पर्सामा शिक्षक र प्रहरीवीच झडप

वीरगन्ज, २१ असार । नेपाल पिसिएफ शिक्षक संघर्ष समिति र प्रहरीवीच आज पर्सामा झडप भएको छ । झडपमा ११ जना शिक्षक घाईते भएका छन् भने प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला शिक्षा कार्यालय पर्सामा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेको थियो । प्रहरीले ताला फोडी दिएपछि आक्रोशीत भएका शिक्षकले प्रहरी माथि आक्रमण सुरु गरेका थिए ।
झडपमा शिक्षकको आक्रमणबाट एक जना प्रहरी समेत घाईते भएका छन् । प्रहरी जवान जयराम अधिकारी शिक्षकहरुको आक्रमणबाट घाईते भएका हुन् ।
घाईते हुने शिक्षकहरुमा सोनालाल पटेल, चन्चल महतो, गजेन्द्र चौबे, मुकेश साह, हीरा साह, शम्भु यादव, गिरिराज कँडेल, राधेश्यामकुमार राम, सरोज महतो, अंगद यादव, हीरालाल यादव र प्रदीप जयसवाल रहेको शिक्षक अजय यादवले जानकारी दिए । घाइते मध्ये हीरा साहको अवस्था गम्भीर रहेको छ ।
प्रहरीले झडपमा उत्रिएका ६ जना प्रदर्शनकारी शिक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कोपीला कँडेल, विनु श्रेष्ठ, सुनिता थापा, प्रतिभा खड्कालगायत रहेका छन् ।
प्रदर्शनकारी शिक्षकले प्रहरीको बा १ झ ८०४८ र बा १ झ ८०३४ नम्बरको गाडीमा तोडफोड गरेर क्षतिपुराई दिएका छन ।
शिक्षा मन्त्रालयले पिसिएफ अनुदान कटौती गरेको विरोधमा उनीहरुले शिक्षा कार्यालयमा धर्ना दिंदै आएका छन् ।

प्रतिक्रिया