घरमा ढुंगा खस्दा २ जनाको मृत्यु

सुर्खेत, २३ असार । सुर्खेत जिल्लाको छाप्रे–५, भोगनीमा ढुङगा खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
स्थानीय मानबहादुर बुढाको घरमा आज विहान साढे ४ बजे लेकडाँडाबाट ढुंगा खस्दा घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । ढुङगा लागेर मानबहादुरका १४ वर्षीया छोरी भद्रा बुढा र १० वर्षीया धनसरा बुढाको च्यापिएर मृत्यु भएको छ ।
उनकी पत्नी ३२ वर्षीया शान्ता बुढा, छोरा १२ वर्षीय गंगाराम बुढा र छोरी ५ वर्षीया कमला बुढा गम्भीर घाइते छन् । उनीहरुको डाँडा छाप्रे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यता, काभ्रेको खनालथोक–७ बस्ने ईलाका प्रहरी कार्यालय लङ्गडी पर्सा दरबन्दीका प्रहरी जवान राजुमान तामाङ्ग आफ्नै घरमा डोरीको पासो लगाई आत्महत्या गरेका छन् । उनी आज विहान घरको बुईगलमा झुन्डीको अवस्थामा फेला परेका थिए । उनी घर विदामा आएका थिए ।

प्रतिक्रिया