सभापतिहरुको भेला बोलाउन माग

काठमाडौं, २१ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न र रणनीति बनाउन जिल्ला सभापतिको राष्ट्रिय भेला बोलाउन कांग्रेसमा माग उठेको छ ।
बागमती अञ्चलका जिल्ला सभापतिहरुले आज सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवासँग अलग अलग भेटगरेर जिल्ला सभापतिहरुको भेला बोलाउन माग गरेका हुन् । उनीहरुले गतबर्ष भएको जिल्ला सभापतिहरुको भेलाको निर्णय अनुसार यस पटक पनि भेला गर्नुपर्ने माग राखेको नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान र निर्वाचन लगायतका बारेमा रणनीति बनाउन भोला बोलाउन आवश्यक रहेको सुझाव नेतृत्वलाई दिएको केसीले बताए । उनले भेला साउनको १५ वा १६ गते सम्म आह्वान गर्न सभापति कोइरालासँग आग्रह गरिएको बताए ।
केसीले भने, ‘भेला बोलाउन सभापति कोइरालाका साथै उपसभापति पौडेल र वरिष्ठ नेता देउवा सकारात्मक रहेको पाएका छौं ।’
जिल्ला सभापतिहरुको राष्ट्रिय भोला बोलाउन माग गर्दै काठमाडौंका भीमसेनदस प्रधान, ललितपुरका मदन अमात्य, धादिङका रामनाथ अधिकारी, सिन्धुपाल्चोकका मोहन बस्नेत, काभ्रेका शिव हुमागाई र नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले तीन शीर्ष नेतालाई भेट गरेका हुन् ।

प्रतिक्रिया