सोह्र शिक्षक घाइते

वीरगन्ज, २२ असार । प्रहरीको कुटाइबाट १६ जना शिक्षक घाइते भएका छन् । ६ जना शिक्षकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला शिक्षा कार्यालयमा बिहीबार तालाबन्दी गर्न गएका पिसिएफ शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्दा शिक्षकहरू घाइते भएका हुन् ।

नेपाल पिसिएफ शिक्षक संघर्ष समितिले शिक्षा कार्यालयमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेर लाठीचार्ज गरेको थियो । शिक्षकहरूले कार्यालयमा लगाएको ताल्चा प्रहरीले फुटाइदिएपछि आक्रोशित शिक्षकहरूले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले दमन गरेर अन्धाधुन्द लाठीचार्ज गरेको संघर्ष समिति पर्साका अध्यक्ष सोनालाल पटेलले बताए । ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्लज्ज तरिकाले हस्तक्षेप गरेको छ,’ उनले भने ।
झडपका क्रममा शिक्षकहरूले हानेको ढुंगा लागेर प्रहरीतर्फ पनि एकजना घाइते भएका छन् । प्रहरीकुटाइबाट संघर्ष समितिका अध्यक्ष सोनालाल पटेल, चञ्चल महत्तो, गजेन्द्र चौबे, मुकेश साह, हीरा साह, शम्भु यादव, गिरिराज कँडेल, राधेश्यामकुमार राम, सरोज महत्तो, अंगद यादव, हीरालाल यादव, रामाधारप्रसाद बरै घाइते भएका छन् । यसैगरी हीरालाल साह तेली, नरेशप्रसाद यादव, कोपिला कँडेल, अनिलकपुर भण्डारी र प्रदीप जयसवाल घाइते भएका छन् । घाइतेमध्ये हीरा साहको अवस्था गम्भीर छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । अन्य घाइतेको ढाड, खुट्टा र हातमा चोट लागेको छ । घाइतेहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीतर्फ प्रहरीको गाडीका चालक प्रहरी जवान जयराम अधिकारी घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ६ जना प्रदर्शनकारी शिक्षकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले महिला शिक्षक कोपिला कँडेल, विनु श्रेष्ठ, सुनिता थापा, सुमित्रा कँडेल, राजेश्वर पण्डित र अरू दुईजना शिक्षकलाई पक्रेर लगेको संघर्ष समितिका प्रचारप्रसार संयोजक अजय यादवले बताए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको एसपी पीताम्बर अधिकारीले जानकारी दिए । प्रहरी हिरासतमा रहेकाहरूलाई बिहीबार साँझसम्म पनि प्रहरीले नछाडेको संघर्ष समितिका अध्यक्ष पटेलले जानकारी दिए ।
प्रहरीको दमनपछि प्रदर्शनकारी शिक्षकहरूले प्रहरीको बा १ झ ८०४८ र बा १ झ ८०३४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् । शिक्षा मन्त्रालयले पिसिएफ अनुदान कटौती गरेको विरोधमा पिसिएफ शिक्षकहरूले आइतबारदेखि शिक्षा कार्यालयमा धर्ना दिएर कार्यालयको कामकाज ठप्प पार्दै आएका छन् । शिक्षक आन्दोलनका कारण मंगलबारदेखि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन पनि ठप्प भएको छ । बुधबार जिल्ला शिक्षा अधिकारी प्रमोद साहले आन्दोलनरत शिक्षकहरूको माग पूरा हुन नसक्ने बताएपछि शिक्षकहरूले बिहीबारदेखि कार्यालयमा अनिश्चितकालीन तालाबन्दी नै गर्ने घोषणा गरेका थिए ।
शिक्षा मन्त्रालयले ०५० सालमा विद्यार्थी संख्याका आधारमा विद्यालयलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ । यो रकमबाट नै विद्यालय व्यवस्थापन समितिले पिसिएफ शिक्षकलाई नियुक्त गरेर तलब भुक्तानी दिँदै आएको थियो तर यसपटक ५० प्रतिशतभन्दा बढी अनुदान रकममा कटौती गरिएका कारण त्यसको विरोधमा देशभरकै पिसिएफ शिक्षक आन्दोलित भएका हुन् । अध्यक्ष साहका अनुसार पर्सामा करिब चार सय पिसिएफ शिक्षक कार्यरत छन् । शिक्षकको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नेपाल शिक्षक युनियन पर्सा, नेपाल शिक्षक संघ पर्सा, नेपाल शिक्षक संगठन पर्साले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रहरीदमनको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया