कर्मचारी आन्दोलनले सेवाग्राही मारमा

सुनसरी, २८ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले वृद्धि भएको तलब पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेपछि सेवाग्राही मारमा परेका छन् ।

तीन दिनदेखि सबै तहका कर्मचारी आन्दोलनमा उत्रिएका कारण प्रतिष्ठानको सफाइ नहुँदा फोहोर थुप्रिएर अस्पताल पनि दुर्गन्धित बन्न थालेको छ । गत साउनबाट वृद्धि भएको तलब एकमुष्ठ रकम पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारी तथा प्राविधिक र सफाइ मजदुरसमेतले बढेको तलब सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने बताएपछि सेवाग्राही मारमा परेका हुन् ।
उनीहरूले प्रेस विज्ञप्तिमार्फत विगतमा प्रतिष्ठानले निजामती कर्मचारीसरह तलब सुविधा दिने आश्वासन दिने भनिएको भए पनि रकम नपाएपछि आन्दोलन गरिएको थियो । आन्दोलनपछि ४२ प्रतिशत तलब वृद्धि गर्ने निर्णय भएपछि कर्मचारी काममा आएका थिए ।
बैठकले गरेको निर्णयसमेत कार्यान्वयनमा नआएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीले बताए । प्रतिष्ठानले बढेको तलब आंशिक रूपमा २० प्रतिशत दिएपछि कर्मचारी काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा कार्यरत करिब दुई हजार कर्मचारीले बिहीबारसम्म माग पूरा नभए सबै विभाग ठप्प पारेर आन्दोलनमा उत्रिने कर्मचारी रुद्रप्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया