अफगानिस्तान अमेरिकाको मुख्य सहयोगी : क्लिन्टन

काबुल, २४ असार । अमेरिकाले अफगानिस्तानलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध नरहेको ‘प्रमुख सहयोगी मुलुक’को संज्ञा दिएको छ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले शनिबार यस्तो घोषणा गरेकी हुन् । अमेरिकाले सन् २०१४ बाट अफगानिस्तानबाट आºनो सेना फर्काउने तयारी गरिरहेका बेला काबुल भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री क्लिन्टनले सो घोषणा गरेकी हुन् ।
अमेरिकी घोषणापछि अफगानिस्तानलाई सुरक्षा र प्रतिरक्षा सहयोगको दीर्घकालीन कार्यसंरचना उपलब्ध हुनेछ । अफगान राष्ट्रपति हमिद कार्जाइसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा क्लिन्टनले यस्तो घोषणालाई अफगानिस्तानको भविष्यका लागि अमेरिकाको वचनबद्धताको संकेतका रूपमा बुझ्नुपर्ने जिकिर गरिन् । उनले यस प्रकारको सम्बन्ध अफगानिस्तानको संक्रमणकालीन समयमा लाभदायक हुने विश्वास व्यक्त गरिन् । उनले अब अफगानिस्तानलाई अमेरिकी प्रतिरक्षा सामग्री खरिद गर्न र त्यसका लागि बित्तीय सुविधा प्राप्त गर्न सजिलो हुने उल्लेख गरिन् । आºना सैनिक फर्काए पनि अमेरिकाले अफगानिस्तानलाई परित्याग नगर्ने, बरु अफगानिस्तानसँग दिगो साझेदारी विकास गर्ने उल्लेख गरिन् । अमेरिकाबाट यस्तो सुविधा पाउने मुलुकमा पाकिस्तान, इजरायल, इजिप्ट, जापान, जोर्डन, कोरिया, अर्जेन्टिना, अस्ट्रेलिया तथा न्युजिल्यान्ड रहेका छन् । अमेरिका र अफगानिस्तानबीच यसअघि नै रणनीतिक साझेदारीको सम्झौतामा हस्ताक्षर भइसकेको छ । उक्त साझेदारीमा प्रजातन्त्र र सुशासन प्रवद्र्धन गर्ने र अफगान सेनाका लागि विदेशी कोषबाट दिगो सहयोग उपलब्ध गराउने विषय समेटिएको छ ।
विदेशमन्त्री क्लिन्टन जापान पुग्नुअघि साढे तीन घन्टाका लागि काबुलमा रोकिएकी थिइन् । अफगान राष्ट्रपति कार्जाइ पनि जापानको राजधानी टोकियो पुग्ने कार्यक्रम छ । टोकियोमा हुने अफगानिस्तानसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ लाग्ने भएका हुन् । सम्मेलनमा अमेरिकी विदेशमन्त्री क्लिन्टनसहित राष्ट्रसंघ महासचिव बान कि–मुनले पनि सहभागिता जनाउनेछन् ।
आइतबार हुने सम्मेलनमा अफगानिस्तानलाई एक वर्षका लागि नागरिक सहयोगका रूपमा चार अर्ब अमेरिकी डलर माग गरिने भएको छ । ७० मुलुकका प्रतिनिधि सहभागी हुने सम्मेलनका सहभागीले सैद्धान्तिक रूपमा काबुलले भ्रष्टाचार हटाउन तथा पारदर्शीपना कायम गर्न प्रगति गरेमा उसलाई निरन्तर सहयोग गरिने बताएका छन् । (एएफपी)

प्रतिक्रिया