प्रहरीको गोलीले कृषकको मृत्यु

रौतहट, २२ असार । ट्रयाक्टर चालकलाई पक्राउ गरेको विरोधमा उत्रिएका सर्वसाधारणविरुद्ध प्रहरीले दमन गर्दा एकको मृत्यु भएको छ । १० प्रहरीसहित दर्जनबढी सर्वसाधारण घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर लक्ष्मीपुर–६ का ३० वर्षीय रमोद साह कलवारको मृत्यु भएको छ । उनको दाहिने छातीमा गोली लागेको थियो । खेतबाट पानी हाल्न जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको उनका परिवारको दाबी छ । ‘खेतमा पानी हाल्छु भनेर गएका थिए,’ पिता रामसेवक साह कलवारले भने, ‘प्रहरीले निर्दोषमाथि गोली हानेर घोर अन्याय गरेको छ ।’ रौतहटको गरुडा र शिवनगरको बीच पर्ने लक्ष्मीपुरको झाँझ पुलनजिक विरोधसभा गर्दै बाटो अवरुद्ध गरी बसेका स्थानीयमाथि प्रहरीले २९ सेल अश्रुग्यास तथा २२ राउन्ड गोली चलाएको थियो ।
गत १४ असारमा रौतहटको शिवनगरमा नम्बर नखुलेको एक ट्रयाक्टरले जन्तीमा आएको ज ४ प ७८८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोतरी विजनपुर–३ का रामश्रेष्ठ राउतको घटनास्थलमै ज्यान गएको थियो । सो दुर्घटनामा दोषी हुन सक्ने भन्दै प्रहरीले ना ३ त ६७४३ नम्बरको ट्रयाक्टर र ना ३ त १८८९ नम्बरको ट्रयाक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । उनीहरूले प्रहरी हिरासतमा रहेको ना ३ त ६७४३ नम्बरको ट्रयाक्टरका चालक रामबाबु यादव निर्दोष भएको भन्दै सर्वसाधारणले मंगलबारदेखि नै प्रदर्शन गरिरहेका थिए ।
झडपमा स्थानीय भोलि साह, बुधाइ राय, पासपत पासवान, वीरभुवनप्रसाद यादव, कांग्रेसी यादव, राजेश यादव घाइते भएका छन् । उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । दुई गम्भीर घाइते दिनेश यादव तथा विरोधी यादवको अवश्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडांै लगिएको छ । यसैगरी प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक सुमन लामिछानेको टाउको फुटेको छ । प्रहरी निरीक्षक रामनारायण माझी, प्रहरी सहायक निरीक्षक शिवनारायण यादव, राजकुमार साह, हवल्दार रामदुलार यादव, प्रहरी जवान बद्रीनारायण गिरी, राजेशराज बानियाँ र कामेश्वर पटेल सामान्य घाइते भएका छन् ।
बुधबार झाँझ पुलमा विरोधका लागि जम्मा भएका स्थानयले सो क्षेत्रमा गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध पारेपछि प्रहरीले बाटो खुलाउने भन्दै हस्तक्षेप गरेको हो । शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेपछि उनीहरू उग्र बनेका थिए ।
हवाई फायर गर्दा पनि स्थानीयले ढुङ्गामुढा गर्न नछाडेकाले प्रहरीले प्रदर्शनकारीको खुट्टामा गोली हानेको प्रहरी निरीक्षक रामनारायण माझीले बताए । यता प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्ययाले विनाअनुमति प्रहरीले गोली चलाएर मान्छे मारेको आरोप लगाएका छन् । ‘मैले गोली चलाउने निर्देशन कसैलाई पनि दिएको छैन, प्रहरीले मान्छे मारेको खबरले म स्तब्ध छु,’ उनले भने, ‘गोली प्रहार गर्नेउपर छानबिन गरी कडा कारबाही गरिनेछ ।’
स्थानीय उमेश यादवले प्रहरी निरीक्षक माझीले नै मान्छे ताकेर आफैले गोली चलाएको आरोप लगाए । ‘प्रहरीले होटलमा बसिरहेका तथा खेतमा काम गर्न गएका निर्दोषलाई समेत कुटे, मान्छेतिर बन्दुक सोझ्याएर गोली प्रहार गर्न थाले, गोली चलाउँदा मान्छे भाग्ने क्रममा लडेपछि लठ्ठी भाँच्युन्जेल पिटे, साह्रै अन्याय भयो,’ टाउको फुटेको देखाउँदै घाइते भएका पासपत पासवानले दु:खेसो गरे ।
खेत हिँडेका थिए कलवार
मृतक कलवार आन्दोलनमा होइन, खेतमा पानी हाल्न घरबाट हिँडेका थिए । उनले हिँड्ने बेला आमालाई भनेका थिए,‘ आमा यसपाली त पम्पसेटले नै पानी हाल्नुपर्छ, म एकछिन खेततिर पुगेर आउँछु है ।’ जाने बेलामा ६ महिनाको दुधे बालक खेलाएर श्रीमतीलाई ‘छोरालाई राम्रो हेर’ भनेका थिए । उनका तीन सन्तान छन् । कलवार मारिएपछि श्रीमती लक्ष्मी देवी तथा आमा सुरजी देवी बेहोस भएका छन् । छोराको मृत्यु भएको खबरमा विश्वास गर्न नसकेकी वृद्धा आमा सुरजी देवीले बुधबार साँझसम्म ‘मेरो छोरा खै’ भनेर सोध्दै थिइन् । मृतक रमोदका जेठो छोरा रोशन ६ वर्षीय, छोरी निशा ४ वर्षीया तथा कान्छो छोरा सुरज ६ महिनाका छन् ।
सरकारले राहत दिने
सरकारले रौतहटको गौरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुादा मृत्यु भएका रमोद साहको परिवारलाई क्षतिपूर्ति दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइते राजेश यादव र विनोद यादवको उपचार खर्च व्यहोर्ने तथा घटनाको छानविन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी गराए ।

प्रतिक्रिया