सर्वमान्य नेतृत्वको खडेरी

सर्वमान्य नेतृत्व त्यस्तो व्यक्तिले मात्र गर्न सक्छ, जसको व्यक्तित्व विशाल छ, जसका सामुन्ने जनतादेखि विपरीत विचार राख्ने नेतासम्म, डाक्टरदेखि इन्जिनियरसम्म अर्थात् सबै उसका सामुन्ने नतमस्तक हुन्छन् । त्यो सर्वमान्य नेता हो । आलोचना मुक्त मानिस पाउन सम्भव छैन । महात्मा गान्धी पनि नाथुराम गोडसेको विचारमा अपराधी थिए भने एकीकृत नेपाल निर्माण गर्ने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह पाउन्ड र युरोका नजरमा अपराधयोग्य छन् । अर्थात् मुण्ड–मुण्ड बुद्धि, कुण्ड कुण्ड पानी यो हाम्रो समाजको गरिबी र गुजाराले सिर्जना गरेको बाध्यात्मक तस्बिर हो । यसका बाबजुद पनि हाम्रो समाज पछिल्लो समयमा जुन रूपमा विशृंखलित, विभाजित र तनाबका बीचमा चौबाटोमा उभिएको छ । यसलाई सत्मार्गमा डोर्‍याउन सर्वमान्य नेता र नेतृत्वको आवश्यकता छ भन्ने लेखको आशय हो ।
नेपाली कांग्रेसले सर्वमान्य नेताको अवधारणालाई अघि सार्‍यो, जसको पगरी गुथ्नुभयो गणेशमान सिंहले । उहाँको त्यो पदलाई गिरिजाप्रसाद कोइरालाले यसरी भकुन्डो खेले कि उहाँलाई परिवारमा सीमित पारिदिए । प्रजातन्त्र प्राप्तिको लडाइँमा राणा शासनदेखि पञ्चायतसँग लड्न सफल गणेशमान सिंह गिरिजाप्रसाद कोइरालासँग हार खानुभयो । फलत: उहाँले नेपाली कांग्रेस नै परित्याग गर्नुभयो । यसकारण परित्याग गर्नुभयो कि अपराध गर्ने गिरिजा अपजस गणेशमान सिंहले अर्थात् सर्वमान्य नेताले खेप्नुपर्ने भयो । त्यो सर्वमान्य नेतालाई स्विकार्य भएन । नेपाली कांग्रेस रहेर सम्पूर्ण सौविध्य प्राप्त हुँदाहुँदै पनि सर्वमान्य पदको इज्जत र प्रतिष्ठा थेग्नका लागि सम्पूर्ण सुविधाले भरपूर कांग्रेस त्याग गर्नुभयो । त्यसैले गणेशमान सिंह अहिले पनि सर्वमान्य नेता, लौहपुरुष र एक राष्ट्रवादी प्रजातन्त्रवादी नेताकै नामले पुकारिनुहुन्छ ।
त्यस्तै प्रकृतिको विशाल व्यक्तित्वको अभाव हाम्रो समाजलाई खट्किएको छ । तर, हाम्रा सामुन्ने यस्तो नेतृत्व छ कि जसले सर्वमान्य नेतृत्व गर्ने कल्पना त परै जाओस् स्वयं आºनो पार्टीको नेतृत्वसमेत सर्वमान्य नेताका रूपमा गर्न सकेका छैनन् । ठूला शक्ति र दलका रूपमा एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दल पछिल्लो परिवर्तनपछि तपाईं हाम्रो टाउकामा गिर खेल्दै शासन गर्नेहरू हुन् । यी पार्टीमा कस्ता नेता छन् त ? सबभन्दा ठूलो दल एमाओवादी र त्यसपार्टीका सर्वोच्च नेता पुष्पकमल दाहाल, जसले नेपालको राजनीतिलाई एकपटक कस्सेर हाँक्ने अपेक्षा बुद्धिजीवी फाँटकाले समेत गरेका थिए । बिचरा उनले आºनै पार्टीसमेत सम्हाल्न सकेनन् । उनी पछिका दोस्रा प्रभावशाली नेता मोहन वैद्यले नेकपा–माओवादी अलग पार्टी नै गठन गरे । पुष्पकमल दाहाल पार्टी अध्यक्ष भएकै बखत एनेकपा माओवादी फुट्यो । पुष्पकमल दाहालका सहयोगी मानिने हालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ त्यही पार्टीभित्र रहेर दाहाललाई चुनौती दिने काम गर्दैछन् । जसले कुन बेला के गर्छन् भन्ने भयले दाहाल उनीहरूसँग पूर्ण आश्वस्त हुन सकेका छैनन् । फेरि पनि एमाओवादी टुक्रिन सक्ने कतिपयको आँकलन छ । यसले पुष्पकमल सर्वमान्य नेता होइनन् भन्ने प्रस्ट हुन्छ । अर्को कांग्रेस जुन पार्टी यो देशको दोस्रो ठूलो दलका रूपमा अध्यावधि छ । त्यस पार्टीमा सुशील कोइराला र शेरबहादुर देउवाको व्यक्तित्वका टकरावका कारण पार्टीभित्रको अन्तरविरोध तीव्र भएको छ । फेरि विभाजन ननिम्त्याओस् भनेर कांग्रेसजन कामना गरेर बसेका छन् । यति मात्र होइन, एकले अर्कालाई अयोग्य र असक्षमका उपमा दिँदै पार्टीबाट अलग हुनेसम्मको धम्कीका भाषा प्रयोग भएको सुनिएको र देखिएकै हो । सुशील कोइरालाको योग्यता भनेको अविवाहितकै रूपमा रहनु, चुनाव बारम्बार हार्नु र शासनसत्ताको स्वाद पाउन नसक्नुलाई नै योग्यताको रूपमा हेरिएको छ भनेर देउवा पक्षले आरोप लगाउने गरेको यदाकदा छ । सुनिन्छ देउवालाई कोइराला पक्षधरले राणाको ज्वाइँ हुनुलाई नै अब्बल दर्जाको क्षमताका रूपमा प्रचार गर्ने गरेका छन् ।
उता नेकपा (एमाले)मा झन् बर्बाद छ । माधवकुमार नेपाललाई प्रधानमन्त्रीबाट खुस्काउन अध्यक्ष झलनाथ खनालले उसताका खेलेको भूमिका र झलनाथ खनाल प्रधानमन्त्री भएपछि खनाल कमरेडलाई हुत्याउन माधवकुमार नेपालले खेलेको सकुनी चालाले यी एक–अर्कालाई नेता मान्न तयार छैनन् भन्ने प्रस्टै छ । यी दुवै नेपाल र खनालभन्दा पार्टीमा प्रभावशाली नेता म हुँ भन्ने केपी ओलीको दम्भले समानान्तर रूपमा एक–अर्कालाई अयोग्य र असक्षम भन्दै हिँड्ने गरेबाट यो पार्टीमा पनि सर्वमान्य नेता छैनन् भन्ने बुझ्न कठिन पर्दैन । त्यसो त एमालेका जनजाति नेता भन्न रुचाउने पहाडी समुदायका राजनीतिकर्मी र कतिपय मधेसी नेताले एमाले नेतृत्वलाई चुनौती दिँदै अलग पार्टी निर्माण गर्ने घोषणा गरेका हुन् । यसले नेकपा एमालेको नेतृत्व अमान्य त्यही पार्टी पंक्तिमै भएछ भन्ने धारणा बनाउन सबै बाध्य छन् ।
उता मधेसवादी दल जातै जमदार भएका छन् । मधेसी जनअधिकार फोरम नेपालबाट फोरिँदा फोरिँदा फोरम नामकै झन्डै आधा दर्जन पार्टी भइसकेका छन् भने तमलोपा पनि त्यसैगरी फुटेको छ । अर्को सद्भावना पार्टीले नेपाल भन्ने नाम हटाएर आधा दर्जन जति सद्भावना नामकै पार्टी विभिन्न उपनाममा खोलेका छन् । कसैको संघीय सद्भावना, कसैको सद्भावना आनन्दीदेवी, कसैको सद्भावना मात्र राखेर नेपाल हटाएका छन् । अर्थात् सद्भावना पनि आधा दर्जन खुलेका छन् ।
आधा दर्जन पनि मधेसवादी दल हैसियतका रूपमा गत संविधानसभा चुनावमा थिएनन्, अहिले मधेसवादी दलको संख्या १९ पुगिसकेको छ । कोही कसैलाई नेता मान्न तयार छैनन् । त्यहाँ सर्वमान्य नेताको कल्पना गर्नु भनेको एउटा ठट्टा मात्र हुनेछ । यसले देशमा सर्वमान्य नेताको त कुरै छाडौँ पार्टीभित्रको मात्र मान्य नेता पाउनसमेत असम्भव भएको छ । जब पार्टी कार्यकर्तालाई मात्र मान्य हुने नेता त छैनन् भने यी नेताले हाम्रो मुलुक कसरी हाँक्लान् ? के यसरी मुलुक चल्न सक्छ ? सक्दैन भने त्यसको उचित विकल्प के हुन सक्छ ? त्यसतर्फ समयमै सचेत नहुने हो भने हाम्रो मुलुकको हविगत ‘नरहे बाँस, नबजे बाँसुरी’ हुन बेर लाग्ने छैन, बस आशय यति मात्र हो ।

प्रतिक्रिया