सञ्चारमन्त्री हटाउन दाहाल सकारात्मक

काठमाडौं, २३ असार । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल जिम्मेवारीबाट हटाउन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा आज भएको भेटका क्रममा गणतान्त्रिक फोरमकका नेताहरुले पार्टी निर्णय अनुसार यादवलाई तत्काल सञ्चारमन्त्रीबाट हटाउन आग्रह गरिएको कार्यबाहक अध्यक्ष नन्दनकुमार दत्तले जानकारी दिए ।
‘अध्यक्ष पुष्पकमल दाहालजी पनि सञ्चारमन्त्री यादवलाई तत्काल हटाउने पक्ष हुनुहुन्छ,’ दाहाललाई उदृत गर्दै दत्तले भने, ‘मधेसी मोर्चा र प्रधानमन्त्री बाबुराम भट्टराईसँग छिट्टै सल्लाह गरेर ठोस निर्णय लिन भन्छु ।’
मधेसी मोर्चाले सञ्चारमन्त्री यादवलाई हटाउने वा नहटाउने भन्ने विषयमा स्पष्ट धारणा नदिएका कारण प्रधानमन्त्रीलाई निर्णय गर्न कठीन भएको दाहालको भनाई छ ।
गणतान्त्रिक फोरमका कार्यबाहक अध्यक्ष दत्तले पार्टीले फिर्ता बोलाई सकेको ब्यक्तिलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकोमा मधेसी मोर्चामा बहुमत दलहरु समेत रुष्ट रहेको दाबी गरे ।
‘महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव पनि सञ्चारमन्त्री यादवलाई हटाउने पक्षमा छन्,’ उनले भने, ‘विजय गच्छेदारजी मात्रै यस विषयमा आनाकानी गरिरहनु भएको छ ।’
सञ्चारमन्त्री यादवलाई मन्त्री पदबाट हटाउने विषयमा कुराकानी गर्न लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छेदारले आफूहरुसँग भेटगर्न नमानेको कार्यबाहक अध्यक्ष दत्तले आरोप लगाए । गच्छेदारसँग झण्डै चार दिनदेखि सम्पर्क गर्न खोजेपनि विभिन्न बहाना बनाएर आफूहरुसँग भेटगर्न नमानेको गणतान्त्रिक फोरमले जनाएको छ ।
गणतान्त्रिक फोरममा आन्तरिक विवाद बढेपछि सञ्चारमन्त्री र कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका यादवलाई बहुमत केन्द्रीय समितिले दुबै पदबाट हटाउने निर्णय गर्दै दत्तलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया