निर्देशकलाई निर्माताको चोरऔँलो

काठमाडौ, २० असार । विश्वकै सबैभन्दा साना फोटोग्राफर रिरेन्द्र श्रेष्ठ फोटो खिच्न मात्र होइन, अभिनय गर्न पनि जान्दा रहेछन् । वल्र्ड ट्ेरड सेन्टरको डिइसिसी हलमा मंगलबार टाँगिएका फोटोहरूले यस्तै बताइरहेका थिए । त्यहाँ थिए, रिरेन्द्रले आफैले खिचेका र उनले अभिनय गरेका प्रदर्शनोन्मुख चलचित्र मायाज बारका फोटोहरू । उनले सो चलचित्रमा बालकलाकारको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रको प्रवद्र्धनका लागि मायाज बारले आयोजना गरेका कार्यक्रममा फोटो प्रदर्शनीका साथै चलचित्रका दुईवटा गीत र पोस्टर पनि सार्वजनिक गरिएको थियो ।
प्रदर्शनीको उद्घाटन नायिका करिष्मा मानन्धरले गरेकी थिइन् । गिनिजबुकमा सबैभन्दा सानो उमेरका व्यावसायिक फोटोग्राफर भनेर परिचय दिइएका रिरेन्द्र नवनायक गजित विष्टलाई ‘बाबा’ भनेर सम्बोधन गर्दै थिए । उनी गजितको छोराको भूमिकामा छन् । उनले भने, ‘अहिले चलचित्रमा लागे पनि भविष्यमा चाहिँ पुलिस बन्ने मेरो चाहना हो ।’
रिरेन्द्रको फोटोग्राफीको माहोल चम्किइरहँदा कार्यक्रममा सो चलचित्रका निर्माता सुनील मानन्धर र निर्देशक दिनेश डिसीबीचको सम्बन्ध भने तिक्ततापूर्ण हुँदै गएको उनीहरूको भनाइ अनि क्रियाकलापले प्रष्टयाइरहेको थियो । निर्माता सुनीलले दिनेशले आफूलाई अत्यधिक लगानी गर्न लगाएको र उनैको भर परेर खुलेर लगानी गरेको बताए । अनि, दिनेशतिर औँल्याउँदै धम्कीपूर्ण भाषा बोले, ‘लगानी उठेन भने खुलेरै केही गर्न पनि जानेको छु ।’ सुनीलले यसो भनिरहँदा दिनेश हाँसिरहे । अनि शान्त जवाफ फर्काए, ‘उहाँ मेरो परम मित्र हुनुहुन्छ, जे गरे पनि कुनै पछुतो छैन ।’ उनले चलचित्र राम्रो बनेकोले लगानी उठ्ने विश्वास दर्साए । उनले भने, ‘यसमा मलाई कुनै डर छैन ।’
नायिका करिष्माले डिसीले सबै कलाकारलाई निखारेर प्रस्तुत गरेकाले चलचित्र राम्रो बनेको धारणा सुनाइन् । १२ साउनमा अलनेपाल रिलिजको तयारी गरे पनि चलचित्रले काठमाडौं उपत्यकामा भने १९ साउनमा प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया