राजनीतिक सहमति जुटाउन पुनः सुझाव

काठमाडौं, २४ असार । राष्ट्रपति डा.रामवण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालवीच वजेट र मुलुकको पछिल्लो राजनीतिक विषयमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान भएको भेटबार्तामा अध्यक्ष दाहालले डा.यादवसँग सहमतिमै बजेट आउने भन्दै त्यस विषयमा आशंका नगर्न आग्रह गरेका छन् । डा.यादवले संवैधानिक व्यवस्थाको ख्याल राखेर सहमतिमै बजेट ल्याउन दाहाललाई पुनः आग्रह गरे ।
निर्वाचनको मिति घोषणा भइसकेकाले दलहरुका बीच सहमति कायम गरेर बजेट जारी गर्नुपर्ने भन्दै डा.यादवले राजनीतिक सहमतिमा जोड दिएको भेटपछि एमाओवादी अध्यक्ष दाहालले जानकारी दिए ।
मुलुकको आर्थिक अवस्था, संवैधानिक जटिलता र बजेटको स्वरुपका बिषयमा समेत छलफल भएको अध्यक्ष दाहालले बताए ।
व्यवस्थापिका संसद नरहेको अवस्थामा पूर्ण वजेट जारी गर्ने वा अघिल्लो वर्षको एक तिहाई खर्चको म्याण्डेड सहित अध्यादेशबाट ल्याउने भन्ने विषयमा सरकार अन्यौलमा परेको छ ।
विपक्षी दलहरुले एक तिहाई बजेट ल्याउन दिने पक्षमा सकारात्मक रहेपनि पूर्ण वजेटको भने विरोध गरिरहेका छन् ।
संविधानसभा विघटनपछि दलहरुबीच बढ्दो दुरीलाई कम गर्न विभिन्न दलका नेताहरुसँगको भेटबार्तालाई तिब्र बनाएका राष्ट्रपति डा.यादवले एमाओवादी अध्यक्ष दाहाललाई सहमति कायम गरी अघि बढ्न पुनः आग्रह गरेका हुन् ।
राष्ट्रपति डा.यादवले शनिबार मात्रै अर्थमन्त्री र अर्थमन्त्रालयका पदाधिकारीसँग समेत छलफल गरी सहमतिकै आधारमा बजेटको तयारीमा लाग्न सुझाव दिएका थिए ।

प्रतिक्रिया