चाँडै कालापत्थरमा परिणत हुन सक्छन् हिमाल

काठमाडौं, २० असार । देशको उत्तरतिर रहेका सेता हिमाल कहिलेसम्म रहलान् ? विज्ञहरूका अनुसार विकसित र औद्योगिक देशहरूको बढ्दो हरितगृह ग्यास उत्सर्जनबाट नेपालमा प्रत्येक वर्ष ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि हुन थालेपछि हिमालहरू चाँडै कालापत्थरमा परिणत हुन सक्छन् ।
सन् १९७७ देखि २००० सम्मको तथ्यांक विश्लेषणअनुसार औसत वार्षिक तापक्रम वृद्धिदर ०.०६ डिग्री सेल्सियस छ । हिमाली क्षेत्रमा भने यो वृद्धिदर ०.०८ डिग्री सेल्सियस छ । वैज्ञानिकहरूले तापक्रम चार डिग्री सेल्सियस वृद्धि भए हिमालमा हिउँ नरहने अवस्था आउन सक्ने खतरा औँल्याएका छन् ।
हिमाली क्षेत्रको तापक्रम वृद्धिदर यस्तै रहे हिमाललाई कालापत्थरमा परिणत गर्न चाहिने चार डिग्री सेल्सियस तापक्रम ५० वर्षमै पुग्छ । औसत वार्षिक तापक्रम वृद्धिदर ०.०६ डिग्री सेल्सियसकै दरमा बढिरहने हो भने चार डिग्री सेल्सियस पुग्न ६७ वर्ष लाग्छ । तापक्रम बढ्ने क्रम नेपालको नियन्त्रणमा नरहेकाले अहिलेकै दरमा तापक्रम बढिरहे यही शताब्दीमै हिमालको अस्तित्व सकिन सक्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का लागि अति कम विकसित मुलुकको विज्ञ समूह (एलइडी)ले जनाएको छ ।
‘गणितीय हिसाबले ६०, ७० वा ८० वर्षमै हिमालको हिउँ पग्लिएर सकिन्छ भनेर किटान गर्न त सकिन्न तर यही दरमा बर्षेनि तापक्रम बढ्ने हो भने यो शताब्दीभित्रै सकिन्छ,’ एलइडीका उपाध्यक्ष बटुकृष्ण उप्रेती भन्छन्, ‘तापक्रम छिटो वा ढिलो गतिमा बढ्ने त निश्चितै छ ।’
जलवायु परिवर्तन गराउने हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि अरू मुलुकको प्रदूषणबाट यहाँको तापक्रम बढिरहेकाले नेपालले चाहँदैमा यसलाई रोक्न नसकिने उनको भनाइ छ ।
कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०२५ प्रतिशत छ । नेपाल क्लाइमेट भनरिविलिटी स्टडी टिम (एनसिभिएसटी)ले साधारण र क्षेत्रीय सर्कुलेसन मोडलबाट सन् २००९ मा राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा)का लागि गरेको अध्ययनले सन् १९९० सम्म नेपालको तापक्रम ६.३ डिग्रीसम्म बढ्ने देखाएको थियो । जसमा अबको १८ वर्ष अर्थात् सन् २०३० सम्म शून्य दशमलव पाँचदेखि दुई डिग्री, सन् २०६० सम्म एक दशमलव सातदेखि चार दशमलव एक डिग्री र सन् २०९० सालसम्म तीनदेखि ६ दशमलव तीन डिग्री सेल्सियससम्म तापक्रम वृद्धि हुने अनुमान गरिएको छ ।
हाल भौगोलिक क्षेत्रअनुसार एक हजार मिटरभन्दा होचो मधेस–तराई–औल बेँसीमा २० देखि २५ डिग्री, एक हजारदेखि दुई हजार मिटरका बेँसी–टार–पाखामा १५ देखि २५ डिग्री सेल्सियस औसत वार्षिक तापमान छ । त्यस्तै, दुई हजारदेखि तीन हजार मिटरको पहाड/पर्वतमा आठदेखि १५ डिग्री, तीन हजारदेखि चार हजार मिटरको उपलेकाली भेगमा पाँचदेखि आठ डिग्री, चार हजारदेखि पाँच हजारको लेकाली भेगमा तीनदेखि पाँच डिग्री र पाँच हजार मिटरभन्दा उच्च हिमाली भेगमा शून्यदेखि तीन डिग्री सेल्सियस औसत वार्षिक तापमान छ ।
एलइडीका अनुसार हिमाल हिउँ सकिएर कालापत्थरमा परिणत भए नेपालसहित भारत, चीन, बंगलादेशका करिब डेढ अर्ब मानिसका लागि पानीको स्रोत गुम्छ । जसका कारण ती क्षेत्रको खानेपानी र बालीनाली नहँुदा गरिबी थपिएर खाद्य असुरक्षाको खतरा बढ्नेछ ।
‘हिमाल नरहे यसमा निर्भर नेपालसहित तल्लो तटीय भू–भागका करोडौँ मानव समुदायको जीवनयापन कष्टप्रद हुनेछ र प्राकृतिक स्रोतको अवस्थामा ह्रास आई उत्पादन एवं उत्पादकत्व घट्नेछ,’ एलइडीका उपाध्यक्ष उप्रेतीले भने ।
हिमाली क्षेत्रबाट निस्किएका नदी नेपाल, चीन, भारत र बंगलादेश हँुदै बग्दा ती नदीबाट खानेपानी, खेतीपाती, माछापालन, सिँचाइलगायतबाट एक अर्ब ५० करोड मानिस लाभान्वित भइरहेका छन् । नेपालका पहाडबाट बग्ने नदीको पानीको ५० प्रतिशत स्रोत हिमनदी हो ।
सगरमाथालगायत हिमाल आरोहण गर्ने विदेशी पर्यटकबाट बर्सेनि एक अर्ब रुपियाँबराबरको आम्दानी हुन्छ । वर्षमा हिमाल आरोहण गर्न करिब पाँच सय पर्यटक नेपाल आउने गर्छन् भने लाखौँ पर्यटक हिमाली क्षेत्रमा ट्ेरकिङ गर्न आउँछन् । हिमाल भएकै कारण नेपालमा तीन हजारभन्दा बढी हिमनदी र दुई हजार तीनसय २३ वटा हिमताल छन् ।

प्रतिक्रिया