गान्धीका सामग्री भारतले किन्ने

नयाँदिल्ली : महात्मा गान्धीका चिठीपत्रको संग्रह, अन्य कागजात, तस्बिर तथा उनीसँग सम्बन्धित अन्य सरसामान भारतले बेलायतबाट किन्ने भएको छ । ती सामान ११ लाख अमेरिकी डलर (सात लाख स्टर्लिङ पाउन्ड) मा भारत सरकारले किन्ने निर्णय गरेको भारतको संस्कृति मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
महात्मा गान्धीका साथी रहेका बेलायतका एकजना वरिष्ठ कलाकार हर्मन कलेनब्याकले ती सामान आफूसँग सुरक्षित राखेका थिए । उनकै संग्रहबाट भारतले सामग्री खरिद गर्ने निर्णय गरेको हो ।
भारतको संस्कृति मन्त्रालयका सहसचिव सञ्जीव मित्तलले भने, ‘भारत सरकारले ती सामग्री खरिद गर्ने निर्णय गरिसकेको छ र त्यसका लागि आवश्यक पर्ने रकम पनि पठाइसकेको छ ।’ ती सामान ल्याई भारतको राष्ट्रिय संग्रहालयमा राखिने जानकारी उनले दिएका छन् । ‘यी सामग्री अत्यन्तै महत्त्वपूर्ण छन् । विशेषगरी गान्धीका चिठीपत्रहरूबाट उहाँका विचार बुझ्न र यसबारे अध्ययन गर्न सहज हुनेछ ।’ गान्धीका साथीसँग रहेका केही सामग्री भारतले यसअघि पनि खरिद गरेको र बाँकी रहेका चिठीपत्र एवं कागजातबाट गान्धीको राजनीतिक एवम् अहिंसात्मक विचारको अध्ययन गर्न महत्त्वपूर्ण हुने विचार उनले व्यक्त गरे ।
बेलायतको इसा सारिदमा रहेको हर्मनको घरमा ती सामग्री रहेको भारतका वरिष्ठ इतिहासविद् रामाचन्द्र गुहाले पत्ता लगाएका थिए । ती सामग्री भेटिएपछि उनले भारत सरकारलाई जानकारी गराएका थिए । उनले दिएको जानकारीका आधारमा ती सामग्री खरिद गर्ने निर्णय भारत सरकारले गरेको हो । महात्मा गान्धीका साथी रहेका हर्मनको पहिले नै निधन भइसकेको छ । उनका आफन्तले उक्त सामग्रीको मूल्य पाँचदेखि सात लाख स्टर्लिङ पाउन्ड राखेका थिए । उनीहरूले राखेको मूल्यमा ती सामान किन्न भारतको संस्कृति मन्त्रालयले सहमति जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । (एएफपी)

प्रतिक्रिया