मुनामदन नेपाली समाजको ऐना

काठमाडौं, १९ असार । साक्षर मात्रै रहेका नेपालीले पनि पढेको कुनै किताब छ भने त्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदन नै हो । सात दशकअघिको यो कृतिलाई अहिले ‘निरक्षर’ हरूको पहुँचमा समेत पुर्‍याइदिएका छन्, निर्माता नवराज ढकालले । आफ्नो सबैभन्दा प्रिय ‘रचनासन्तान’ लाई आमनेपालीले देख्न, बुझ्न र महसुस गर्नसक्ने बनाइदिएकामा सायद महाकविको ‘स्वर्गवासी आत्मा’ले पनि निर्देशक ज्ञानेन्द्र देउजा, नायक दीपक त्रिपाठी, नायिका उषा पौडेललगायत कलाकारलाई आशीर्वाद दिइरहेको होला ।

सन् २००३ को ओस्कार अवार्डमा छनोट भएको चलचित्र मुनामदन यतिबेला राजधानीका हलमा प्रदर्शित भइरहेको छ । ०५७ साल माघमा निर्माण सुरु भए पनि १२ वर्षपछि मात्रै राजधानीवासीसँग साक्षात्कार गर्न पाउनु चलचित्र र दर्शकको सम्बन्ध पनि ‘मुना’ र ‘मदन’को कथाजस्तै बनेको छ । जे होस्, ‘सेक्स’ बेचेर ‘के–के न गरेँ’ भन्ठान्ने वर्तमान फिल्मी बजारमा रिलिज भइरहेको ‘मुनमदन’मा गरिब नेपालीको कथामात्रै छैन । सहरबजारमै जन्मिएर गाउँ के हो ? गरिबी कस्तो हुन्छ ? नेपाली मौलिकता कुन चराको नाम हो, जाँतो, सिस्नो, ढिँडो, रोपाईं के हो ? भन्नेसम्म थाहा नभएकाहरूका लागि गतिलो ‘पाठशाला’ बन्नेमा दुईमत छैन ।
नेपाली सभ्यताप्रति उत्तिकै सचेत देखिन्छ चलचित्र । ‘व्यापार’का नाममा उच्छृंखलताको ‘हद’ पार गर्दै गएको चलचित्र बजारमा आएको मुनामदन भने शालीनताको अर्को दस्तावेज बन्ने पक्का छ । यद्यपि, चलचित्रमा त्यतिबेला प्रचलनमा रहेका नारीका गहना नौगेडी, छड्के तिलहरीको प्रयोग भने अतिशयोक्ति मान्न सकिन्छ । गरिबीले सर्लक्कै फाटेको मुना (उषा) को गुन्युचोलीले ‘लाज’को छेउछाउ त के खुट्टाको ऐंडीसम्म देखाइएको छैन । बरु, नेपाली गुन्युचोली, पटुका, दौरासुरुवाल, ढाकाटोपी, जातीय पहिरनको उच्च सम्मान चलचित्रले गरेको छ । गरिबीको पीडामा बाँच्नुको दुर्दिन कस्तोसम्म हुन्छ भन्ने तराजुका रूपमा मदनकी आमा बनेकी सुभद्रा अधिकारी, नायक, दीपक र नायिका उषाले साक्षात् भूमिका पूरा गरेका छन् । सासू र बुहारीको सम्बन्ध ‘आमा र छोरी’भन्दा कम्ती हुँदैन भन्ने जुन पाठ मुनामदनले दिन सकेको छ, त्यो पाठ करोडौँ डलर खर्चने संघ/संस्थाले पनि दिन नसक्लान् ।
मिथिला शर्माको अभिनय पनि कम्ती मार्मिक छैन । गरिबीले ल्हासा पुगेको मदनले देखाएको ‘सुनभन्दा गुन’ महान् हो भन्ने सन्देसलाई न्यायिक किसिमले प्रस्तुत गरिएको छ । भोटबाट फर्कंदा हैजा लागेको
मदनलाई अनकन्टार जंगलमा एक्लै छाडेर हिँड्ने दौतरीको अमानवीय व्यवहार उत्तिकै दर्दनाक छ ।
‘रिकुटे’को भूमिकामा रहेका दिनेश डिसीको चरित्रले अप्ठ्यारामा यौनदुराचार गर्ने समाजको खलचरित्रलाई उजागर गरेको छ । चलचित्रमा मुना र मदनको अप्रत्याशित मृत्यु देखाउँदा भने अलि असुहाउँदो लाग्छ ।
चलचित्रमा मुखिया, साहु, ठालु, ठाकुरहरूको अत्याचारको चरित्रलाई नीर शाहले मदन नभएको बेला मुना र बूढी आमामात्रै घरमा हुँदा गाग्री, ताउली, लोटा, बटुको बटुलेर जस्ताको त्यस्तै उतार्न सकेका छन् । शुभद्रा अधिकारी, रामचन्द्र अधिकारीहरू आमनेपालको प्रतिनिधित्व गर्ने चरित्र छन् । विजय लामा (च्याङ्बा) को अभिनयले दर्शकको दिलमा जातीय सहिष्णुता र मानवताप्रति सम्मानभाव जगाउँछ । चलचित्रमा लक्ष्मण शेषको संगीत मात्र होइन, कमल राईको नृत्य, गौतम श्रेष्ठको छायांकन, रवि अर्यालको पटकथा तथा संवादले ७० वर्षअघिको नेपाललाई हामीसामु उभ्याएको छ ।

प्रतिक्रिया