यिनले पाए १७० वर्षको जेल सजाय

सिन्धुपाल्चोक, २८ असार । चेलीबेटी बेचबिखनका अभियुक्त सिन्धुपाल्चोकका बजिरसिंह तामाङलाई जिल्ला अदालत चौताराले १ सय ७० वर्षको जेल सजाय सुनाएको छ । सिन्धुपाल्चोकका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मंगलबार मानव बेचबिखनको मुद्दामा तामाङलाई सो सजाय सुनाएको हो ।

बजिरले जिल्लाका विभिन्न गाविसबाट ६ किशोरीलाई भारतका वेश्यालयमा लगेर बेचेको आरोपमा प्रहरीले उनीसहित अन्य दुईजनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । मानव बेचबिखन तथा ओसारपसार ऐन ०६४ को दफा १५/१ क र ख तथा सोही ऐनको दफा १५/५ अनुसार थप कसुर गरेको आरोपमा अदालतले बजिरलाई १ सय ७० वर्ष जेल सजायको फैसला सुनाएको छ ।

पीडितहरूले शिखरपुरका बजिरसिंह तामाङ, नवलपुरका टेकबहादुर विक र बाँसखर्कका सुकमान दोङलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । जिल्ला अदालत चौताराले मंगलबार मानव बेचबिखनमा मुख्य भूमिका बजिरसिंहको रहेको ठहर गरेको छ । बजिरले चौतारा ‘ई’, चौतारा, ‘एफ’
(प्रहरीले राखेको नाम) लाई बेचेको आरोपमा ४० वर्ष कैद, २ लाख ५० हजार जरिवाना र १ लाख ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार ऐनको दफा १५, १ ‘क’ मा मानिस बेच्नेलाई २० वर्ष कैद र २ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही ऐनको ‘ख’ मा कुनै प्रकारले फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० वर्षदेखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ । त्यस्तै, सोही ऐनको दफा १५, ५ मा पटके कसुरदारलाई कसुर गरेमा हुने सजायको एक चौथाइ थप सजाय हुने व्यवस्थाअनुसार बजिरलाई फैसला सुनाएको जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहले जानकारी दिए ।
त्यस्तै, चौतारा ‘एल’ र ‘बी’ लाई बिक्री गरेको आरोपमा २०/२० वर्ष सजाय र २ लाख जरिवाना तथा १ लाख ५० हजार क्षतिपूर्तिको फैसला गरिएको छ । चौतारा ‘जी’ र ‘जे’ लाई बेचेको आरोपमा २५/२५ वर्ष सजाय, २ लाख क्षतिपूर्ति र १ लाख ५० हजार जरिवानासहित जम्मा १ सय ७० वर्ष जेल सजाय १३ लाख जरिवाना र ९ लाख क्षतिपूर्ति दिने फैसला भएको हो ।
पीडितको जाहेरी, बयान, बकपत्र, घटनास्थल मुचुल्कालगायत अन्य प्रमाणका आधारमा बजिरसिंह मुख्य अभियुक्त रहेको ठहर अदालतले गरेको छ । अन्य अभियुक्त नवलपुरका टेकबहादुर विक र बाँसखर्कका सुकमान भने सहयोगी भूमिकामा मात्र रहेको भन्दै उनीहरूलाई क्रमश: साढे १२ र १६ वर्ष जेल सजाय सुनाइएको छ । सुकुमानले ‘ई’, ‘एफ’ तथा ‘जी’ लाई भारतमा लैजान सहयोगी भूमिका खेलेका थिए भने टेकबहादुरले चौतारा ‘बी’, ‘जे’ र ‘एल’लाई लैजान सहयोग गरेको अदालतले जानकारी दिएको छ । उनीहरू दुवैले जरिवाना र क्षतिपूर्तिसमेत तिर्नु नपर्ने फैसलामा ठहर गरिएको छ ।

प्रतिक्रिया