खोजखबर

कागज आदानप्रदान भा’थ्यो

सौर्य अनलाइन २०६९ असार २५ गते १:२६ मा प्रकाशित

-मैले साच्चिकै उतार्न खोजेर उतार्‍या भए यो भन्दा धेरै तपाइंले देख्नुहुन्थ्यो ।
-हाम्रा धेरैजसो देवता ढुंगाका हुन्छन् । चुपै लागेर बस्छन् । कुन समयमा जनताले उठ भन्छन्, जनताले समय भयो भन्छन्, केही न केही गर्नुपर्छ । त्यो समयमा ढुंगा बोल्छ ।
-कहिलेकहिले लाग्छ, अझ अलिकति विकेक पुर्‍याएको भए यतिसम्म हुने थिएन कि ।
-म बाचुन्जेल पार्टी खोल्दिन, म मरेपछि अरूले के गर्छन्, थाहा छैन ।
-जनताले नारायणहिटी एकचोटी छाडेर हेर न भन्याजस्तो पो लाग्या’छ । हाम्रो माझमा आएर एकचोटी हिडिदेऊ, बसिदेऊ, भन्याजस्तो पो लाग्यो । अरूले एकचोटी चलाएको हेर न भन्याजस्तो पो लाग्या’छ ।

यहाँको तीन जिल्लाको पाँचदिने भ्रमण कस्तो रहयो ?
सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो, सबैलाई जस्तो । त्यसपछि जहाँ गयौँ, जनताबाट धेरै आत्मीयता पाएको छु । अहिलेसम्म मैले यस्तो अनुभव गर्दाखेरि सफलै भएको जस्तो लाग्छ । यहाँका सर्वसाधारण, दाजुभाइ–दिदीबहिनीले नै शक्तिपीठ, मन्दिर र उहाँहरूको माझ आउनलाई निम्तो गरेको हो । त्यो मैले गर्न पाएँ । सफलताका साथ भएको जस्तो लाग्छ । यो भ्रमण सबैको प्रयासले राम्रो भा’छ ।
हामीलाई पनि खुसी के लाग्या’छ भने धेरैलाई भेट्न पाएँ । धेरैसँग कुरा गर्न पाएँ । सबैजना आइदिनुभएकोमा उहाँहरूलाई मेरो धन्यवाद पनि छ ।
हरेकजसो जमघटमा ‘राजा आऊ देश बचाऊ’ को नारा गुन्जिएको थियो, यहाँलाई कस्तो लाग्यो ?
त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो । पश्चिमाञ्चलमा मात्र होइन हामी जहाँ गए पनि यो आवाज सुनेको र गुञ्जेको छ । उता अरू ठाउँमा पनि यस्तै कुरा सुनेकै हो । अब त्यसलाई प्रजातान्त्रिक व्यवस्थामा सबैको बोल्ने, भन्ने र प्रकट गर्ने अधिकार हुन्छ । यो पनि एक समूह छ भनेर सबैले मान्नुपर्छ ।
मेरो प्रश्न यो समूहलाई के भन्नुहुन्छ जसले राजा आऊ देश बचाऊ भनेका छन् ?
अब भन्ने त के छ र ? मैले कदरै गर्‍या’छु । अहिलेलाई (यही) पर्याप्त छ कि भनेजस्तो मलाई लाग्छ ।
योभन्दा अरू केही गर्न चाहनुहुन्छ ?
त्यस्तो छैन अहिले । समय आउला र अहिलेचाहिँ तुरुन्त म भन्न सक्दिन, समय आई नै सक्या’छ भनेर ।
तपाईं देशैभरका धार्मिक पीठहरूमा भगवानसँग भेट्दै पूजा गर्दै हिँड्नुभएको छ, भन्न मिल्छ के माग्नुहुन्छ भगवानसँग ?
भन्न मिल्छ । जहाँ गए पनि जुन पीठमा गए पनि, जुन मन्दिरमा गए पनि एउटै कुरा मैले माग्या’छु : देशमा शान्ति होस्, देश विघटन नहोस्, एकता कायम रहोस्, यही प्रार्थना जुनै पनि पीठमा मैले गएर गर्ने गर्‍या’छु ।
तर देश, यहाँको राजनीतिक व्यवस्था, वातावरण सबै कुराले ज्ञानेन्द्र शाहलाई धोका दिएको हो नि ?
त्यो शब्द तपाईंको हो, मेरो होइन । मलाई त त्यस्तो लाग्या’छैन । मलाई त कस्तो लाग्या’छ भने जनताले नारायणहिटी एकचोटी छाडेर हेर न भन्याजस्तो पो लाग्या’छ । हाम्रो माझमा आएर एकचोटी हिँडिदेऊ, बसिदेऊ, भन्याजस्तो पो लाग्यो । अरूले एकचोटी चलाएको हेर न भन्याजस्तो पो लाग्या’छ ।
तर त्यो छाड्दाखेरि पनि मैले केही–केही कुरा गर्‍या’थेँ । त्यो स्पष्ट छ । देशमा एकता कायम होस् र यो देश छाडेर म जाने होइन, भनेर मैले केही स्पष्ट बुँदाहरू त्यो समयमा पनि राख्या’थेँ । त्यो मेरो राष्ट्रियताको भावना भनौँ । अहिले आएर कतै न कतै मिल्न गएको छ । यस्तै कुरा मैले देख्या’थेँ, यस्तै हुनजाला भन्ने । यही कुरा पनि खल्बलिएला, कमजोर होला भनेर नै मैले त्यो समयमा यी कुरा गर्‍याथेँजस्तो लाग्छ । अहिले त्यो सावित हुन गइराख्या’छ । अहिले देशको स्थिति हेर्दा पनि यही कुरा ध्यानमा दिनुपर्नेछ । व्यक्तिभन्दा राष्ट्रलाई नै ध्यानमा राखेर महत्त्व दिनुपर्छ ।

त्यस्तो भइरहेको छ अहिले ?
भा’छैन । त्यही त म भन्दै छु नि † त्यो समयमा नै मैले भनिसक्या हो, यस्तो कुरा होला विचार गर्नुस् । यहीँ बसेर जुनसुकै बखतमा वा परिस्थितिमा म यी कुरालाई जोड्न, बचाउन, एकीकृत राख्न समर्पित छु भनेर त्यही समयमा भनिसक्या’छु ।

तपाईं धार्मिक भ्रमणमा हिँडिरहेका बेला केही राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्रले जनतालाई अफिम खुवाउँदै छन् सम्म पनि भन्ने गरेका छन् । के धर्मको आड लिएर तपाईं केही (योजना) बनाउँदै हुनुहुन्छ ?
सबैभन्दा पहिला अफिम भन्या के ? मलाई त्यो पनि थाहा छैन । उहाँहरू कुन उद्देश्यले यो शब्द प्रयोग गरिरहनुभएको छ ? त्यो पनि थाहा छैन । मेरो शुद्ध विचार सोध्नुहुन्छ भने मलाई सर्वसाधारण दाजुभाइ दिदीबहिनीहरूले मन्दिरमा आइदेऊ पूजापाठमा सहभागी भइदेऊ भनेर बोलाउनुहुन्छ, म हिँड्छु । उहाँहरूले त्यो मौका छोपेर मलाई भेट्ने गर्नुहुन्छ । उहाँहरू कसरी समय मिलाएर मलाई भेट गरिरहनुभएको छ, त्यो मैले ख्याल गर्ने कुरा होइन । त्यो उहाँहरूको जिम्मा राख्दया’छु । त्यसैले अब कसले के भन्छ, कुन शब्द प्रयोग गर्छ, कस्तो विचारले, नियतले गर्छ त्यो मेरो सरोकारको कुरा होइन ।

अन्य दलका मानिसले पूर्वराजाले सडकमा धेरै मानिस उतारे भनेर प्रश्न गर्छन् । तपार्इंले धेरै मानिस सडकमा उतारेकै हो ?
हा..हा….खै † अब उहाँहरूको मनस्थिति के भा’छ ? उहाँहरू किन तर्सनुभा’को छ । मैले साँच्चिकै उतार्न खोजेर उतार्‍या भए यो भन्दा धेरै तपार्इंले देख्नुहुन्थ्यो । त्यो विचारले म हिँडया’छैन ।
संविधानसभाको निष्फल र स्वत: अवसान भएपछि नागरिकका हिसाबले कस्तो लागिरा’छ ?
रमाइलो त लाग्या’छैन किनभने जुन उद्देश्यले जनतासामु धेरै वाचा गर्नुभा’थ्यो कुनै पनि पूरा भएन । अहिलेसम्म पनि पूरा भएको छैन । दुर्भाग्यवश उहाँहरूले जनतासामु भन्नुभएका धेरै कुराहरू हुन सकेनन्, विभिन्न कारणले होस् । त्यो कारणमा नजाउँm । अब राष्ट्र र जनतालाई निकास दिने समय आएको छ । त्यतातिर लाग्नुपर्छ ।

त्यसो भए तपाईंचाहिँ देशका जनताको आग्रहअनुसार आफ्नो दायित्व देखाउनुहुन्छ ? वा मौन पूजापाठ गर्दै हिँड्नुहुन्छ ?
हाम्रा धेरैजसो देवता ढुगांका हुन्छन् । चुपै लागेर बस्छन् । कुन समयमा जनताले उठ भन्छन्, जनताले समय भयो भन्छन्, केही न केही गर्नुपर्छ । त्यो समयमा ढुंगा बोल्छ । हेर्दै जाउँm ।

अलिकति खुलेको जवाफ खोजेँ मैले ?
हा..हा…यो अघि नै भनिसकेँ, समय भा’को छैन ।

संविधानसभा अवसान भएपछि यहाँको भ्रमणमा सबैजसो दलका मानिस सहभागी भएका छन् । किन ती दलका कार्यकर्ता उपस्थित भए ?
एउटा निकास त खोज्या हो नि † जनताले अल्टरनेटिभ पनि राजसंस्था हुन सक्छ भन्ने म्यासेज दिएको हो कि ।

यो सन्देशले यहाँलाई कहिल्यै लाग्छ कि राजसंस्था पुनर्जीवित हुन्छ भन्ने ?
मलाई लाग्ने वा नलाग्नेले फरक पार्दैन । उहाँहरू गएर आफ्ना दलका नेतालाई भन्न सक्नुपर्‍यो । सडकमा चिच्याएर केही हुँदैन ।

त्यसो भए नेतृत्व लिन तयार हुनुहुन्छ फेरि ?
जनताले भन्यो भने एस् । त्यो मेरो राष्ट्रिय धर्म नि हो । मैले निर्वाह गर्नुपर्छ ।

नेतृत्व लिने अवस्था आएमा के–के गर्नुहुन्छ ?
सबैभन्दा पहिला राजनीतिक स्थिति एउटा देशलाई सुहाउने खालको पद्धति ल्याउनुपर्‍यो । त्यसपछि अहिले कुन क्षेत्र बिग्रेको छैन ? तपार्इंले पनि सुन्नुभएको होला । विभिन्न दोषारोपण लाग्या’छ, यो भएन, त्यो भएन । आर्थिक, सामाजिक, धार्मिक यस्ता–यस्ता हाम्रा जुन कुराले देशलाई एक बनाएर राखेका स्तम्भ थिए अहिले खल्बलिएका छन् ।
त्यो जग बनाउने समय आउन लाग्यो । आउनैपर्छ । नत्र भने हामीले चिनेको हामी सानोमा हुर्केको देश रहन्न । र, छैन पनि अहिले । यही त यहाँ अप्ठयारो भइराखेको छ ।

संविधानसभाको स्वत: अवसानपछि पुन: संविधानसभा पुन:स्थापना गरी संविधान लेखिनुपर्छ पनि भन्न थालिएको छ । के यो सही हो जस्तो लाग्छ यहाँलाई ?
यो तपार्इंले राजनीतिक कुरा गर्नुभयो । त्यो चाहिन्छ, चाहिन्न मैले कमेन्ट नगर्नु नै बेस हुन्छ ।

राजनीतिक दल र तत्कालीन राजसंस्थाबीच केही सम्झौता भएको थियो भनेर भन्दै आउनुभएको छ । यो अवसरमा त्यो खोल्नुभएमा अभारी हुनेथियौँ ?
हा..हा..हा…तपार्इंको त्यो इच्छा पनि म पूरा गरिदिन्छु । त्यो समयमा धेरैपटक तत्कालीन ७ दलसँग लिखित आदानप्रदानको दोहोरी चलेको थियो । शब्द–शब्द केलाइकन कागजको आदानप्रदान भा’थ्यो । कतिपय हाम्रा नेताहरू अहिले पनि जीवित नै हुनुहुन्छ, ती कागजमा जसका हस्तलिपिहरू छन् । बुँदाहरू धेरै थिएनन् । स्पष्ट थियो । जुन सबै नेपालीले बुझिसक्या’छ । जे–जे माग्नुभा’थ्यो मैले गरेँ । कतिले मलाई दोष लगाएर यस्तो गर्नुहुन्थेन भनेका छन् । तर, देशमा जसरी भए पनि शान्ति आओस् र दलहरूले त्यो दायित्व लिन्छन् भने मलाई अप्ठयारो थिएन । त्यहीअनुसारले मैले त्यो सम्झौताबमोजिम गरिदिएको हुँ ।

राजसंस्थाको बहिर्गमनको कुरा थियो त्यसमा ?
छैन, त्यो कुरै छैन । कसरी यहाँबाट उठयो । त्यो हामीसँग भएको सम्झौतामा कतै पनि छैन ।

के छ त्यसमा ?
उही जुन अघि मैले भनेँ, संसद्को पुन:स्थापना गर्नुपर्‍यो । दलहरूमध्येबाट प्रधानमन्त्री नियुक्त हुनुपर्‍यो । संवैधानिक राजतन्त्र बहुदलीय व्यवस्था फेरि ब्युँताउनुपर्‍यो । त्यस्तै–त्यस्तै कुराहरू थिए जुन मलाई अप्ठयारो नि थिएन ।

कतिबुँदे सम्झौता थियो ?
त्यस्तै ३ देखि ४ बुँदेजस्तो लाग्छ ।

त्यो अझ पनि होला ?
होला, मसँग छ कि कोसँग छ । होला कतै ।

त्यसबेला सहमतिमा राजतन्त्र र बहुदलीय व्यवस्था रहने भन्ने थियो ?

डेफिनेट्ली थियो ।

त्यसपछि स्थिति कसरी मोडियो ?
आठ दल भएपछि हो कि जस्तो लाग्छ ।

आठ भएपछि जबर्जस्ती अगाडि बढ्यो ?
त्यस्तै हुन गयो ।

७ दलबाट हस्ताक्षर गर्ने नेता आज पनि होलान् नि ?
छन् धेरै छन् ।

त्यो सम्झौताको विषयमा अरू बुँदा छन् उल्लेख गर्नुपर्ने ?
मसँग कागज भएन, सम्झिन गाह्रो भयो तर कुरा त्यही हो मोटामोटी । ०४७ सालको संविधानलाई टेकेर सबै काम गरिन्छ भन्ने नै थियो ।

आठ दल भएपछि अरू के के भयो ?
धेरै भएका छन् । त्यसपछि पनि ७ दलमध्येका धेरैले भेटेका छन्, राजतन्त्र रहन्छ भन्ने आश्वासन दिएका छन् । कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो । संविधानमै लेख्या’थ्यो त्यही वरिपरि कुरा भा’थ्यो ।

त्यसरी राजतन्त्रको जरो उखेलिनुमा कुनै गल्ती वा दोष गरँेछु भन्ने लाग्दैन ?
ठयाक्कै त मलाई कहिल्यै लाग्या’छैन त्यस्तो । तर, कहिलेकहिले लाग्छ, अझ अलिकति विकेक पुर्‍याएको भए यतिसम्म हुने थिएन कि । तर, परिस्थिति यसरी पल्टियो सम्हाल्न पनि गाह्रो हुँदै गयो । हाम्रो समयमा जनतालाई दु:ख दिने, अप्ठयारोमा पार्ने कुनै नियत थिएन । त्यसैले पनि नारायणहिटी सजिलैसँग छोड्या हो ।

किन सजिलैसँग छाड्नुभयो ?
सँधै जितिराख्नुहुन्न । कहिले–कहिले हार्नुपर्छ । त्यो हारेमा तपार्इंको जित हुन्छ । त्यस्तो भा’छैन । तपाईंहरूले विचार गर्नुस् ।

दलका नेता बाहिरबाट सञ्चालित छन् भन्ने लाग्छ ?
लाग्छ होइन भई नै राख्या’छ । मलाई कतिले आएर सुनाएका छन्, त्यही कुरा मैले भन्दया हो । कतिपय कुरा सुनेको, देखेको, अनुभव गरेको हो । विभिन्न तरिकाबाट मुकुट लगाएर कुनै–कुनै तत्व नेपालको हितमा काम गरिरहेका छैनन् जस्तो लाग्या’छ । विचार गर्नुपर्ने समय आउँदै छ जस्तो लाग्छ ।

चलखेल उसो भए निकै बढेको छ ?
सबैभन्दा पहिले त मूलनीति नै छैन । देशमा कुनै मूलनीति छ ? देश कहाँ कस्तो परिस्थितिमा छ, त्यता फर्केर हेर्ने समय आइसकेको छ । परराष्ट्र, शिक्षा, आर्थिक, समाज सबैतिरबाट मानिस निराश भइसकेका छन् । रोपार्इंको समयमा किसानहरू मल र बिउका लागि झगडा गर्नुपरिरहेको छ । त्यो दृष्टिकोण भएन, भिजन भएन । विचार गर्नुपर्‍यो ।

राजतन्त्र निकाल्दा जनमत चाहिन्थ्यो भन्ने विचार हो यहाँको ?
जनमतको कुरा गर्दा पक्ष–विपक्षको कुरा आउँछ । एउटा यस्तो संस्था होस् जो न्युट्रल रहेको होस् । राजसंस्थालाई त्यहाँसम्म पुर्‍याउँदा पक्ष–विपक्षको सवाल उठ्छ । त्यहाँसम्म पुर्‍याउनुहुन्न । निकाल्दा जनमत गरेको थियो र आउँदा गर्नुपर्छ ?

मंसिर ७ मा सरकारले चुनाव घोषणा गरेको छ, तपार्इंले कुनै नयाँ दल खोल्नुहुन्छ ?
म बाचुन्जेल हुन्न, म मरेपछि अरूले के गर्छन्, मलाई थाहा छैन ।

त्यसो भए यहाँ यस्तै हेरी बस्नुहुन्छ ?
अब हेरेरै बस्नुपर्‍यो ।

समयसीमा हुन्छ कि ?
हुन्छ । हुन्छ होला ।

भनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह एकपटक फेरि यो देशलाई आफ्नो नेतृत्वदायी भूमिका अथवा सक्रिय भूमिका दिन तयार हुनुहुन्छ भनेर बुझे गलत त हुन्न होला नि ?
गलतै भो ।

कसरी ?
सक्रिय रूपमा होइन । तपार्इंले सक्रिय भन्ने शब्द पनि प्रयोग गर्नुभो । नेतृत्व दिन चाहन्छु तर सक्रिय रूपमा होइन ।

के अभिभावकको रूपमा ?
दयाट इज बेटर । दयाट इज मच बेटर ।

त, यो देशलाई पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान राजा भएर अभिभावकको भूमिका निर्वाह गर्न इच्छुक हुनुहुन्छ । यो सही हो ?
एस ।

अब राजसंस्था फर्कियो भने पहिलाको जस्तो भूमिका रहनेछैन । अभिभावक भएर अगाडि बढ्ने इच्छा छ ?
ठीक हो ।

न्युज २४ मा प्रसारित अन्तरवार्ताको पूर्णपाठ

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय