सेवा दिने समयमा कार्यालय बन्द

धनकुटा, २१ असार । इलाका कृषि सेवा केन्द्र, चुलाचुली ताङखुवाका कर्मचारी लामो समयदेखि कार्यालय नआएपछि किसान मारमा परेका छन् । तेलिया, ताङखुवा र परेवादिन गाविसका कृषकलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट प्रदान गरिने कुनै सेवाको उपभोग गर्न नपाएको उनीहरूको गुनासो छ ।

परामर्श लिनका लागि करिब तीन घन्टा बाटो हिँडेर आउँदासमेत कार्यालयमा कहिल्यै कुनै कर्मचारी नभेट्टाएको तेलिया–१ का कृषक छगिन्द्रप्रसाद पराजुलीले बताए । ‘कर्मचारी कहिल्यै पनि नबस्ने गरेकाले कार्यालय पटकपटक धाउँदा धेरै दु.ख पाएको छु,’ उनले भने, ‘कृषि केन्द्रमा दुई रोपनी क्षेत्रफलमा लगाएको अकबरे खोर्सानीका अधिकांश बिरुवा मर्न थालेका छन् ।’ पराजुलीका अनुसार जिल्ला कृषि विकास कार्यालयमा सोध्दा छिमेकी गाविसमा भइरहेको तालिममा गएको बताने तर तालिम भएको ठाउँमा गए/नगएको बुझ्दा त्यहाँ कर्मचारी नै नगएको पाइएको छ ।
केन्द्रका लागि दुईजना कृषि प्राविधिक सहायकसहित तीनजनाको दरबन्दी भए पनि अहिले एकजना पनि कर्मचारी कार्यालयमा छैनन् । सो सेवा केन्द्रबाट विभिन्न साग, मुला, सिमी करेला मकै, टमाटरका साथै सुन्तला, लिची आँपलगायत बिरुवा वितरण गरिने भए पनि सेवा लिन नपाएको परेवादिन–८ देउरालीका कृषक मोहन थापाले बताए । केन्द्रसँगै इलाका पशुसेवा केन्द्रसमेत रहेकाले कृषिसँग सम्बन्धित केही जानकारी पशुसेवा केन्द्रका कमर्चारीले दिने गरेको स्थानीय भीमा चोङवाङले बताइन् ।
त्यस्तै, चुलाचुली उच्च माविका व्यवस्थापन समिति अध्यक्ष शारदाप्रसाद दाहालले कृषि केन्द्रले कृषकलाई ठगेको आरोप लगाए । उनले भने, ‘लामो समयसम्म कार्यालय बन्द भइरहँदासमेत कृषि विकास कार्यालयले कुनै चासो नदिएको बताए ।
यता, जिल्ला कृषि विकास कार्यालय धनकुटाका वरिष्ठ कृषि विकास अधिकृत होमनाथ लम्सालले भने दरबन्दीअनुसारका कर्मचारी नियुक्ति नभएको र भएका कर्मचारी सरुवा भएर गएका र एकजना जेटिए भने बिदामा रहेकाले यस्तो समस्या भएको बताए । केन्द्रमा अहिले राष्ट्रिय योजना आयोगबाट एकजना कृषि स्वयंसेविकालाई त्यस केन्द्रमा पठाइदिएको अधिकृत लम्सालले बताए ।

प्रतिक्रिया