आयोगको तयारी मंसिर–७ मा काम लाग्दैन

काठमाडौं, २६ असार । कांग्रेस, एमाले लगायतका विपक्षी दलहरुले मंसिर–७ गते चुनाव हुनै नसक्ने भन्दै निर्वाचन आयोगले हाल गरिरहेको तयारी मंसिर–७ गते काम नलाग्ने जनाएका छन् ।
उनीले नयाँ चुनावका लागि आयोगको तयारी मात्रैले नपुग्ने जनाए । उनीहरुले निर्वाचनको तयारी भन्दा पनि सरकार राष्ट्रिय सहमति जुटाउने तर्फ लाग्नुपर्ने बताए ।
आयोगले विघठित संविधानसभाका राजनीतिक दलहरुसँग आज आफ्नै कार्यालय कान्तिपथमा आयोजना गरेको अन्तरक्रियामा विपक्षी दलहरुले राष्ट्रिय सहमति नहुँदासम्म नयाँ चुनाव हुन नसक्ने जनाए ।
कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङगानाले राष्ट्रिय सहमति बिनानै कामचलाउ सरकारले घोषणा गरेको निर्वाचन मंसिर–७ गते हुनै नसक्ने बताए । उनले प्रश्न गरे, ‘विपक्षी दलहरुसँग परामर्शै नगरेर घोषणा भएको निर्वाचन कसरी मंसिर–७ गते सम्भव छ ?’
एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले निर्वाचनको तयारी मात्रै गरेर नहुने भन्दै पहिला राष्ट्रिय सहमति जुटाउने तर्फ सरकार लाग्नुपर्ने जनाए । उनले भने, ‘तयारी मात्रै गरेर हुँदैन, पहिला सहमति आवश्यक छ ।’
एमाओवादीका पोलिटब्युरो सदस्य नवराज सुवेदीले मुलुकको निकास निर्वाचन रहेको भन्दै निर्वाचनबाट पछि हट्न नहुने बताए । उनले दलहरुलाई सहमतिमा आएर निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।
छलफलमा आयोगले मंसिर–७ गते हुने नयाँ निर्वाचनका लागि आफूले गरेको तयारीका बारेमा जानकारी गराएको थियो ।
तीन प्रतिसत मत ल्याउने दललाई मात्रै राष्ट्रिय पार्टीको मान्यता दिने प्रावधानलाई आयोगले प्रस्ताव गरेको छ । आयोगको सो प्रस्तावको साना दलहरुले विरोध जनाएका छन् । साना दलहरुले हालकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग गरे ।
यस अघि प्रधानमन्त्री र मन्त्रीहरुसँग परामर्श गरेको आयोगले नयाँ निर्वाचनका समबन्धमा आज विघठित संविधानसभाका सबै राजनीतिक दललाई बोलाएर छलफल गरेको हो ।

प्रतिक्रिया