‘राष्ट्रपतिको राजीनामा बटमलाइन’

बेरुत, २७ असार । सिरियामा आन्दोलनरत विपक्षी दलहरूको राष्ट्रिय परिषद्ले त्यहाँका राष्ट्रपति बासर अल असदले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने जनाएको छ । राष्ट्रपति असदको राजीनामा नआएसम्म आन्दोलन नरोकिने मंगलबार विज्ञप्ति जारी गरी परिषद्ले जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले सिरियामा जारी प्रदर्शन आन्दोलन मात्र होइन, क्रान्ति हो । त्यसैले सिरियाली नागरिकको मागबमोजिम हामी क्रान्तिलाई निरन्तर अघि बढाउँछौँ ।’ परिषद्का वरिष्ठ नेता अब्देल बासेद सयदको रूस भ्रमणको अघिल्लो दिन विज्ञप्ति जारी गरिएको हो ।
नेता सयद बुधबार रूस भ्रमणका लागि राजधानी मस्कोतर्फ प्रस्थान गर्दै छन् । रूसका विदेशमन्त्रीको औपचारिक निमन्त्रणामा उनी मस्को जान लागेका हुन् । ‘हाम्रो आन्दोलनको ‘बटमलाइन’ राष्ट्रपति असदको राजीनामा हो । यसभन्दा अर्काे कुनै पनि विकल्पमा सहमति हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
सिरियामा जारी हिंसा रोक्न राष्ट्रसंघले सिरियाविरुद्ध सशक्त कारबाहीको प्रस्ताव ल्याएपछि यसविरुद्ध रूस र चीनले भिटो प्रयोग गरेका थिए । त्यसैले राष्ट्रपति असदविरुद्धको प्रस्ताव राष्ट्रसंघ सुरक्षापरिषद्बाट पारित हुन सकेको थिएन । असदलाई कूटनीतिक तथा राजनीतिक संरक्षण प्रदान गर्नुका साथै रूसले सिरियालाई हातहतियारसमेत उपलब्ध गराइरहेको छ । सिरियामाथि बाह्य आक्रमण हुने चर्चा चलिरहेका बेला रूसले केही साताअघि सिरियालाई क्षेप्यास्त्रनिरोधक उपकरण उपलब्ध गराउने घोषणा गरेको थियो । रूसका कारण सिरियाली सरकारविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायलई अप्ठेरो परेको छ । यस्तो अवस्थामा प्रतिपक्षी दलका वरिष्ठ नेतालाई रूसले निमन्त्रणा दिएको घटनालाई चासोका साथ हेरिएको छ ।
हाल सिरियामा दिनहुँजसो हिंसा हुने गरेको छ । प्रतिपक्षी, अरब लिग, अमेरिकालगायतले सिरियाली फौजले मुलुकभित्र नरसंहार मच्चाएको आरोप लगाउँदै आएका छन् । तर, राष्ट्रपति असदले भने विदेशीको उक्साहटमा मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको भन्दै विदेशी दबाबसामु लत्रिएर सत्ता नछाड्ने प्रस्ट पार्दर्ै आएका छन् । सिरियामा अस्थिरता मच्चाउन अमेरिका लागिपरेको आरोप उनले लगाएका छन् । अमेरिकाले सिरियाका आन्दोलनरत व्यक्तिहरूलाई सघाएको र टर्कीबाट प्रवेश गर्ने आतंकवादीहरूले देशमा आतंक मच्चाएको आरोप लगाउँदै आएका छन् । देशभित्र भइरहेको आतंकवादी हमला सरकारले नै गराएको आरोप लागिरहेका बेला उनले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् । सिरियाका लागि अन्तर्राष्ट्रिय दूत कोफी अन्नानले सिरियाको सरकार तथा प्रतिपक्षी दललाई हिंसाको अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायसँग पुन: आग्रह गरेका छन् । गत अप्रिल महिनामा भएको युद्धविरामको दुवै पक्षले पालना नगरेको भन्दै उनले दु:खेसो पोखेका छन् । सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको सरकारविरोधी आन्दोलनका क्रममा अहिलेसम्ममा १६ हजारजनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण नागरिक रहेका पनि बताइएको छ । (एएफपी)

प्रतिक्रिया