रोगले गलाउन नसकेको जाँगर

अधिकांश मानिस ५० कटेपछि बूढो भएँ भन्ने मानसिकता पाल्न थाल्छन् । लत्रक्क परेर घरमा थन्किने सुरसार गर्न थाल्छन् । कामधाम नै छाडेर खै के गर्न सकिएला र भन्दै युवा नातिनातिनाको सहारा खोज्न थाल्छन् । अनि नीच मारेर बुढेसकालीन रोगहरू बोक्न थाल्छन् । आधाउधी रोगी त बूढो भएँ भन्ने मानसिकताकै कारण हुन पुग्छन् ।

तर, वरिष्ठ संगीतकार अम्बर गुरुङ त्यस्ता बूढाहरूमध्ये पर्दैनन् । चौहत्तर वर्ष पुग्दा पनि आºनो काम र सिर्जनात्मकतामा कमी आउन दिएका छैनन् । नेपालीहरूका लागि सांगीतिक मनोरञ्जनका साधन जन्माउने काममा खटिरहेकै छन् यी संगीतकार । काम गर्दागर्दै मर्न पाए हुन्थ्यो भन्ने अभिलासा रहेछ उनको, त्यसैले रिटायर्ड भइहालूँ भन्ने सोच्दैनन् ।
त्यसो त आºनो शरीरमा रोगको भण्डारै रहेको सुनाउँछन् अम्बर । यी रोगले बुढ्यौलीलाई धङधङ्याउने प्रयास गरिरहँदा झन् सचेत हुन्छन् आºनो स्वास्थ्यबारे । लापरबाही गर्दैनन् । नियमित औषधि खान छुटाउँदैनन् । अझै थुप्रै गर्न बाँकी रहेको मानसिकता छ, त्यसैले स्वास्थ्यतिर ध्यान दिइरहन्छन् । चिकित्सकबाट नियमित स्वास्थ्यपरीक्षण गराइरहन्छन् । रोगले थुमथुम्याएर राख्न सकेकै छन् । पहिले–पहिले मर्निङ वाक, जगिङ, योग गर्ने उनले हिजोआजचाहिँ ती सबै छाडेछन्, बुढ्यौलीले शरीर केही कमजोर त बनाएकै छ । तैपनि बिहान घरवरिपरिचाहिँ घुम्छन् । ‘यसो गर्दा शरीर केही स्वस्थ हुन्छ,’ उनले भने ।
बुढेसकाल लागेपछि उनको दैनिकी केही परिवर्तन भएकोचाहिँ छ । पहिले अलि सबेरै उठ्ने उनी हिजोआज सात–आठ बजेतिर मात्र उठ्छन् । नित्यकर्मपछि सुगर फ्रि बिस्कुट र चिया खान्छन् । खानामा खासै सोख छैन, यी संगीतका सोखिनलाई । धेरै खाँदैनन् । धेरै खाएर मान्छे स्वस्थ हुँदैन भन्छन् । त्यसैले अड्कलेर खान्छन् । अमिलो–पिरो नभए गाँसै नछिर्ने बूढाबूढीको वर्गमा पर्दैनन् उनी ।
स्वस्थता र तन्दुरुस्तीका लागि सकारात्मक सोच राख्नुपर्ने र अरूका बारे अनावश्यक टीकाटिप्पणी राख्न नहुने उनलाई लाग्छ । सुनाए– ‘सकारात्मक सोच, सकारात्मक भावना भयो भने मान्छे खुसी र स्वस्थ देखिन्छ ।’ अम्बर रक्सी र माछामासु खान्छन् तर जवानीको जस्तोचाहिँ होइन । जमानाको त कुरै अर्को, मुड चलोस् मात्र न, मजैले खाइदिन्थे ।
अम्बर आस्तिक हुन्, ईश्वर मान्छन् तर मन्दिर धाइरहन आवश्यक ठान्दैनन् । कर्ममा विश्वास गर्छन् । घर परिवारले उनलाई कम्ती सम्झाएका छैनन्, अब पुग्यो कत्ति काम गर्नु, नपुग्दो के छ र भनेर । तर, उनको तरुनो मन छ, आराम गर्नै दिँदैन । अहिल्यै काम गर्न छाडेर आफूलाई बूढो प्रमाणित गर्न खोजेको भनेर मनले धमास लाएपछि उनी पनि जोस निकाल्दै काम गर्न थालिहाल्छन् । परिवारको कुरा सुनेको नसुन्यै । भन्छन्– ‘यो ज्यानलाई किन त्यत्तिकै नाश गर्नु, सकेसम्म काम गर्नैपर्छ ।’ नेपाली जनताले आफूलाई धेरै माया दिएजस्तो लाग्छ उनलाई  । तर, आफूले चाहिँ देश र जनतालाई अझै थुप्रै दिन बाँकी रहेको बताउँछन् । त्यसैले भन्छन्– ‘जिम्मेवारी पूरा गर्न अझै बाँकी छ, त्यसैले बूढो भएँ, काम गर्न सक्दिनँ भनेर थन्कन कहाँ पाइयो र ?’
सुत्नुअगाडि अध्ययन नगरेका रात कमै छन् उनका । अध्ययन र योजनाहरूमा घोत्लिँदा अबेर मात्र ओछ्यानमा पुग्छन् । बाह्र–एक बजाएको पत्तै पाउँदैनन् । त्यही मेहनतका उपज हुन्, उनको घरको भित्तै छोपिने गरी झुन्डिएका सम्मान र कदरपत्रहरू । घरबाहिर जाँदा एउटा साथी पनि लिएर हिँड्छन् हिजोआज, तीन चार वर्ष भएछ यस्तो सहारा खोज्नुपरेको । भन्छन्– ‘नसाको रोगका कारण हिँड्न गाह्रो हुन्छ । भर्‍याङ उक्लिने ओर्लने गर्दा एउटा साथी अनिवार्य चाहिन्छ ।’
अनुहारमा चाउरीका खोल्साखोल्सी बन्न थाले पनि उनको केश भने निख्खर कालो छ । ४० कटेपछि टाउको तिलचामले बन्नेहरूले ईष्र्या गर्लान् उनको कपालबारे सुने । गाला पुष्ट छन् । बाहिर हिँड्दा झुम्रे बूढो बनेर हिँड्न चाहँदैनन् उनी, जहिले पनि चिटिक्क देखिन्छन् । कहिले सपक्क मिलेको दौरासुरुवाल त कहिले टाइसुटमा  । आºनो पोसाकशैलीबारे सुनाउँछन्– ‘यो मेरो बुबाको स्वभाव हो, उहाँ पनि चिटिक्क परेर नै हिँड्नुहुन्थ्यो । म चिटिक्क पर्छु भनेर कुनै योजना त बनाउँदिनँ तर यो मेरो नियमित क्रियाजस्तो लाग्छ ।’ समकालीनहरूले भेट्दा उनको रूप र पहिरन हेरेर प्रशंसा पनि गर्छन् रे– के हो तिमी त सधैँ सदाबहार †
उनलाई कसैले बूढो भनेका मन पर्दो रहेनछ । कसैले अब बूढो भएँ भनेर प्रश्न गरे उनी जवाफ फर्काउँदा रहेछन्– म आफूलाई त त्यस्तो भएजस्तो लाग्दैन तर तिम्रो प्रश्नले नै जबरजस्ती बूढो बनाएको हो कि जस्तो पो लाग्यो त †
घरबाहिरको यात्रामा रहँदा पनि यो खाऊँ कि नखाऊँ, केही हुने हो कि भनेर मन खुम्च्याएर बस्दैनन् उनी । जुन परिवेशमा पनि एड्जस्ट हुन सक्छन्, उमेरका कारणले आºनातर्फबाट कुनै कमजोरी नदेखियोस् भन्नेमा सकेसम्म चनाखो हुन्छन् । शरीर, स्वास्थ्य, र दिमागले भ्याएसम्म नेपाली र नेपाल राष्ट्रका लागि काम गर्ने लक्ष्य रहेको सुनाउँछन् । काठमाडौंमा मात्र होइन, बाहिरका दुर्गम जिल्लामा हुने सांगीतिक कार्यक्रममा पनि धाइरहन्छन्, उनी । यसो गर्दा आनन्द मिल्छ रे †
नेपाली राष्ट्रगानलाई आºनो अब्बल सांगीतिक क्षमताले सिञ्चन गरेका अम्बरले बिट मारे– ‘केही गर्नुपर्छ भन्ने भावना भए मान्छेको जाँगर मर्दैन । हीनता र कमजोर मनले जाँगर गलाउँछ । म त मेरा लागि कसैले केही गर्नु नपरोस्, बुढ्यौलीले थन्किएर अरूको स्याहारमा अल्झिन नपरोस्, काम गर्दागर्दै प्राण जाओस् भन्नेमा छु ।’

प्रतिक्रिया