गोल्डेनगेट र प्राइम चौथोपटक च्याम्पियन

काठमाडौं, २७ असार । गोल्डेनगेटले पुरुषतर्फ र प्राइमले महिलातर्फ चौथोपटक राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार गोल्डेनगेटले ‘मोर्गन कप’ १२औँ पुरुष संस्करण र प्राइमले ११औँ महिला संस्करणको उपाधि जितेर सो उपलब्धि हासिल गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषको फाइनलमा गोल्डेनगेटले नासालाई ७९–७१ ले हरायो । फेरि चौथो तथा अन्तिम क्वार्टरमा दर्शनीय खेल प्रदर्शन गरेर गोल्डेनगेट विजयी भएको हो । यसअघि सेमिफाइनलमा साउथ साइडर्सविरुद्ध जित हात पार्ने क्रममा गोल्डेनगेटले चौथो तथा अन्तिम क्वार्टरमा पुनरागमन गरेको थियो ।
तेसो क्वार्टरसम्म ६१–६१ को बराबरी भएकोमा त्यसपछिको क्वार्टरमा गोल्डेनगेट १८–१० ले अगाडि रहयो । गोल्डेनगेटले पहिलोमा २०–२३, दोस्रोमा २७–२० र तेस्रो क्वार्टरमा १४–१८ को प्रदर्शन गर्‍यो । गोल्डेनगेटका लागि मनीषराज राजोपाध्यायले २३ अंक योगदान गरे । नासाका विनोद महर्जनले १३ अंक जोडे ।
‘यसपटकको उपाधियात्रा कठिन र रोचक रहयो,’ लगातार दोस्रोपटक विजेता भएपछि गोल्डेनगेटका प्रशिक्षक विपिन कपालीले भने । नेपाली बास्केटबलमा सबैभन्दा अनुभवी टोलीका रूपमा परिचित गोल्डेनगेटले दुइ वर्षअघि नासासँग फाइनलमा पराजित हुनुबाहेक सहभागी भएका बाँकी सबै चार संस्करणको उपाधि जितेको छ ।
मंगलबार नै भएको महिला स्पर्धाको भिडन्तमा प्राइमले प्रिमियरको चुनौती ४८–३८ ले पन्छायो । सबै क्वार्टर आफ्नो पक्षमा पारेको प्राइमले क्रमश: १०–९, १०–६, ८–६ र २०–१७ स्कोर गर्‍यो । प्राइमकी स्नेहा श्रेष्ठले १५ अंक जोडिन् भने प्रिमियरकी मृणालिनी श्रेष्ठले ११ अंक बटुलिन् । प्राइम पछिल्ला पाँच संस्करणमा लगातार फाइनल पुगेको छ भने पछिल्ला चारमा लगातार विजेता भएको छ । सात वर्षअघि पहिलोपटक महिला बास्केटबलमा सहभागी हुने क्रममा प्राइम सुरुका दुई सहभागितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।
प्राइमकी स्नेहा महिलामा ‘मोस्ट भेलुएबल प्लेयर’ भइन् । पुरुषमा उक्त उपाधि गोल्डेनगेटका सुशील गुरुङले हात पारे । दुवैलाई समान १५–१५ हजार रुपियाँबराबरको गिफ्ट हयाम्पर प्रदान गरियो ।
विजेतालाई नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्य, राखेपका पूर्वसदस्य–सचिव जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । १७ असारदेखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ ८ तथा महिलामा ४ टिम सहभागी थिए ।

प्रतिक्रिया