‘अस्थायी मनोरञ्जनका लागि लेख्दिनँ’

चालीसको दशकतिर विद्यार्थी आन्दोलनको गढ मानिने पिएन क्याम्पस पोखराका प्रखर विद्यार्थी नेता झलक सुवेदी पचासको दशकपछि पार्टी राजनीतिमा होमिए । तर, उनी पार्टी राजनीतिमा लामो समय टिकेनन् र त्यस बाटोबाट अलग्गिए र स्वतन्त्र रूपमा अध्ययन, साहित्य लेखन र आर्थिक, राजनीतिक विश्लेषणतिर लागे । केही वर्षयता उनी अध्ययन अनुसन्धानका क्षेत्रमा क्रियाशील छन् । उनको गोर्खा भर्तीका कथाले भरिएको इतिहास कृति बजारमा आएको छ । सामान्यतया अत्यन्त थोरै मानिसले मात्र रुचि लिने, धेरैका लागि निरस इतिहासजस्तो विषयमा कमैले कलम चलाउने झन्झट व्यहोर्छन् । तर, झलकले इतिहासलाई विश्वासिलो पाराले आख्यान–उपाख्यानजस्तो देखिने गरी सामान्य पाठकलाईसम्म रुचीकर हुने ढंगले प्रस्तुत गरेका छन् ।

तपाईंको भर्खरै प्रकाशित ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीको नालीबेली’ कस्तो पुस्तक हो ?
यो पुस्तक विगत दुई सय वर्षदेखि ब्रिटिस सेनामा नेपालीले गरेको सेवा र त्यसका सामाजिक, आर्थिक र राजनीतिक कारण र परिणामलाई गोर्खाहरूका दृष्टिले पर्गेल्ने प्रयास हो । अहिलेसम्म गोर्खाहरूबारे लेखिएका धेरैजसो पुस्तक पश्चिमी धारणामा आधारित छन् । अर्थात् बेलायतीहरूले त्यतिबेलाको नेपाललाई हेर्ने दृष्टिकोणमा आधारित । नेपालमा पनि यसलाई लिएर गम्भीर छलफल भएको छैन । यसलाई अलि कमाउ जागिरका रूपमा, परम्पराका रूपमा सहज ढंगले मात्र लिँदा नेपालको सामाजिक जीवनमा यसले पारेका राम्रा र नराम्रा प्रभावहरू खुल्दैनन् । मैले यही प्रभाव तथा गोर्खाहरूका अनुभवका आधारमा गोर्खा भर्तीका नालीबेली केलाउने प्रयास यसमा गरेको छु ।
आमपाठकले यो पुस्तक किन पढ्ने ?
नेपालको समाज र इतिहासलाई बुझ्न गोर्खा भर्ती, ब्रिटिस साम्राज्यसँगका नेपालका सम्बन्धहरूबारे जानकारी राख्न राणाहरूले आºनो शासनलाई टिकाउन राष्ट्रका हितहरू कसरी बलि चढाएका थिए भन्ने थाहा पाउन र सबैभन्दा मुख्य कुरा त गोर्खा भर्तीले नेपालको खास जातिको जीवन र संस्कृतिमा के–कस्ता प्रभाव पार्‍यो भनेर थाहा पाउन पनि यो पुस्तक पढ्नु जरुरी छ । नेपाली जातिले इतिहासमा व्यहोरेका दु:ख र अनुभूति गरेका अपमानका गाथा पनि यसले बोकेको छ । मेरो विचारमा यो पुस्तक पढ्नेले पक्कै पनि नेपाली समाजलाई नयाँ ढंगले चिन्ने अवसर पाउला ।
‘नलेखिएको तर लेखिनुपर्ने इतिहास लेख्नुभयो’ भन्ने चर्चा छ, अहिलेसम्म यस्तो इतिहास किन लेखिएनन् भन्ने लाग्छ तपाईंलाई ?
नेपालमा अनुसन्धानपरक ढंगले, दबिएकाहरू र सर्वसाधारणका आँखाबाट समाज र इतिहासलाई अध्ययन गर्ने तथा लेख्ने परम्परा लामो छैन । महेशचन्द्र रेग्मीले नै यसमा कलम चलाएका हुन् । नेपालमा विश्वविद्यालयको इतिहास पनि त्यति लामो छैन । बल्ल पचपन्न वर्षजति भयो । यसैले यस्तो विधामा कलम चलाउन मानिसहरू कम भए । अर्कोकुरा लाहुरेका बारेमा लेख्न, गैरलाहुरे परम्परामा हुर्केका खस, बाहुन या नेवारहरू, जुन समुदायका मानिस बढी पढेलेखेका छन्, आकर्षण नभएको पनि हुन सक्छ । अथवा यसलाई कुनै अध्ययनको विषयका रूपमा विश्वविद्यालयका प्राध्यापकहरू र अनुसन्धाताहरूले महत्त्व नदिएको पनि हुन सक्छ ।
‘नलेखिएका तर लेखिनुपर्ने विषय’माथि लेख्न नेपाली लेखकहरूले उतिधेरै कलम चलाएको पाइँदैन, किन जाँगर नभएर हो कि मन नभएर ?
अनुसन्धान र लेखनका लागि प्रशस्त श्रम, धैर्य र पैसा पनि चाहिन्छ । पैसा र नाम कमाउने अन्य उपाय रहुञ्जेल यस्ता काममा मानिस लागिहाल्दैनन् । अब बिस्तारै समाजमा नयाँ विषयको खोजी गर्ने र त्यसलाई उजागर गर्ने सांस्कृतिक चेत, बौद्धिक अभ्यास र मान्यतासमेत प्राप्त हुन थालेको छ ।
नेपाली लेखकले नेपाली समाजलाई नजिकबाट बुझेर न्याय हुनेगरी लेखिरहेका छन् ?
यसमा प्रयास अवश्य भएको छ । पूर्ण नभएको मात्रै हो ।
नेपाली लेखकले नेपाली समाजमाथि अन्याय गरिरहेको छ भन्दा गलत हुन्छ या सही ?
अन्याय नभनौँ फरक दृष्टिकोण अवश्य हो । तर, कसैले इतिहास र समाजका बारेमा गलत कुरा स्थापित गर्ने उद्देश्य राखेर लेखेको छ भने समाजमाथि अन्याय हुन्छ । जस्तो हामीले हाइस्कुलसम्म पढेको इतिहास गोर्खाली राजा पृथ्वीनारायाण शाह उनका वंशज र उनको भारदारी समूहका पक्षमा आस्था जगाउने र गीत गाउने खालको थियो, नेपालको सामाजिक ऐतिहासिक वास्तविकताहरूसँग कमै साक्षात्कार गराउने त्यो इतिहासले त अन्याय पनि भयो होला नि त ।
सबैकुरा चटक्कै छाडेर लेखनमा लाग्नुभएको हो ?
म लेखनमार्फत नै समाजप्रतिको आºनो दायित्व पनि त निर्वाह गरिरहेको छु ।
तपाईं ‘होलटाइमर’ लेखक आफ्नै जोडबलले बन्नुभएको हो कि परिस्थितिले बनाएको ?
लेखक बन्न भनेरै हिँडेको पनि होइन । लेख्न थालेपछि त्यसले बिस्तारै समाजमा जुन प्रतिक्रिया र चासो जगायो, मेरो फरक परिचयका रूपमा त्यसले आकार दिन थाल्यो अनि म यतापट्टि बढी झुकेको हो ।
हिजो नेता झलक सुवेदीको दु:ख के थियो, आज लेखक झलक सुवेदीको दु:ख के हो ?
उतिबेला जे उद्देश्यहरू थिए अहिले पनि त्यसप्रति बढी लहसिनु मेरा दु:ख हुन् । नेता या कार्यकर्ता हुँदा एउटा सीमित समूह र विचार स्थापित गर्न लागिन्थ्यो अहिले त्यो दु:खबाट मुक्ति मिलेको छ । लेखेर मात्र जीवन निर्वाह गर्न मुस्किल पर्नु नै अहिलेको दु:ख हो । राजनीति गर्दा भने आºनो मनमा एउटा कुरा बाहिर अर्को कुरा गर्नुपर्ने दोहोरो चरित्र अपनाउने बाध्यता दु:खको कुरा थियो मेरा लागि ।
नेपाली समाज र सपनालाई हिजो नेता हुँदा बढी चिन्नुभयो कि, लेखक हुँदा ?
मैले राजनीति गर्दा चिनेको समाजलाई नै अहिले लेखनको विषय बनाएको छु । समाजसँग त्यतिबेला नै बढी नजिक बसेर साक्षात्कार हुन्थ्यो । अहिले त सीमित मानिसहरूको वरपरबाट समाजलाई नियाल्ने परिस्थिति पो बन्दै छ ।
तपाईंको उपन्यास आउँदै छ भनेर हल्ला भएको धेरै भयो तर अझै प्रकाशन भएन नि ?
आगामी असोज पहिलो सातासम्म प्रकाशन गर्ने गरी प्रकाशक फाइनप्रिन्टसँग सल्लाह भएको छ । अवश्य आउँछ । लेख्ने काम सकिएको छ, अन्तिम टच गर्न
मात्र बाँकी छ ।
तपाईंको उपन्यासको विषय के हो ?
उपन्यास मैले व्यहोरेको मेरो समयको नेपाली राजनीति र समाजका बारेमा हो । खासमा चाहिँ यसले २०३५ सालदेखि २०५४ सालसम्मको माले–एमालेको राजनीतिमा संलग्न तल्लोस्तरका कार्यकर्ताका संघर्षका कथा भन्छ । नेपाली राजनीतिमा एउटा माक्र्सवादी पार्टीको निर्माण र विघटनको कथा नै यसको मूल विषयवस्तु हो ।
लेखनमा तपाईंको आफ्नो सबल र दुर्बल पाटोबारे बताइदिनुहोस् न ?
मलाई लेखकका रूपमा आºनो मूल्यांकन गर्नेबेला भयो भन्ने नै लागेको छैन । म सिकारु र नवप्रवेशी लेखक हुँ । लेखनमा समाजकाप्रति दायित्वबोधका साथ लेख्छु, आत्मतुष्टि र अस्थायी मनोरञ्जन मेरो रुचि होइन, सायद त्यो बलियो पक्ष हो । कलात्मक र आकर्षक ढंगले लेख्ने सीप अझै निख्रेको छैन मेरो दु:ख यही हो ।
प्रगतिशील लेखकहरूको लेखनमा कला कम बढी नारा हुन्छ भनेर आलोचना गरिन्छ, सत्य हो ?
बिल्कुल असत्य हो । आरोप मात्र हो । प्रगतिवादी लेखकहरू पनि लेखकै हुन् अरू जस्तै । तिनले समाजकाप्रति दायित्वसहित लेख्छन् र एउटा खास वर्गकाप्रति झुकाब राख्छन् त्यसैलाई कसैकसैले नारा भयो भन्ने गरेका छन् । जहाँसम्म नारा र कलाको कुरा छ त्यो लेखकअनुसार सबै पक्षमा राम्रो र नराम्रो रचना गर्ने हुन्छन्, उत्तेजक, क्षुद्र र नाराबाजी लेखन सबैतिर छ । यस्तो साहित्य अल्पकालीन हुन्छ । जुन कलात्मक छ त्यो नै दीर्घजीवी हुन्छ । यो कुरा बुर्जुवा लेखकमा पनि उत्तिकै लागू हुन्छ ।
राजनीतिमा वामपन्थीहरूको बहुमत वर्चस्व छ तर साहित्यमा त्यस्तो छैन नि, किन नभएको होला ?
होइन । साहित्यमा पनि प्रगातिवादी र प्रतिबद्ध साहित्यको प्रभाव र वर्चस्व जबर्जस्त छ । गोपालप्रसाद रिमालदेखि भूपी शेरचनसम्म, हृदयचन्द्र सिंह प्रधानदेखि पारिजात, मोदनाथ प्रश्रित, रमेश विकल, खगेन्द्र संग्रौला, नारायण ढकाल, आहुती, श्यामल, विमल निभा, अमर गिरी, गोविन्द वर्तमान, विजय सुब्बा, बुँद रानादेखि निभा शाह, राजन मुकारुङ, युग पाठकसम्मका (सैयौँको संख्यामा) पछिल्लो पुस्ताकाहरू सबैले राम्रो र गतिलो लेखिरहेका छन् समाजमा हस्तक्षेप गरिरहेका छन् । सत्तामा मूलत: गैरवामपन्थीहरू नै प्रभावशाली रहेकाले रचनाको मूल्यांकन, पुरस्कार वितरण, प्रज्ञा–प्रतिष्ठानमा जिम्मेवारी बाँडफाँड, विश्वविद्यालयको पाठ्यपुस्तकमा समावेश गरिने रचना आदिमा गैरवामपन्थीहरूकै प्रभाव देखिएको हो । मेरो विचारमा रचना र उपस्थितिमा प्रभावको दृष्टिले नेपालमा गैरवामपन्थीभन्दा वामपन्थीको सक्रियता र प्रभाव जबर्जस्त रहेको छ ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया