हतियारका कारोबारी पक्राउ

वीरगन्ज, २७ असार । बारा प्रहरीले एक दशकदेखि हतियार निर्माण र बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरेको छ ।

बारा मनहर्वा–३ प्रासटोलका ४७ वर्षीय शेषनाथ ठाकुरलाई प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो । उनका साथबाट नौ राउन्डको अटोमेटिक इटालियन पेस्तोल, म्यागजिन र चार राउन्ड गोली बरामद भएको इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माले जानकारी दिए । ठाकुरलाई लिपनीमाल–८ चैनपुरबाट पक्राउ गरिएको हो ।
ठाकुरले दिएको बयानको आधारमा प्रहरीले लिपनीमालका जगरनाथ साह, फत्तेपुरका हरिनारायण साह र जैतापुरका सफल गुप्ताको घरमा पनि खानतलासी गरेको थियो । उनीहरूका घरबाट पनि प्रहरीले तीनथान म्यागजिन र हतियार बनाउने औजार बरामद गरेको छ ।
पक्राउ परेका ठाकुरले १० वर्षयता घरमा ६ राउन्डको पेस्तोल, नलकटुवा पेस्तोल, दुईनाले भरुवा बन्दुक, पिस्टनलगायतका साना हतियार बनाउँदै आएको प्रहरीले बताएको छ । हतियार काठमाडांै, पोखरा, खोटाङलगायतका ठाउँमा लगेर बिक्रीवितरण गर्दै आएको ठाकुरले स्वीकारेको इन्स्पेक्टर शर्माले बताए ।
प्रहरीका अनुसार ठाकुरले पेस्तोलको ४० देखि ५० हजार रुपियाँसम्म लिने गरेका थिए भने नलकटुवा बन्दुक १५ हजार रुपियाँमा बेच्दै आएका थिए । उनले भरुवा बन्दुकको ११ हजार र सिक्सर १७ हजार रुपियाँमा बिक्री गर्ने गरेको बयान प्रहरीमा दिएका छन् ।
ठाकुरले बनाएका हतियार तराईका भूमिगत समूह र विभिन्न आपराधिक व्यक्तिलाई उपलब्ध गराउँदै आएको
प्रारम्भिक अनुसन्धानमा देखिएको इन्स्पेक्टर शर्माले बताए ।
प्रहरीसँगकै बयानमा ठाकुरले बारा–पर्सामै पनि स्थानीय राजनीतिक दलका नेता, भूमिगत समूह आदिलाई हतियार उपलब्ध गराउँदै आएको बताएको इन्स्पेक्टर शर्माले बताए । शर्माका अनुसार, ठाकुरले बारा र पर्साका विभिन्न ठाउँका करिब तीन दर्जनभन्दा बढी व्यक्तिलाई हतियार उपलब्ध गराउँदै आएको पाइएको छ । ठाकुरकै बयानका आधारमा मंगलबार पनि विभिन्न व्यक्तिको घरमा खानतलासी गरिएको इन्स्पेक्टर शर्माले बताए ।
ठाकुरले भूमिगत समूहदेखि राजनीतिक दलका नेतासम्मको नाम प्रहरीमा दिएका छन् । उनले दिएको नामका आधारमा प्रहरीले हतियार बोक्नेहरूविरुद्ध अप्रेसन सुरु गरेको छ ।

प्रतिक्रिया