काठमाडौं, २७ असार । राष्ट्रिय खेलकुद परिषद्को ९४औँ बोर्डबैठक उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा नुवाकोटको सिस्नेरीमा मंगलबार बस्यो । खेलकुलसम्बद्ध अनेक व्यक्तित्वले यसलाई ‘राखेपको वनभोज बैठक’को संज्ञा दिए पनि उक्त बोर्डबैठकले वर्तमान बोर्डको एकवर्षे कार्यकालको समीक्षा गर्नुका साथै विभिन्न ६ वटा निर्णय गरेको छ ।
राखेपले जनाएअनुसार, बैठकले ओलम्पिक कमिटीका साथै राष्ट्रिय खेल संघको आर्थिक अनियमितता र अपारदर्शीतालगायतका विषयमा छानबिन गर्न उपाध्यक्ष तिम्सिनाको संयोजकत्वमा आइतबार गठित पाँचसदस्यीय छानबिन समितिलाई अनुमोदन गरेको छ ।
त्यसैगरी उक्त बोर्डबैठकले राखेपअन्तर्गत खेलकुद विकास विभागमा रहेको भिसा डेस्कलाई अनुमोदन गरी सोको जानकारी युवा तथा खेलकुद मन्त्रालयमा पठाउने, माउन्टेन स्पोटर््सको प्रोजेक्ट तयार गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट माग गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने, पर्यटकीय तथा साहसिक खेलकुदका बारेमा आगामी साउनमा काठमाडौंमा गोष्ठी सञ्चालन गर्ने, ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडीपोखरीलाई हिटिङ सिस्टममा लान सम्भाव्यता अध्ययन गर्नुका साथै सोलारबाट सञ्चालन गर्ने सम्बन्धमा पनि अध्ययन गर्ने र राखेपको भिजन र मिसन तयार गरी ब्रोसियर तयार गर्ने आदि निर्णय गरेको छ ।
राखेपको परिसरमै नबसेर यसरी राजधानीबाहिरको जिल्लामा बोर्डबैठक बस्नुलाई अर्थपूर्ण मानिएको छ । एक सम्बद्ध स्रोतका अनुसार, राखेप सदस्य एवं पदाधिकारीहरूलाई ‘फ्रेस’ बनाउन यसरी काठमाडौंभन्दा बाहिर लगिएको हो । एक आर्थिक वर्ष समाप्त भएर नयाँ आर्थिक वर्ष सुरु हुन लागेका बेला राखेप पदाधिकारीहरूको यो बहिर्गमन आर्थिक रूपले पनि विशेष अर्थपूर्ण मानिएको छ । ‘बोर्डबैठकका नाममा खेल र खेलाडीको नामको रकम खर्चेर राखेप पदाधिकारी सदस्यहरू पिकनिक मनाउन नुवाकोटतिर लागेका हुन्,’ नाम उल्लेख नगर्ने सर्तमा उक्त सूत्र भन्दछ । (सौस)
प्रतिक्रिया