अमेरिका र इजरायललाई तारो बनाउन सक्छौँ : इरान

तेहरान, २१ असार । इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई क्षणभरमै आक्रमणको तारो बनाउन सकिने दाबी इरानले गरेको छ । इरानको परमाणु केन्द्रमा इजरायल र अमेरिकाले आक्रमण गरे उनीहरूलाई आक्रमणको तारो बनाउन इरानी क्षेप्यास्त्रलाई केही मिनेट लाग्ने दाबी इरानले गरेको हो ।
इरानी सेनाका कमान्डर अमिर अलि हाजी जादेहले इरानी सञ्चारमाध्यमसमक्ष यस्तो दाबी गरेका हुन् । इरानमाथि आक्रमण गरिए मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य अखडा र इजरायललाई ध्वस्त गराउने गरी केही मिनटभित्रै जवाफी हमला गर्ने क्षमता आफूहरूसँग रहेको ती अधिकारीले दाबी गरेका छन् । इरानी सेनाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अवसरमा उनले यस्तो बताएका हुन् ।
आमविनाशकारी परमाणु हतियार निर्माण गर्न इरान अग्रसर भएको आरोप लगाउँदै इजरायल र अमेरिकाले आपत्ति जनाउँदै आएका छन् । कूटनीतिमार्फत परमाणु हतियारप्रतिको महत्त्वाकांक्षा त्याग्न इरानलाई बाध्य पार्न नसके उसमाथि आक्रमण गर्ने चेतावनी इजरायलले दिँदै आएको छ । अमेरिकाले पनि इजरायलसँग मिल्दोजुल्दो भनाइ बारम्बार सार्वजनिक गर्ने गरेको छ । तर, इरानले भने ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्न परमाणु कार्यक्रम जारी राखिएको भन्दै कार्यक्रम बन्द गर्न अस्वीकार गर्दै आएको छ  ।
‘अमेरिकी सैन्य अखडाहरू हाम्रो क्षेप्यास्त्रको रेन्जभित्र पर्छन् । त्यसैगरी, जबरजस्ती ओगटिएको क्षेत्र (भन्न खोजेको इजरायल) लाई पनि हामीले तारो बनाएका छौँ,’ इरानी सेनाका कमान्डर जादेहले भने । खाडी क्षेत्रमा रहेका ३५ वटा अमेरिकी सैन्य अखडा इरानी क्षेप्यास्त्रको रेन्जभित्र पर्ने दाबी उनले गरे । इरानको अब्बल ब्यालेस्टिक क्षेप्यास्त्रले दुई हजार किलोमिटर टाढासम्मको क्षेत्रलाई तारो बनाउनसक्ने उनले प्रस्ट पारे । ‘हामीमाथि आक्रमण भएको केही मिनेटभित्र रेन्जभित्र पर्ने ती क्षेत्रलाई क्षणभरमै ध्वस्त बनाउन सक्छौँ,’ उनले भने । तर, स्वतन्त्र विश्लेषकहरूले भने इरानको दाबी अतिरञ्जित रहेको उल्लेख गरेका छन् । खाडी क्षेत्रमा तैनाथ अमेरिकाको नौसैनिक र हवाई सेनाको तुलना इरानी फौजसँग हुनै नसक्ने भन्दै उनीहरू इरान अमेरिकाभन्दा निक्कै कमजोर रहेको दाबी गरेका छन् । कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, कुबेत, टर्की, अफगानिस्तान र किर्गिस्तानजस्ता इरानका छिमेकी राष्ट्रमा अमेरिकी सैन्य अखडा छ । पर्सियाको खाडीमा अमेरिकाले समुद्री बेडासमेत तैनाथ गरेको छ । इरानमाथि आक्रमण गर्ने अवस्था आए अमेरिकाले यी अखडालाई प्रयोग गर्नसक्ने आशंका गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको परमाणु कार्यक्रमा अवरुद्ध गर्न कूटनीति र नाकाबन्दीमाथि थप निर्भर रहन नसकिने भन्दै इरानमाथि अविलम्ब आक्रमण गर्नुपर्ने दोहोर्‍याउँदै आएका छन् । इजरायललाई ध्वस्त गर्न इरानले परमाणु बम बनाउन खोजेको आरोप लगाउँदै उनले यहुदी राज्य (इजरायल) लाई नष्ट गर्ने साधन बनाउने ध्येय कुनै हालतमा पूरा हुन नदिने स्पष्ट पार्दै आएका छन् । तर, अमेरिकाले भने इरानलाई धैर्य गर्न आग्रह गर्दै नाकाबन्दीबाट अपेक्षित नतिजा क्रमिक रूपमा हासिल हुँदै जाने विश्वास व्यक्त गर्दै आएको छ । तर, अन्तिम समयमा इरानमाथि आक्रमणको विकल्प नरहेको अमेरिकाले प्रस्ट पार्दै आएको छ ।
इरान र इजरायलको एकअर्कासँग शत्रुतापूर्ण सम्बन्ध छ । इरानले विश्व मानचित्रबाट इजरायलको नक्सा सदाका लागि मेटिदिने चेतावनी दिने गरेको छ । उता इजरायलले पनि इरानमाथि आक्रमण गर्ने धम्की दिँदै आएको छ । इजरायल अमेरिकाको क्षेत्रीय साझेदार रहेकाले अरब राष्ट्रसँगको इजरायलका शत्रुतापूर्ण सम्बन्धमा अमेरिकाले इजरायलको पक्ष लिँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया