म्यानमारका थप राजबन्दी रिहा हुने

नाइपिद्व, २० असार । म्यानमारका करिब ४६ जना राजबन्दीलाई रिहा गरिने भएको छ । राष्ट्रिय सहमति निर्माणका लागि सरकारले उनीहरूलाई रिहा गर्न लागेको हो ।
देशका विभिन्न जेलमा रहेका उनीहरूको रिहाइका लागि व्यापक आवाज उठिरहेका बेला सरकारले उनीहरूको रिहाइ प्रक्रिया सुरु गरेको सरकारी सञ्चारमाध्यमले मंगलबार जनाएका छन् । म्यानमारका सञ्चारमाध्यमका अनुसार ३७ जना पुरुष र नौ महिला बन्दीको रिहाइको प्रक्रिया सरकारले आरम्भ गरिसकेको छ । मंगलबार बिहानै उनीहरूलाई रिहा गर्ने तयारी भएको छ । उनीहरू सबै राजबन्दी रहेको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।
राजनीतिक बन्दी रिहा गर्नुपर्ने माग त्यहाँका राजनीतिक दलले गरिरहेका बेला राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि भन्दै सैनिक सहयोग प्राप्त वर्तमान सरकाले यस्तो कदम चालेको हो । राजनीतिमा सबैको सहभागिता सुनिश्चित गरी राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि यस्तो निर्णय लिइएको नाम उल्लेख नगर्ने सर्तमा एक सरकारी अधिकारीले बताए ।
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले जेलमा रहेका आºनो दल नेसनल लिग फर डेमोक्रेसीसमेतका गरी सयौँ राजबन्दी रिहा गर्न माग गर्दै आएकी थिइन् । युुरोप भ्रमण सिध्याएर फर्किएलगत्तै सरकारले राजबन्दी रिहा गर्न लागेको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
संयुक्त राज्य अमेरिकाको आह्वानपछि म्यानमारमा यसै वर्षको जनवरीमा मात्रै करिब तीन सय राजबन्दी रिहा गरिएको थियो । राजबन्दी रिहा गरेपछि अमेरिकाले सो कार्यको प्रशंसा गरेको थियो । सन् २०११ को अक्टोबर महिनामा पनि त्यहाँ दुई सय बन्दी रिहा भएका थिए ।
यसै सिलसिलामा नेत्री सुकी सन् २०११ को आरम्भमा नजरबन्दबाट मुक्त गरिएकी थिइन् । त्यसलगत्तै अप्रिलमा भएको उपनिर्वाचनमा उनको दलले सहभागिता जनाएको थियो । निर्वाचनपछि नेत्री सुकीले संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिसकेकी छिन् । उनी म्यानमारको संसद्मा प्रमुख प्रतिपक्षी दलकी मुख्य नेतृको हैसियत प्राप्त गरेकी छिन् । (एएफपी)

प्रतिक्रिया