भारत–पाक शान्तिवार्ता

नयाँदिल्ली : भारत र पाकिस्तानबीच अवरुद्ध शान्तिवार्तालाई गति दिने उद्देश्यले बुधबार दुई देशका उच्च अधिकारीबीच भेटवार्ता भएको छ । सन् २००८ मा मुम्बईमा भएको भीषण आतंककारी हमलापछि भारत र पाकिस्तानबीच शान्तिवार्ता भएको छैन । आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले वार्तामा बस्न अस्वीकार गर्दै आएको छ ।
सो हमलामा १० पाकिस्तानी चरमपन्थीको हात रहेको भारतले दाबी गर्दै आएको छ । आक्रमणमा परी एक सय ६६ जनाको ज्यान गएको थियो । चार वर्षदेखि अवरुद्ध वार्ताको वातावरण तयार गर्नका लागि भन्दै भारत र पाकिस्तानका विदेश सचिवस्तरमा भारतको राजधानी नयाँदिल्लीमा बुधबार वार्ता भएको हो । भारतीय विदेश सचिव रञ्जन मथाई र उनका पाकिस्तानी समकक्षी जलिल अब्बास गिलानीबीच वार्ता भएको समाचारमा उल्लेख छ ।
गत फेब्रुअरीमा दुई देशबीचको शान्तिवार्ता तत्कालै सुरु गर्ने सहमति भएको थियो । सन् २००८ मा भएको आतंकवादी हमलामा मुख्य हात रहेको भनिएका पाकिस्तानी नागरिक सइद जबिउद्दिन अन्सारीलाई भारतले केही दिनअगाडि पक्राउ गरेलगत्तै वार्ता सुरु भएको छ । (एएफपी)

प्रतिक्रिया