भूपीको कविता मञ्चित

‘काठका खुट्टा हुनेहरू जहाँ रेसका विजेता हुन्छन्

र, जहाँ प्लास्टर गरिएका हातहरूमा
सुरक्षाको संगीन थमाइन्छ ।
स्टक एक्सचेन्जका सेयरजस्तै आत्मा
क्रयविक्रय गर्नसक्नेहरू जहाँ नेता हुन्छन् ।
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरू तन्नेरीहरूका अगुवा हुन्छन् ।
जहाँ कृषि मेलाहरूमा दोब्बर उब्जनी हुने
बिउहरूको प्रदर्शनी गरिन्छ
र, जहाँ खडेरी र अनिकालको सञ्चारले अखबार भरिन्छ ।’
यो मार्मिक अनि चोटिलो अंश हो, लोकप्रिय कवि भूपी शेरचनले लेखेको चर्चित कविता यो हल्लैहल्लाको देश होको । यो कविता हालै राजधानीमा मञ्चित भयो । नाट्यकर्मी कृष्ण शाह यात्रीले यसको परिकल्पना र निर्देशन गरेका हुन् । ‘भूपीले २०२४ सालमा लेखेको यो कविता अहिले पनि समसामयिक र प्रभावशाली देखिन्छ,’ यात्रीले भने । उनले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, वैरागी काइँला, विप्लव ढकाल, पूर्णविरामका प्रतिनिधि कविता पनि मञ्चन गराइसकेका छन् । यो हल्लैहल्लाको देश होमा एल ए थिएटर क्लब का ज्योतिप्रभा मरासिनी, प्रनिश महर्जन, शिवम् शाह र अंशु पाण्डेले अभिनय गरेका थिए । भूपीको कविता आगामी २९ असारमा पुन: मञ्चन गरिने यात्रीले जानकारी गराए ।
नेपालमा कविता मञ्चनको परम्परा चालीसको दशकबाट सुरु भएको मानिन्छ । विगत तीन वर्षदेखि लिट्टिल एन्जल्स स्कुलले यसलाई निरन्तरता दिँदै आएको छ । यो कविता मञ्चनसँगै भानुजयन्तीको सन्दर्भ पारेर लिट्टिल एन्जेल्सले स्कुलस्तरीय अभिनयात्मक कविता वाचन प्रतियोगितासमेत सम्पन्न गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका २१ स्कुलले सहभागिता जनाएका थिए । कविता वाचनमा बृहस्पति स्कुलकी प्रस्तुति भट्टराई प्रथम, ब्लुमिङ बर्ड स्कुलका आशिष खत्री द्वितीय र भ्याली भ्यु स्कुलका आदित्य पौडेल तृतीय भएका छन् ।

प्रतिक्रिया