निर्मातालाई तनाब

काठमाडौं : चलचित्र प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माताको टेन्सन र व्यस्तता बढ्नु स्वाभाविकै हो । अल्झेछ क्यारे पछ्यौरीका निर्माता रवि बस्नेत पनि अहिले तनाबमा छन् । प्रचारप्रसारका लागि पोस्टर, पम्प्लेटदेखि प्रोमोसम्मको छनोटमा देखिएको द्विविधाले उनलाई सताएको छ ।
भएछ के भने उनले पोस्टर र प्रोमो पहिले नै बनाइसकेका रहेछन् । तर, त्यो साधारण खालको परेछ । अहिले साधारण पोस्टरको जमाना नै छैन । वितरकले उनलाई दंग्याएछन्– ‘आधुनिक खालको नयाँ पोस्टर नबनाए चलचित्रै लिन्नँ ।’ बडो द्विविधामा छन् उनी, समयअनुसारको आकर्षक पोस्टर नबनाऊँ चलचित्र नचल्ने डर, बनाऊँ त पहिले बनाएको पोस्टर सबै खेर जाने † राम्रै पोस्टर बनाएर सबै तयारीसहित जानेलाई त प्रदर्शनका क्रममा तनाब हुन्छ, अब फेरि पोस्टर चेन्ज गर्नुपरेपछि त कुरै गर्नुपरेन ।
साउनमा गर्ने भनिएको चलचित्रको प्रदर्शन अब पछाडि धकेलिने सम्भावना बढेको निर्माता बस्नेतले बताए । भने, ‘सबै प्रचार सामग्री फेर्नु परेपछि ढिला त हुने नै भयो ।’
विराज भट्ट, रवि बस्नेत, ऋचा घिमिरे, उषा पौडेल, सुनील थापा, विजय देउजा, नन्दु श्रीवास्तवलगायतको मुख्य भूमिका रहेको यस चलचित्रको निर्देशन किशोर ढकालले गरेका छन् । (अस्मिता हुमागाई, प्रशिक्षार्थी)

प्रतिक्रिया