नेपालका प्राणघातक तीन महामारी

विकसित मुलुकमा मानिसको ज्यान लिने तीन घटना छन्– क्यान्सर, हृदयाघात र सडक दुर्घटना । तर, नेपालमा सर्वसाधारण जनताको सबभन्दा बढी संख्यामा ज्यान लिने महामारी इन्सेफलाइटिस, कालाजार र झाडाबान्ता नै हुन् । स्वास्थ्य क्षेत्रमा मेरो लामो चिकित्सकीय उपचार व्यवस्थापनको अुनभवले भन्छ, माथि उल्लेखित संक्रामक रोगहरूलाई व्यापक अभियानद्वारा नियन्त्रणमा ल्याउन सकिन्छ । यति मात्र हो, सरकारको इच्छाशक्ति तथा दृढ अठोटका साथै यथेष्ट बजेट, साधन तथा उपकरण र दक्ष जनशक्तिलाई लक्षित समुदायसम्म पुर्‍याउन सक्नुपरेको छ ।
इन्सेफलाइटिस: एमाओवादीका नेता जनार्दन शर्मालाई केही महिनाअगाडि इन्सेफलाइटिस संक्रमण भएपछि भारतको नयाँदिल्ली पुर्‍याएर उपचार गर्नुपर्‍यो । नेपालमा यो संक्रामक बिमारको जोखिमबाट कोही पनि सुरक्षित छैन भन्ने गतिलो उदाहरण हो । ‘जापानी इन्सेफलाइटिस’ पनि भनिने यो संक्रामक रोग लामखुट्टेको टोकाइबाट उत्पन्न हुने बिमार हो । यसले व्यवस्थित जीवन भएका नागरिकहरूलाई पनि सावधान हुन चेतावनी दिएको मान्नुपर्छ । नेपालमा २०५७ सालमा यस रोगका एक हजार सात सय २९ जना बिरामी भेटिएका थिए, जसमध्ये एक सय ६९ जनाको मृत्यु भएको थियो । त्यसअघि ०५१ सालमा एक हजार आठ ३६ जनामा यो बिमार भेटिएको र तीन सय ८३ जनाको मृत्यु भएको थियो । ०५४ सालमा यो रोगले सबभन्दा धेरै असर पारेको थियो, जब कि नौ सय ५३ बिरामी भेटिएका थिए भने चार सय सातजनाको मृत्यु भएको थियो ।
यसको संक्रमण भएपछि धेरैलाई पक्षाघात
(पारालाइसिस) हुने र जिन्दगीभर अपांग हुने खतरा उत्पन्न हुन्छ र मृत्यु हुने सम्भावना पनि त्यति नै बढी हुन्छ । यो महामारी सुँगुरबाट मानिसमा सर्ने भएकाले सुँगुर–बंगुर आदि जनावरलाई खोप दिने, घरभन्दा टाढा पाल्ने, सरसफाइमा ध्यान दिने, प्रवद्र्धनात्मक शिक्षा तथा जनचेतनामा जोड दिने, पशुपक्षी उपचारका निकायसँग समन्वय गरेर यसको नियन्त्रण गर्न सकिन्छ । यसको खास औषधि त छैन, तर एसए–१४–१४–२ नामको खोप दिएर यो रोग कम गराइएको छ । स्वास्थ्य सेवा विभागबाट खोप उपलब्ध हुन थालेपछि यो रोग केही नियन्त्रणमा आएको छ । तर, यो खोप सबैलाई उपलब्ध गराउन भने सकिएको छैन ।
झाडाबान्ता: हाम्रो राजधानी विश्वकै एक मात्र यस्तो स्थान हो, जहाँ झाडाबान्ताको प्रकोप बर्सेनि भयावह रूपले देखापर्छ भने देशका अन्य गरिब बस्ती र दूरदराज गाउँको के हालत होला । असुरक्षित पानी पिउनाले झाडाबान्ता मात्र होइन, कमलपित्त (जन्डिस), पोलिन जुगा, टाइफाइड, पाराटाइफाइड, हैजा, आउँ, खाद्यविषाक्त (फुड प्वाइजनिङ) जस्ता धेरै बिमारले आक्रमण गर्दछ । दिनमा तीनपटकभन्दा बढी दिसा भएमा त्यो झाडा–पखालाको लक्षण मान्नुपर्छ र सतर्कता अपनाउनुपर्छ । झाडाबान्ताको प्रकोप चैत महिनाबाट सुरु भई भदौसम्म रहन्छ ।
दुई–तीनवर्षअगाडि जाजरकोटको गरिब बस्तीबाट फैलिएको झाडापखालाले निकै हलचल मच्चाएको थियो, जुन ठाउँ नेकपा (माओवादी) को आधार इलाका मानिन्थ्यो । त्यसो भए के माओवादीले आºनो आधार इलाका भनी दाबी गरेको क्षेत्रमै खानेपानी शुद्ध वा उमालेर उपभोग गरेमा यस्तो रोग लाग्दैन भन्ने चेतना फैलाउन नसकेको हो ? स्मरणीय छ, भारतीय माओवादीले आधार इलाका र सेल्टर बनाएका यस्ता गरिब बस्तीमा स्वच्छ र स्वस्थकर पिउनेपानीको आवश्यकता र शिक्षा स्थानीय गाउँलेलाई दिएको पाइएको छ । केही वर्षअघिसम्म मध्यपश्चिम र सुदूरपश्चिम नेपालका गाउँमा झाडाबान्ता फैलिन थालेपछि मानिसहरू त्यसबाट बच्न जंगलतिर पस्थे, हप्तौँसम्म जंगलको बास भएको मैले आºनो चिकित्सकीय जीवनमा पाएको छु । तर, आजकाल त्यस्तो अवस्था छैन, झाडाबान्ता लाग्दा पानीको थोपा पनि पिउनु हुँदैन भन्ने चरम अज्ञानता भने अझै कताकता बाँकी छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ०६६/६७ मा ७१ हजार तीन सय ४१ मानिसमा यसको महामारी देखिएको थियो भने तीन सय ७८ मानिसको ज्यान लिएको थियो । ०६७/६८ मा यो संख्या बढेर ७४ हजार ६ सय ६६ जनामा झाडाबान्ता संक्रमित भई चार सय ३२ जनाको मृत्यु भएको थियो । यसको अर्थ झाडाबान्ताको प्रकोप नियन्त्रणभन्दा वृद्धि भइरहेको छ । धेरैजसो महामारी दुर्गम क्षेत्रमा भएको छ, जहाँ स्वास्थ्यसम्बन्धी जनचेतनाको नितान्त अभाव छ ।
सुरक्षित र स्वस्थकर पिउनेपानी उपभोग गर्ने, पानी सकभर राम्रोसँग उमालेर पिउने, पानीका मुहान सधैँ सफा राख्नुका साथै धारा–कुवा इनार आदिमा ढल, भल वा नाली आदिको पानी मिसिन नदिने हो भने यो महामारी पैदा हुने सम्भावना नै हुँदैन । झाडाबान्ता भएपछि शरीरमा जलअल्पता (डिहाइड्रेसन) हुन थाल्छ । त्यसैले झाडा–पखालाका कारण शरीरबाट जति तरल पदार्थ जान्छ, त्यति नै मात्रामा ‘जीवन–जल’ जस्ता औषधीय पेय पिउनुपर्छ । बच्चाहरूले यो पिउन नमान्लान्, तर फकाएर र हौसला दिएर पनि पिलाउनुपर्छ । अरू उपाय छैन ।
आजकाल पानीलाई पिउनयोग्य बनाउने विभिन्न उपाय आएका छन् तर दुर्गम र विकट क्षेत्रका जनता अझै यस्ता सामान्य सुविधाबाट वञ्चित नै छन् । पानी उमाल्न आर्थिक व्यवस्था नभएका जनसमुदायका लागि पारदर्शी बोतलमा पानी भरेर पाँच–सात घन्टा सूर्यको किरण पार्ने, जसलाई स्वेडिस प्रविधि भनिन्छ, एउटा व्यावहारिक उपाय हो । पिउनेपानीमा क्लोरिनका चक्की वा ‘पियुस’ थोपा हालेर कीटाणु नाश गर्ने पनि प्रभावकारी उपाय हो । धाराको मुखमै शक्तिशाली क्षमताको छान्ने प्रविधि (अक्वा ट्याप) जडान गर्ने उपाय पनि प्रचलित छ । परम्परागत फिल्टर प्रविधि वा ‘वाटरगार्ड’ (युरोगार्ड) प्रविधि पनि प्रचलित छ । धेरै मानिसहरूका घरको ट्ययांकीमा खसाइने पाइपको पानीमा एक तह मसिना रोडा, दोस्रो तहमा कोइला गरी पानी छान्ने गरेको देखिन्छ । यस उपायले पानीलाई पूरै त सुरक्षित बनाउन नसक्ला तर सङ्लो बनाउँछ, र धेरै हदसम्म बचाउँछ ।
कालाजार : भारतको बिहार राज्यसँग जोडिएका पूर्वीनेपालका १२ तराई जिल्लामा कालाजार (जसलाई ‘लिसमेनियासिस’ पनि भनिन्छ) को प्रकोप बर्सोनि देखापर्ने गर्दछ । मध्यतराईका ८१ लाख जनता यस संक्रामक रोगको जोखिममा परेका छन् । यो पोथी जातको ‘लेबोटामिन स्यान्डºलाई’ भनिने भुसुनाको टोकाइबाट सर्ने प्राणघातक संक्रामक रोग हो । यो रोग फैलिने खास मौसम हुँदैन र कुनै उमेर समूहका मानिस पनि यसको प्रकोपबाट मुक्त हुने ग्यारेन्टी छैन । यस संक्रामक रोगको फैलावट फागुन–चैत र असार–साउनमा बढी हुनेगरेको तथ्य अनुसन्धानबाट देखिएको छ । यो रोगको उपचार गर्दा कहिलेकहीँ बिमार बल्झेका समस्या पनि आएका छन् । औषधिले काम नगर्ने समस्या आउन सक्छ । त्यसैले यस महामारीविरूद्ध सामुदायिक तहमा शंकास्पद बिरामीको बिमार जाँच गराइहाल्ने र महिला स्वयंसेविकालाई चनाखो र सक्रिय बनाइराख्नुु राम्रो उपाय हो ।
०५२ सालमा नेपालमा यो महामारीमा एक हजार सात सय ८७ जना परेका थिए, जसमध्ये ६५ जनाको मृत्यु भएको थियो भने ०५९ सालमा आइपुग्दा यो बिमारको संक्रमण दुई हजार तीन सय ८८ जनामा भएर १८ जनाको मृत्यु भएको थियो । यो रोगबाट बच्ने सबभन्दा सजिलो उपाय उक्त भुसुनाको टोकाइबाट बच्नु हो । भुसुना, लामखुट्टे, उपियाँँ आदि एकसाथ मार्न सक्ने विषादी (इन्सेक्टिसाइड) छर्नु सुरक्षित उपाय हो । घर बनाउँदैदेखि भित्र हावा र सूर्यको प्रकाश छिर्नेखालको बनाउनु यस्ता धेरै रोगबाट बच्ने सजिलो र स्वस्थकर उपाय हो । जहाँ प्रत्यक्ष रूपले सूर्यको किरण पर्दछ, त्यहाँ धेरै किरा–कीटाणु नाश हुन्छन् । शुद्ध वायुमा स्वास फेर्न पाउँदा शरीरको तन्दुरुस्ती र रोगप्रतिरोध क्षमता पनि निकै बढ्छ । घरको लिपपोत तथा सररफाइ पनि उत्तम प्रतिरोधात्मक उपाय हो । यसका लागि राति सुत्दा झुल लगाउनुपर्छ । हाल नेपालमा ग्लोबल फन्डबाट यो रोगबाट बच्ने विषादीयुक्त झुलको वितरण भइरहेको छ ।
यो संक्रामक रोगको खास उत्पत्ति भारतको बिहार राज्यबाटै हुने भएका कारणले नेपाल–भारत अन्तरसीमा समन्वय तथा रोकथामका संयुक्त कार्यक्रम सञ्चालन गर्नु जरूरी छ । कालाजारको बिमारलाई १० प्रतिशतमा घटाउने सरकारी नीति छ । तर, लक्षित समुदायमा यो रोगको जानकारी, प्रभावित जोखिमयुक्त तहमा काम गर्ने दक्ष जनशक्ति, बजेट तथा साधन वा औषधिको अभाव नै प्रमुख व्यवधान भएका छन् ।
(लेखक स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक हुन् )

प्रतिक्रिया