राष्ट्रपतिमाथि महाअभियोग

बुखारेस्ट : रोमानियाको संसद्ले राष्ट्रपति ट्राइयान बासेस्कुमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको छ । महाअभियोगका पक्षमा भएको मतदानले रोमानियाको प्रजातन्त्रलाई प्रभावित पार्ने धारणा अमेरिका र युरोपेली संघले व्यक्त गरेका छन् ।
शुक्रबार भएको मतदानमा कुल चार सय ३२ सांसदमध्ये दुई सय ५६ ले महाअभियोगको पक्षमा मतदान गरेका थिए । मतदानको ३० दिनभित्र हुने जनमत संग्रहबाट बासेस्कुलाई पदमुक्त गर्न बाटो खुलेको छ ।
यसैबीच सत्तारुढ लिबरल सोसल युनियनका ५२ वर्षीय नेता क्रन एन्टोनेस्कुलाई अन्तरिम राष्ट्रपतिका रूपमा नियुक्त गरिएको छ । रोमानियामा मध्यवामपन्थी प्रधानमन्त्री भिक्टोर पोन्टा तथा बासेस्कुबीच शक्तिका लागि संघर्ष चलिरहेको छ । यसै साता पोन्टाको दलले संसद्का दुवै सभाका सभामुखलाई पदमुक्त गरेको थियो भने संवैधानिक अदालतका न्यायाधीशहरूलाई पनि पदमुक्त गर्ने चेतावनी दिएको थियो । अमेरिकाले यस कार्यले प्रजातन्त्रको नियन्त्रण र सन्तुलनको प्रक्रियालाई प्रभावित बनाएको जनाएको छ । उक्त भनाइ अमेरिकी विदेश मन्त्रालयका
प्रवक्ता भिक्टोरिया नुल्यान्डमार्फत आएको हो । (एएफपी)

प्रतिक्रिया