पुरानो मितिका चेकबाट भुक्तानी

रौतहट, २८ असार । रौतहटका गाउँ विकास समितिका सचिवहरूले जिल्ला विकास समितिको परिसरमै बसेर पुराना मितिमा चेक बनाउने काम गरेका छन् । आर्थिक वर्ष सकिन लागेपछि उनीहरूले विभिन्न उपभोक्ता समितिका नाममा पुरानो मितिमा चेक बनाएर भुक्तानी दिएका हुन् ।

‘गाविस सचिव तथा प्राविधिक सहायक भर्पाई गर्दै चेक काटिरहँदा पनि अनुगमनमा परेका छैनन्,’ माधोपुरका रामभरोस यादवले भने, ‘वर्षभरि गाउँमा सचिव त आएनन् नै अहिले आर्थिक हिनामिना पनि जिविसमै बसेर गरिरहेका छन् ।’
गाविस सचिवले जिविसमै बसेर पुरानो मितिका चेक बनाएर भुक्तानी दिइरहेका बेला माधोपुर गाविसको परिषद् पनि मंगलबार जिल्ला विकास समितिको परिसरमै गरिएको छ । स्थानीयस्तरमा राजनीतिक सहमति नभएपछि गाविसको बजेट फ्रिज हुने भएकाले हतारमा परिषद् गरेर बुधबार धमाधम चेक काटिएको हो । ‘जनभावनाविपरीत कार्य भइरहेको छ,’ स्थानीय दीपक साहले भने, ‘दलहरूको भागवण्डाले पनि गाविस सचिवले गरेका अनियमितता संरक्षित भइरहेको छ ।’
रौतहटको माधोपुर, पिपरारजवाडा, मठिया, इनर्वा, नमुना गाविस गंगापिपरा, हजमिनिया, बैरिया, बसतपुर, बिसुनपुर्वा मानपुर, जेठरहिया, सखुअवालगायत गाविसका सचिव अहिले सम्बन्धित गाउँ विकास समितिमा नगई जिविसमै बसेर चेक काटिरहेका छन् ।
गाविस सचिवहरूले जिविस परिसरमै बसेर आर्थिक अनियमितता गरिरहे पनि उनीहरू कारबाहीको दायरामा परेका छैनन् । एलडिओ राजकिशोर साहले भने, ‘सचिवहरूलाई सम्बन्धित गाविसमा गएर काम गर्न भनिएको छ तर सचिवहरूले अटेर गरेको पाइएको छ ।’

प्रतिक्रिया