एफएम सञ्चालक गुप्ताको हत्या

वीरगन्ज, २३ असार । बीरगंजस्थित बिन्दास एफएमका प्रवन्ध निर्देशक सन्तोषकुमार गुप्ताको भारतमा हत्या भएको छ ।
बिहार प्रान्तको मोतीहारी जिल्लाको ढाका थाना अन्तर्गत चिरैया भन्ने स्थानमा अपरिचित समूहले गुप्ताको गोली हानी हत्या गरेको हो । गुप्ता भारतीय नागरिक हुन् । उनी सो एफएममा प्रवन्ध निर्देशकका रुपमा केही समय यता कार्यरत थिए ।
हत्या गरिएको अवस्थामा आज विहान प्रवन्ध निर्देशक गुप्ताको शव फेला परेको मोतीहारीका डिएसपी जेएन चौधरीले बताए । उनको गोजीबाट बिन्दास एफएमको प्रवन्ध निर्देशक लेखिएको परिचयपत्र फेला परेको छ ।
रक्सौल नगरपालिकाको आश्रम रोड निवासी ३६ वर्षीय गुप्ता सुनचाँदीको कारोबारी रहेको पारिवारिक श्रोतले जनाएको छ ।
गुप्ताको शव अहिले मोतीहारी अस्पतालमा राखिएको डिएसपी चौधरीले बताए ।
गुप्ताको हत्यामा संलग्न रहेको अभियोगमा मोतिहारी प्रहरीले पिन्टु राय र माधव सिंहलाई पक्राउ गरेको चौधरीले बताए । गुप्ताको हत्याको शोकमा बिन्दास एफ एमको प्रशारण सेवा बन्द भएको छ ।

प्रतिक्रिया