द्रविड र युवराजलाई अवार्ड सिफारिस

मुम्बई, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले हालसालै सक्रिय क्रिकेटबाट सन्न्यास लिएका ब्याटिङ महारथी राहुल द्रविडलाई प्रतिष्ठित राजीव गान्धी खेलरत्न पुरस्कार र पछिल्लो विश्वकप प्रतियोगिताका ‘प्लेयर अफ द टुर्नामेन्ट’ युवराज सिंहलाई अर्जुनरत्न पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
‘हामीले राहुल द्रविडको नाम खेलरत्न पुरस्कार र युवराज सिंहको नाम अर्जुनरत्न पुरस्कारका लागि आगामी साता सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेका छौँ,’ बिसिसिआईका प्रमुख कार्यकारी अधिकृत प्रो. रत्नाकर शेट्टीले बताए । सरकारले विभिन्न पुरस्कारका लागि सिफारिस वा मनोनयन गर्नका लागि यही २० जुलाईसम्म म्याद बढाएको छ ।
गत वर्ष अस्ट्ेरलियाविरुद्धको टेस्ट शृंखलाको केहीपछि सबै किसिमका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका ३९ वर्षीय द्रविडले सन् १९९६ मा लडर््स मैदानमा डेब्यु गरेपछि टेस्ट र एकदिवसीय म्याचहरूमा गरी कुल २३ हजारभन्दा धेरै रन बनाएका थिए ।
सन् १९९१–९२ देखि प्रदान गर्न थालिएको भारतकै सबैभन्दा ठूलो खेल पुरस्कार पाएमा पूर्वभारतीय कप्तान द्रविडले आफ्ना लब्धप्रतिष्ठित पूर्वसहखेलाडी साथीहरू सचिन तेन्दुलकर (१९९७–९८) र महेन्द्रसिंह धोनी (२००७–०८) कै लाममा तेस्रो क्रिकेटरको रूपमा आफूलाई उभ्याउनेछन् ।
हालसम्म उक्त पुरस्कारबाट विभिन्न खेलका बीसजना व्यक्तित्व सम्मानित भइसकेका छन् । पछिल्लो समयमा फोक्सोका बीचमा अत्यन्तै कम मानिसलाई हुने ‘जर्मसेल क्यान्सर’ ले ग्रस्त भएर पनि त्यसको उपचारपछि बंगलोरस्थित नेसनल क्रिकेट एकेडेमी मैदानमा अभ्यास गर्न सुरु गरिसकेका छन् । युवराज मुम्बईमा भएको फाइनलमा श्रीलंकालाई पराजित गरी भारतले गत विश्वकप क्रिकेट–२०११ को उपाधि जित्दा भारतीय टोलीका नायक थिए ।
युवराजले हालै मात्र अस्ट्ेरलियन क्रिकेट लिजेन्ड शेन वार्नले स्थापना गरेको सामाजिक संस्थामा आबद्ध भई गरिब तथा असाध्य रोगहरूले थला परेका बालबालिकाहरूको सेवामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया