कतारमा ‘पञ्चैबाजा’ झ्याई झ्याई(तस्विरमा)

दोहा, कतार । ‘आजको आवश्यकता, दलित एकता’ भन्ने मुल नाराका साथ प्रवासी दलित एकता संगठनका कलाकारले शुक्रबार पञ्चै बाजाका साथ धुमधाम सहित लोकदोहोरी कार्यक्रम सम्पन्न गरेका छन् ।
वैदेशिक रोजगारीका सिलसिलमा कतारमा कार्यरत नेपालीलाई मनोरञ्जन दिने उद्देश्यले नेपालको राष्ट्रिय बाजा ‘पञ्चैबाजा’मा लोकदोहोरी कार्यक्रम सम्पन्न गरिएको हो । दौरा, सुरुवाल तथा ढाका टोपीमा सजिएर पञ्चैबाजामा कलाकारले आफ्ना प्रस्ततुती देखाएका थिए ।
संगठनका उपाध्यक्ष कृष्ण परियारले ‘यो नेपाली शिर उचाली’ भन्ने गीतबाट स्वागत गरे । लोक तथा दोहोरी गायक कृष्ण परियाले ‘बटौलीमा आउनु है माया’, मनप्रसाद परियारले ‘घर छोडेर आए म कतारमा’, जगु परियारले ‘डाँडैफुर्के सल्लो’, रामकुमार वि.कले ‘झिमझिम सानु नझिम्काउ परेली’ तथा बाबुराम परियार, दीपक परियार, रामु वि.क, राजेश महरा, दिलकुमार वि.कले लोक दोहरी गीत गाएर दर्शकको मन जितेका थिए ।
गर्मीको वेवास्ता गर्दै पञ्चैबाजा र लोकगीतको तालमा नेपाली दर्शक छम्छम् नाचेका थिए ।
लोकगीतको क्षेत्रमा लागेका लोक गायकहरु कृष्ण परियार, राजेन्द्र महरा, जगु परियार, दिलकुमार वि.क र दीपक परियारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रवासी दलित एकता संगठनका अध्यक्ष बुद्धि परियार, नेपाली जनप्रगतिशिल मञ्चका अधयक्ष रमेश भट्ट, मञ्चका उपाध्यक्ष तिलविक्रम थेवे, सल्लाहकार रकमध्वज राई, होमनाथ शर्मा, एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग, खेलकुद विभागका प्रमुख दिल भट्टराई, महिला विभाग प्रमुख रोजीना बस्तोलालागयतको कार्यक्रमा उपस्थिति रहेको थियो ।
पञ्चैबाजा बजाउने संयोजन सोम परियारले गरेका थिए भने । सनैमा धनबहादुर रुचाल, मानप्रसाद परियार, ढोलकीमा सोम परियार, टेम्केमा दीपक परियार, दमाहमा रामु परियार, धनबहादुर परियार, नरसिंहमा कलीबहादुर परियार, झ्यलीमा सुमन परियारले साथ दिएका थिए ।
पदाधिकारीहरुको जिम्मेवारी हेरफेर
यसैवीच, संगठनका बरिष्ठ उपाध्यक्ष बिजय सुन्दास विदामा नेपाल गएकाले कार्यसमितिका पदाधिकारीमा केही हेरफेर गरिएको छ ।
प्रथम उपाध्यक्षमा कृष्ण परियार, द्वितिय उपाध्यक्षमा शत्रुघन पासवान, तृतिय उपाध्यक्षमा दीपकुमार नेपाली महासचिव राजेश परियार, सचिव गोविन्द सार्की, कोषाध्यक्ष धन बहादुर रुचाललाई चयन गरिएको छ ।

प्रतिक्रिया