तमलोपाका नेताले लुटपाट मच्चाए

राजविराज, २५ असार । तराई–मधेस लोकतान्त्रिक पार्टीका सप्तरी अध्यक्ष रामपृत यादवमाथि मादक पदार्थ सेवन गरी लुटपाट मच्चाएको आरोप लागेको छ । उनले स्थानीयलाई कुटपिटसमेत गरेको पार्टीकै एक सदस्यले आरोप लगाएका हुन् ।

जिल्ला सदस्य विन्देश्वर यादवले विज्ञप्ति जारी गरी अध्यक्ष यादवमाथि आरोप लगाएका हुन् । उनले शुक्रबार मादक पदार्थ सेवन गरेर सिम्रहा सिंगियौन पुगेका अध्यक्ष यादवले स्थानीय सत्यनारायण यादवको घरमा लुटपाट गर्नुका साथै खुसीलाल यादवको घरमा महिलामाथि अभद्र व्यवहारसमेत गरेको बताएका छन् ।
अध्यक्ष यादवकै इसारामा केही कार्यकर्ताको कुटपिटबाट घाइते भएका वडा नम्बर ३ का उत्तिमलाल यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष यादवले भने झगडाबारे आफूलाई जानकारी नभएको बताउँदै आएका छन् । घटनामा मुछिएका यादवलाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएर शनिबार साँझ मुक्त गरेको छ ।

प्रतिक्रिया