भ्रष्टाचार नियन्त्रणमा सघाउन आग्रह

टोकियो, २६ असार । अफगान राष्ट्रपति हमिद कार्जाईले आफ्नो मुलुकमा भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । अफगानिस्तानका दाता राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जापानको राजधानी टोकियो पुगेका कार्जाईले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् ।
आइतबार सम्पन्न दाता राष्ट्रको सम्मेलनमा अफगानिस्तानका लागि गरेको सहयोगको वचन दिने सबै राष्ट्रलाई उनले धन्यवाद ज्ञापन गरेका थिए । सम्मेलनको अन्त्यमा जारी गरिएको विज्ञप्तिमा अफगानिस्तानलाई सन् ०१५ देखि हरेक वर्ष चार अर्ब अमेरिकी डलरका दरले सहयोग उपलब्ध गराउने वाचा दाताहरूले गरेका थिए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अफगानिस्तानमा भ्रष्टाचार छैन म भन्दिनँ, तर, भ्रष्टाचार नियन्त्रण मेरो प्रयासले मात्र सम्भव हुँदैन ।’ उनले अफगास्तिानमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैसँग आग्रहसमेत गरे । राष्ट्रपति कार्जाईले आफू देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयासरत रहेको र आगामी दिनमा यसको निराकरणका लागि चुस्त कदम चाल्ने तयारीमा रहेको जानकारी दिए ।
यसअघि अफगानिस्तानका दाताहरूले भ्रष्टाचार नियन्त्रण गरे मात्रै अफगानिस्तानलाई सहयोग गर्न सकिने सर्त राखेका थिए । यसको जवाफमा कार्जाईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सम्मेलनमा अफगान राष्ट्रपति हमिद कार्जाई, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तथा संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनले पनि सहभागिता जनाएका थिए ।
सम्मेलनमा नेटोले अफगानिस्तानबाट सेना फर्काएपछिको दशकलाई ‘संक्रमणकालीन दशक’ नामकरण गरी त्यसपछिको सुरक्षा र विकासमा कसरी केन्द्रित हुने भन्ने विषयमा छलफल गरिएको थियो । सम्मेलनमा ८० मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले भाग लिएका थिए । दाताले टोकियो घोषणापत्र जारी गरी अफगानिस्तानका लागि कम्तीमा १६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अफगानिस्तानबाट अमेरिकी तथा उसका सहयोगी सैनिकहरू फिर्ता गएपछि यो मुलुकको सुरक्षा र विकासका लागि विश्वले नै चासो लिएका छन् । सहभागीहरूले अफगानिस्तानलाई पुन: चरमपन्थीको संरक्षण क्षेत्र बन्न नदिने दृढता व्यक्त गरेका थिए । अफगानिस्तानका विदेशमन्त्री जलमाई रासुलले काबुलले आफ्नो वचन पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जापानी विदेशमन्त्री कोइचिरो गेम्बाले सम्मेलनबाट अफगानिस्तानले सन् ०१४ पछि दिगो विकास गर्नसक्ने विश्वास व्यक्त गरे । सम्मेलनको सहअध्यक्षता जापानले गरेको थियो । सम्मेलनमा विगत लामो समयदेखि अफगास्तिानलाई सहयोग गरिरहेका देशका प्रतिनिधिहरू सहभागी थिए । (एएफपी)
बीस तालिवानीको मृत्यु
काबुल : अफगानिस्तानमा गत २४ घन्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा २० जनाभन्दा बढी तालिबानी चरमपन्थीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । कारबाहीका क्रममा ३७ चरमपन्थी पक्राउ परेको समाचारमा उल्लेख छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले नानर्गाहार, लाघमान, हेल्मान्ड, खोस्त र घान्जी प्रान्तमा सो कारबाही गरेको थियो । कारबाहीमा २० जनाभन्दा बढी सशस्त्र तालिवान चरमपन्थीको मृत्यु हुनुका साथै अन्य ३७ जना कारबाहीमा परेको पनि अफगानिस्तानको गृह मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीमा विभिन्न हातहतियार कब्जा गरिएको छ । आक्रमणबाट सुरक्षा बलतर्फ कुनै हताहति नभएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सैनिकले तालिवानी लडाकुविरुद्ध विभिन्न स्थानामा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंदै गर्दा तालिवानविरुद्धको कारबाहीलाई तीव्र पारिएको छ । (एएफपी)

प्रतिक्रिया