वर्ष उन्नतिका खातिर पछाडि पर्नु हो ।
माओवादी पार्टी फुट्दा प्रचण्ड, बाबुराम बलियो होलान् अथवा अन्य दल बलियो होला तर अब हुने भिडन्त भयानक हुनेछ । अनि दिनप्रतिदिन दु:खद् घटना हामीले सुन्न विवश हुनेछौँ, विशेषगरी एमाओवादी र वैद्य समूहको । अनि सहमतिको वातावरण अझ पर धकेलिएको छ । हामी अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जाने बहानामा पस्न सफल भयौँ । प्रधानमन्त्रीको विमानस्थल प्रवेश भएलगत्तै विमानस्थलमा रहेको डिआइजी कार्यालय र नेपाली सेनाको त्यो मार्ग भिआइपी मार्ग थियो जहाँ गेटमा नेपालको झन्डा दुवैतर्फ राखिएको थियो । त्यहीँ प्रधानमन्त्री भट्टराईले देख्ने गरी, अनुभूति हुनेगरी कालो झन्डा देखायौँ । हामीले स्वयं एउटा व्यक्ति डा. भट्टराईलाई नभई भट्टराईभित्र रहेको नराम्रा पक्ष अनि सम्पूर्ण नेपालीको सपना शान्ति र संविधानको अवसान र हत्या गरेकाले कालो झन्डा देखाएका हौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अति संवेदशनशील ठाउँभित्र पसेर डिआइजी र भिआइपी गेटअगाडि कालो झन्डा देखाउने क्रममा हामीले प्रहरी प्रशासनको धरपकड, पिटाइ पुर्पक्ष आदि सबै थाहा थियो । यतिसम्म कि प्रहरीले सुरक्षाको कारण देखाई गोलीसम्म पनि चलाउन सक्थ्यो । सुरक्षाको सम्पूर्ण जोखिम मोलेर हामीले राम्रो गर्‍यौँ वा नराम्रो थाहा छैन तर बाबुराम भट्टराईको बालमिच्याइँपूर्वक पूर्वराजा महाराजाको जस्तो सवारी रोक्नु थियो र कालो झन्डा उनको आँखाअगाडि नचाउनु थियो । ताकि एमाओवादी पार्टीका नेता, कार्यकर्तालाई गल्ती महसुस गराउनु थियो । त्यसमा हामी सफल पनि भयौँ । फलस्वरूप सवारी केही समय रोकिनु वा ढिला हुन पुग्यो र कालो झन्डा पनि फर्फरायौँ ।

प्रतिक्रिया