ओबामाको बधाई

वासिङ्टन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाली नागरिकलाई एक विज्ञप्ति प्रकाशन गरी बधाई ज्ञापन गरेका छन् । लिबियाको राजनीतिक इतिहासमै पहिलोपटक शनिबार आमनिर्वाचन सम्पन्न भएपछि ओबामाले बधाई दिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
‘म अमेरिकी नागरिकका तर्फबाट लिबियाली जनतालाई प्रजातान्त्रिक तवरबाट सम्पन्न भएको आमनिर्वाचनका लागि बधाई ज्ञापन गर्न चाहन्छु,’ ओबामाले भनेका छन् । लिबियाली नागरिकले पहिलोपटक प्रजातान्त्रिक मताधिकार प्रयोग गर्ने अवसर पाएको भन्दै उनले प्रसन्नता व्यक्त गरेका छन् । निर्वाचनबाट संक्रमणकालीन अवस्थामा रहेको लिबियामा एक अभूतपूर्व उपलब्धि हासिल भएको र यो प्रजातान्त्रिक उपलब्धिलाई लिबियाली नागरिकहरूको सक्रिय सहभागितामा संस्थागत गर्दै लैजानुपर्ने पनि उनले जोड दिएका छन् ।
सन् ०११ को अक्टोबर महिनामा लिबियाली शासक मोअम्मर गद्दाफीको पतन भएपछि लिबियामा शनिबार आमनिर्वाचन भएको थियो । लिबियामा चार दशकभन्दा लामो समयसम्म शासन गरेका गद्दाफी नेटोको कारबाहीमा परी मारिई नयाँ सरकारमा शक्ति हस्तान्तरण भएपछि सो चिर्वाचन भएको हो । (एएफपी)

प्रतिक्रिया